विराटनगर किंग्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्स प्रतिद्वन्द्वीका रूपमा पाएको छ । लुम्बिनीले बुधबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौं गोर्खाजमाथि चार विकेटको जित निकाली दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । विराटनगर र लुम्बिनीबिच बिहीबार प्रतिस्पर्धा हुँदै छ । यस खेलको विजेताले शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
लुम्बिनीले पहिलो तथा चालू संस्करणमा काठमाडौंसँग व्यहोरेको हारको मिठो बदला लिएको छ । गत वर्ष काठमाडौंले लुम्बिनीलाई १८ तथा चालू संस्करणको लिग चरणमा २२ रनले हराएको थियो । एनपिएलमा तेस्रोपटक यी दुवै टोली आमनेसामना हुँदा प्रतिस्पर्धा एकपक्षीय रह्यो । काठमाडौंले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्न नसक्दा इलिमेनिटर हुँदै एनपिएल यात्रा टुंग्याएको छ ।
काठमाडौं र लुम्बिनी पहिलोपटक एनपिएलको शीर्ष चारमा छनोट भए । लिग चरणमा काठमाडौं तेस्रो तथा लुम्बिनी चौथो स्थानमा थिए । काठमाडौं प्रतियोगिताबाट बाहिरिँदा लुम्बिनीलाई फाइनल प्रवेश गर्ने एक अवसर बाँकी छ ।
पहिलो ब्याटिङ गरेको काठमाडौंले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रनको कम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको नोक्सानीमा ११२ रन जोड्दै विराटनगरसँगको भेट पक्का गरेको हो । लुम्बिनीलाई दोस्रो क्वालिफायरमा पुर्याउन बलर शेर मल्लले घातक बलिङ गरेका थिए । खेलका म्यान अफ दी म्याच उनले २२ रन खर्चेर काठमाडौंका तीन ब्याट्सम्यानलाई आउट पारे ।
ब्याटिङमा लुम्बिनीको पनि संघर्ष
११२ रनको सहज लक्ष्य पछ्याएको लुम्बिनीले दोस्रो इनिङ्समा त्यति सहज रूपमा ब्याटिङ गर्न सकेन । लुम्बिनीले इनिङ्सको २.४ ओभरमै दोस्रा ओपनर दिनेश अधिकारीको विकेट गुमाएको थियो । डार्सी सट र कप्तान रोहितले दोस्रो विकेटका लागि २९ रनको साझेदारी गरेका थिए । रोहितले आफ्नो विकेट ८.६ ओभरमा गुमाए । उनले २५ बलमा समान एक चौका र छक्काको सहयोगमा १८ रनको योगदान दिए । उनी आउट हुँदा लुम्बिनीले प्रतिओभर ५.१ रनरेटमा ब्याटिङ गरेको थियो । ११.६ ओभरमा डार्सीको विकेटसँगै काठमाडौंले खेलमा फर्कने कोसिस गर्यो ।
सन्दीप जोरा र निरोसन दिकवेलले आवश्यक रनरेट पूरा गर्दा लुम्बिनीले बाजी मारेको थियो । लुम्बिनीले एक समय १० रनको अन्तरमा तीन विकेट गुमाएको थियो । लुम्बिनी ९६–४ बाट १०६–६ को अवस्थामा पुग्यो । लुम्बिनी जितनजिक पुगेका कारण लगातारको तीन विकेटको कुनै अर्थ रहेन । रुबेल ट्रम्पलम्यानले दुई बलमा ५ रन जोड्दै लुम्बिनीलाई दोस्रो क्वालिफायरमा पुर्याए ।
