बौद्धस्थित हायात रिजेन्सी होटेल र कर्मचारीबिच होटेल पुनर्निर्माण अवधिभरका लागि श्रमिकहरूको रोजगारीको विषय समाधानका लागि भनी एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउने विषयमा सहमति भएको छ ।
गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा होटेलमा तोडफोड, आगजनी र लुटपाट भएपछि होटेल हाल बन्द छ । होटेल पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने भन्दै होटेल व्यवस्थापनले कर्मचारीका प्रतिनिधिसँग छलफल गरी सहमति गरेको जनाएको छ । ‘आन्दोलनका क्रममा भएको तोडफोडका कारण ठुलो आर्थिक तथा भौतिक क्षति पुगेको छ । पूर्णरूपमा मर्मत–सम्भार नगरी होटेल सञ्चालन हुने अवस्था छैन,’ होटेल व्यवस्थापनले भनेको छ ।
सहमतिअनुसार होटेलले कर्मचारीलाई एक वर्षसम्म नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउनेछ र सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गर्नेछ । यसले कर्मचारीको रोजीरोटी तथा रोजगारीको सुरक्षा हुने होटेलले जनाएको छ ।
मर्मत–सम्भार पूरा भएपछि सहमतिमा बस्नुहुने कर्मचारीलाई पुन: रोजगारीमा फर्काइने होटेलले जनाएको छ । सहमतिमा अधिकांश कर्मचारी सकारात्मक रहेको बताइएको छ । सहमतिमा नआउने कर्मचारीको हकमा भने श्रमिक कटौतीको प्रक्रिया अपनाइने होटेलले स्पष्ट गरेको छ ।