कांग्रेस पुनर्जागरण र रूपान्तरणको मोड

बिहिबार, २६ मंसिर, २०८२
डिजिटल संस्करण
  • महाधिवेशनको मिति तय गर्नु चुनावी तयारी मात्र होइन, पार्टीले आत्मरूपान्तरण रोजेको संकेत पनि हो 

कांग्रेस अहिले आफ्नो सात दशकभन्दा लामो राजनीतिक यात्राको अत्यन्त संवेदनशील र निर्णायक मोडमा उभिएको छ । लोकतन्त्रको बीजारोपणदेखि संविधान निर्माणसम्मका सबै महत्वपूर्ण मोडमा मार्गदर्शन गर्ने, सहमति–संवादको संस्कृतिलाई संस्थागत गर्ने र राष्ट्रिय संकटका असंख्य अवस्थामा स्थायित्वको प्रमुख आधार बनेको यो पार्टी आज संगठनात्मक अस्तव्यस्तता, नेतृत्व संक्रमण, वैचारिक धुँधलोपन, पुस्तान्तरणको अनिश्चितता र जनविश्वास पुनर्निर्माणको चुनौतीसँग प्रत्यक्ष जुधिरहेको छ । १५औँ महाधिवेशनको समय, नेतृत्वको दिशा, संगठन पुनर्संरचना र भविष्यको मार्गचित्रबारे उठेका गम्भीर प्रश्न केवल आन्तरिक विवाद वा गुटीय प्रतिस्पर्धाका अभिव्यक्ति मात्र होइनन्, यी प्रश्न पार्टीको अस्तित्व, विश्वसनीयता र दीर्घकालीन राजनीतिक भूमिकाबारे बहसको केन्द्र बन्न पुगेका छन् । लोकतान्त्रिक आन्दोलनको मेरुदण्डका रूपमा स्थापित कांग्रेस अहिले यस्तो मोडमा उभिएको छ, जहाँ सुधार, रूपान्तरण र पुनर्जागरण अरू कुनै विकल्प नभई पार्टीको भविष्य सुरक्षित गर्ने ऐतिहासिक कर्तव्य बनेको छ ।

यिनै चुनौतीबिच कांग्रेसले २६–२८ पुसभित्र पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । यो सहमति केवल मिति घोषणा मात्र होइन, यसले कांग्रेसलाई अनिश्चय, तनाव र विभाजनको सम्भावनाबाट निकाल्दै संस्थागत पुनरुत्थानतर्फ मोड्ने राजनीतिक–नैतिक संकल्पलाई औपचारिकता दिएको छ । पार्टी लामो समयदेखि प्रक्रियागत अस्पष्टता, नेतृत्वको अनिश्चितता र संगठनको असन्तुलित स्वरूपका कारण आलोचना झेलिरहेको स्थिति अन्त्यतर्फ अग्रसर भएको पुष्टि यो सहमतिले गरेको छ ।

कांग्रेस किन आज निर्णायक मोडमा उभिएको छ भन्ने प्रश्नको उत्तर यसको आन्तरिक अवस्थाले आफैँ दिन्छ । पहिलो, पार्टीको क्रियाशील सदस्यता संरचना विगत केही वर्षमा अत्यन्त विवादित, अनियन्त्रित र व्यक्तिकेन्द्रित बन्यो । समानान्तर नवीकरण, मनोमानी सदस्यता वितरण र स्थानीय तहमा देखिएको हस्तक्षेपले संगठनको मेरुदण्ड नै कमजोर बनायो । दोस्रो, पुस्तान्तरणको स्पष्ट समयरेखा नहुँदा युवा नेतृत्वको सम्भावना अनिश्चित बन्दै गयो । संगठनमा युवा आकर्षण घट्ने, नयाँ पुस्ताको ऊर्जाशीलता खुम्चिने र भविष्यको नेतृत्व शून्य देखिनेजस्ता चिन्ता स्वाभाविक रूपमा बढे । तेस्रो, वैचारिक निर्देशिका–सामाजिक लोकतन्त्रलाई व्यवस्थित, अद्यावधिक र व्यावहारिक बनाउने काम दशकौँदेखि सन्तोषजनक रूपमा अघि बढ्न सकेन । चौथो, मतदातासँग विशेषत: जेन–जी, सहरी मध्यमवर्ग, प्रवासी नेपाली, पेसेवर समुदाय र बाँकी नयाँ मतदाता समूहसँग कांग्रेसको दूरी बढ्दै गयो । पार्टीप्रति भावनात्मक निष्ठा केन्द्रका धेरै क्षेत्रमा कमजोर हुन थाल्यो ।

यिनै कारणले १५औँ महाधिवेशन कांग्रेसको भविष्य र रूपान्तरण दुवैका लागि निर्णायक मोड बन्यो । २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णयले तीन गहिरा राजनीतिक सन्देश दिएको छ । पहिलो, नेतृत्व अब अनिर्णय, ढिलाइ र अस्पष्टताबाट बाहिर निस्केर प्रतिफल स्वीकार गर्न तयार छ । दोस्रो, सम्भावित विभाजन वा अविश्वास बढ्दै गएको संवेदनशील अवस्थालाई रोक्न पार्टी सफल भएको छ । तेस्रो, प्रक्रियागत पारदर्शिता, स्पष्टता र सुधारका दिशामा ठोस कदम चाल्ने तयारी बढेको छ ।