बलिङमा करण, सनी र रसिदले समान एक विकेट हात पारे । सन्तोषले दुई ओभरमा १७ रन खर्चेर दुई विकेट हात पारेका थिए । लुम्बिनीको ब्याटिङमा ओपनर डार्सीले ३४ बलमा दुई छक्का प्रहार गरी सर्वाधिक ३३ रनको योगदान दिएका थिए । सुरुदेखि नै पिचमा बल टर्न भइरहँदा दुवै पक्षका ब्याट्सम्यानले धेरै स्ट्रोक लगाएका थिएनन् ।
रोहित र शेरको घातक बलिङ
लगातार चार खेलमा उत्कृष्ट प्रदर्शन गरी लिग चरणमा तेस्रो स्थानमा रहेको काठमाडौंको ब्याटिङविरुद्ध लुम्बिनीलाई बलिङ गर्न त्यति सहज थिएन । फाइनलको आशा जीवितै राख्ने प्रतिस्पर्धामा काठमाडौंको ब्याटिङ दोस्रो एनपिएलमै पहिलोपटक ‘कोल्याप्स’ भयो । काठमाडौंको ब्याटिङ अर्डर कमजोर हुनुका पछाडि लुम्बिनीका कप्तान रोहित पौडेल र शेरको घातक बलिङ नै प्रमुख थियो । यी दुवैले समान तीन विकेट लिँदा काठमाडौंले ११.१ ओभरमा सात विकेट गुमाएर ५२ रन जोडेको थियो ।
शेरले १.१ ओभरमा आकाश त्रिपाठी, ३.५ ओभरमा मिलिन्द कुमार तथा १३.२ ओभरमा मोहमद आदिल आलमको विकेट लिएका थिए । रोहितले ९.१ ओभरमा पावर हिटर भीम सार्की, ९.५ ओभरमा जोन सिम्पसन तथा ११.१ ओभरमा रसिद खानको विकेट लिँदा काठमाडौं ५२–७ को दयनीय अवस्थामा रह्यो । रोहितले चार ओभरमा २५ रन खर्चेका थिए । आकाशले १, सन्नी पटेलले ७, भीमले १४ तथा जोनले १८ रन जोडेका थिए । त्यसपछि सन्तोष यादवले मोहमदसँग आठौँ विकेटका लागि २० रनको साझेदारी गर्दै टोलीलाई ७२–८ को स्थितिमा राखे ।
आलमले ११ बलमा दुई छक्का र एक चौका प्रहार गरेका थिए । सन्तोषले कप्तान करण केसीसँग नवौँ विकेटका लागि १८ रनको साझेदार गरे । लिग चरणमा करणले नै ट्रम्पलम्यानको एकै ओभरमा २८ रन जोडेर जित दिलाएका थिए । यसपटक भने करणको ब्याटिङ चल्न सकेन । उनले १४ बलमा एक छक्काको सहयोगमा ९ रन जोडे ।
खेल पछिका भनाइ
पावर प्लेमै उत्कृष्ट बलिङ : रोहित पौडेल, कप्तान, लुम्बिनी
पावर प्लेमा काठमाडौं गोर्खाजका चार विकेट लिन सफल भयौँ । जब कुनै पनि टोलीले पावर प्लेमै विपक्षीको चार विकेट लिन्छ भने खेलमा हाबी हुने मौका मिल्छ । आज हामीले यस्तै गर्यौँ । शेर मल्ल हाम्रा लागि महत्वपूर्ण खेलाडी साबित भइरहेका छन् । जति वेला बल हातमा पर्छ, उनले विकेट दिलाइरहेका हुन्छन् । काठमाडौंसँगको खेलमा पनि यस्तै भयो । खेलबारे अघिल्लो दिनै योजना बनेको हुन्छ । अब विराटनगरसँग प्रतिस्पर्धा गर्नुपर्छ । दुवैका लागि यो खेल दबाबपूर्ण छ ।
लुम्बिनीविरुद्ध १४० रन हुनुपर्ने थियो : मोन्टी देसाई, प्रशिक्षक, काठमाडौं
