प्रमुख प्रशासकीय अधिकृतको २२ दिनमै सरुवा

बुधबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

रामेछापको खाँडादेवी गाउँपालिकामा २२ दिनअघि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत चोलरमण अधिकारीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर २२ गते अधिकारीको सरुवा गरेको हो। उनी मंसिर १ गते मात्रै खाँडादेवी गाउँपालिकामा हाजिर हुन पुगेका थिए। 

यसअघि खाडाँदेवी गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत शिशिर उपाध्याय ८ महिनामै सरुवा भए। त्यसअघिका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत पनि ७ महिनामै अन्यन्त्र सरुवा भएका थिए। प्रमुख प्रशासकीय अधिकृत टिक्नै नसक्ने रामेछापका स्थानीय तहहरुमध्ये खाँडादेवी गाउँपालिका पनि एक हो।

प्रमुख प्रशासकीय अधिकृत टिक्दै नटिक्ने गाउँपालिका दोरम्वा शैलुङ पनि हो। यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निमित्तले चलाइरहेका देशभरका पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएकी थिइन्। उनले पठाएको अधिकृत हाजिर भएको दुई हप्ता पनि नबसी अन्यत्र सरुवा भए। अहिले यहाँ दुई वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा सोही गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश कुमार महत्तोले चलाउँदै आएका छन्। 

जिल्लाका आठ स्थानीय तहहरुमध्ये उमाकुण्ड गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन्। यसअघि उमाकुण्ड आएका प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारी तीन महिना, जितबहादुर श्रेष्ठ तीन महिना, अभिजित सुनुवार दुई महिना र सुनिता अर्याल दुई महिनामै अन्यत्र सरुवा मिलाएर हिँडेका थिए।

सो गाउँपालिकामा हाल प्रमुख प्रशासकीय अधिकृतको रुपमा धनेन्द्र भुजेल दुई हप्ताअघि हाजिर भएका छन्। उनी पनि यसअघि रामेछापको सुनापति र लिखु तामाकोशी गाउँपालिकामा केही समय काम गरेर बाहिरिएका हुन्। 
 

सुझावित समाचार