कांग्रेसको पुनर्जागरण संगठनबाटै सुरु हुन्छ । त्यसका लागि पाँच रणनीतिक आधार तत्काल लागू गरिनुपर्ने आवश्यकता छ । पहिलो, डिजिटल र पारदर्शी सदस्यता प्रणाली, जसमा बायोमेट्रिक प्रमाणीकरण, एकीकृत डेटाबैंक, समान मापदण्ड र स्वतन्त्र अनुगमनसहित सदस्यता संरचना शुद्धीकरणको नींव तयार हुन्छ । दोस्रो, स्वतन्त्र आन्तरिक निर्वाचन संयन्त्र–स्वतन्त्र निर्वाचन आयोग, पारदर्शी मतदाता सूची, इ–भोटिङ निगरानी र खर्च–पारदर्शिताको प्रारम्भिक संरचना । तेस्रो, पुस्तान्तरणको सुनिश्चित समयरेखा–अर्को दशकको रोडम्याप, ४० वर्षमुनिका युवाको कम्तीमा ३० प्रतिशत नेतृत्व सहभागिताको ग्यारेन्टी । चौथो, आधुनिक राजनीतिक प्रशिक्षण, विद्यालय जहाँ अर्थनीति, संघीयता, सुरक्षा, कूटनीति, डिजिटल शासन, आन्तरिक लोकतन्त्र, नीति–विश्लेषण र नेतृत्व कौशलमा व्यवस्थित तयारी हुन्थ्यो । पाँचौँ, गुट व्यवस्थापन र संस्थागत शासन–गुटीय प्रतिस्पर्धालाई संस्थागत बनाई नियम–आधारित निर्णय प्रणाली, आत्ममूल्यांकन संयन्त्र र पारदर्शी प्रक्रियाको संस्कार स्थापनासहितको ढाँचा विकास ।

यसबाहिर वैचारिक रूपमा कांग्रेसले सामाजिक लोकतन्त्रको स्पष्ट नीतिगत रूपान्तरण आवश्यक छ । लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको मिश्रणमाथि आधारित यो विचार आजको आर्थिक, सामाजिक र डिजिटल युगमा अझ सार्थक र व्यावहारिक बनाइनुपर्ने आवश्यकता छ । रोजगारी सिर्जना, उद्यमशीलता विस्तार, उत्पादनमुखी अर्थतन्त्र, शिक्षा–स्वास्थ्य सुधार, सामाजिक सुरक्षा विस्तार, संघीयता सुदृढीकरण, डिजिटल शासन, कर सुधार र निर्वाचन प्रणाली परिमार्जन कांग्रेसले व्यावहारिक कार्यक्रमका रूपमा प्रस्तुत गर्न आवश्यक पर्ने प्रस्ट क्षेत्र हुन् । जेन–जी र कांग्रेसको सम्बन्ध अब विश्वास–सम्झौताको नयाँ संरचनाबाट पुनर्स्थापित हुनुपर्छ । युवाले कांग्रेसका मूल्य अस्वीकार गरेका होइनन् । तर, उनीहरूले गुटीय संस्कृति, अपारदर्शिता, पुरानो शैली, आत्मालोचनाको अभाव र परिवर्तनको सुस्त गतिलाई अस्वीकार गरेका हुन् । त्यसैले कांग्रेसले युवासँग पाँच प्रतिबद्धता गर्नुपर्छ । डिजिटल सत्यापनयुक्त सदस्यता, नीति–संवादको स्थायी संयन्त्र, समावेशी निर्णय–अधिकार, आधुनिक डिजिटल शासन र मानवअधिकार तथा लोकतान्त्रिक मूल्यमा दृढ प्रतिबद्धता । जनविश्वास पुनर्निर्माणका लागि यी पाँचै प्रतिबद्धता कांग्रेसको नयाँ राजनीतिक चरित्र बन्नुपर्छ ।

१५औँ महाधिवेशनको मिति तय गर्नु कांग्रेस रूपान्तरणको औपचारिक घोषणा हो । यसको अर्थ केवल चुनावी तयारी मात्र होइन, पार्टीले आत्मरूपान्तरण रोजेको संकेत हो । कांग्रेसले संगठन सुधार, वैचारिक स्पष्टता, नेतृत्व पुस्तान्तरण, प्रक्रियागत पारदर्शिता र युवा–विश्वासको पुनर्संरचना पाँचै स्तम्भमा दृढतापूर्वक अघि बढ्न सक्यो भने कांग्रेस फेरि लोकतान्त्रिक केन्द्र, विश्वासिलो विकल्प र राष्ट्रिय स्थायित्वको अग्र सञ्चालकका रूपमा उदाउन सक्छ । 

सुझावित समाचार