स्कोर बोर्डमा कम्तीमा १४० रन बनाउनुपर्ने थियो । यस पिचमा यो स्कोर बन्दा खेल जित्न सकिन्थ्यो । यद्यपि, लुम्बिनीविरुद्ध कम योगफल खडा गरे पनि उनीहरूलाई जित्न गाह्रो भएको थियो । लुम्बिनीका ब्याट्सम्यानहरूले सा–साना साझेदारी गर्दै जितको आधार बनाएका थिए । काठमाडौंको ब्याटिङमा त्यस्तो साझेदारी भएन । फेरि पावर प्लेमै मौका गुमायौँ । चार खेलाडी आउट हुँदा लुम्बिनी खेलमा हाबी भयो । फेरि विपक्षी बलरले पनि पावर प्लेमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । हाम्रा खेलाडीले ठुलो साझेदारी गर्न सकेनन् ।
प्लेयर्स टु वाच
शेर मल्ल (लुम्बिनी)
चालू संस्करणमा लुम्बिनीको बलिङमा महत्वपूर्ण योगदान दिएका बलर शेर हुन् । पछिल्लो केही खेलमा उनी लुम्बिनीको जितमा प्रमुख बलर बनेका छन् । काठमाडौंसँगको ‘गर या मर’को खेलमा उनले तीन विकेट निकाल्दै टोलीलाई दोस्रो क्वालिफायरमा पुर्याए । शेरले आठ इनिङ्स खेल्दा १३ विकेट लिएका छन् । उनको इकोनोमी रेट ६.६०९ मात्रै छ । उनले यस संस्करणको आठ खेलमा २८ ओभर बलिङ गर्दा १८५ रन खर्चिएका छन् ।
रुबेल ट्रम्पलम्यान (लुम्बिनी)
चालू एनपिएलमा नामिबियाका बलर रुबेल एक खेलमा मात्र खराब देखिए । लिग चरणमा काठमाडौंका कप्तान करण केसीको विस्फोटक ब्याटिङका कारण उनले एकै ओभरमा ३४ रन खर्चे । यसबाहेक अन्य खेलमा उनको बलिङ स्तरीय देखिन्छ । लुम्बिनीको प्रत्येक खेलमा उनले इनोकोमी बलिङ गर्दै विपक्षी ब्याट्सम्यानमाथि दबाब राखेका छन् । उनले अहिलेसम्म आठ खेलमा १० विकेट हात पारेका छन् । २५ ओभर बलिङ गरेका रुबेलले २०६ रन खर्चेका थिए । उनले एक मेडन ओभर गरेका छन् ।
फाफ डु प्लेसिस (विराटनगर)
दक्षिण अफ्रिकी पूर्वकप्तान डु प्लेसिसमाथि विराटनगर किंग्सले ठुलो आशा गरेको छ । क्वालिफायर १ मा विराटनगर निकै कमजोर अवस्थामा रहँदा पनि उनले सर्वाधिक योगदान दिएका थिए । लुम्बिनीविरुद्धको अर्को महत्वपूर्ण खेलमा डु प्लेसिसको ब्याटिङ चल्दा विराटनगर प्रतिस्पर्धामा हाबी हुन सक्छ । उनले तीन खेलमा ९८ रन जोडेका छन् । आफ्नो एकल प्रदर्शनमा नतिजा परिवर्तन गर्ने क्षमता डु प्लेसिसमा छ ।
लोकेश बम (विराटनगर)
चालू एनपिएलमा घरेलु खेलाडीमध्ये विराटनगरका लोकेश पनि चम्किरहेका छन् । उनले आठ खेलमा १७० रन जोडेका छन् । चालू एनपिएलमा उनले एक अर्धशतकीय इनिङ्स खेलेका छन् । विराटनगरमा शीर्ष तीन ब्याट्सम्यान विदेशी खेलाडी रहँदा बमले ओपनिङ गर्ने अवसर पाएका छैनन् । साम हेजलेट, डु प्लेसिस तथा मार्टिन गुप्तिल रहँदा बमले ओपनिङमा अवसर नपाएका हुन् । विराटनगरले घरेलु खेलाडीमध्ये ओपनिङमा बमलाई पनि विश्वास गरेको छ ।