एनपिएल : नेपालको एउटा भव्य ‘ब्रान्ड’

बुधबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण
  • दोस्रो सिजनसम्म आइपुग्दा एनपिएल सानदार रूपमा अन्तर्राष्ट्रिय जगत्मा नेपाल देखिने र चिनिने एउटा लोभलाग्दो ‘ब्रान्ड’ बनिसकेको छ 

जेन–जी आन्दोलनको विध्वंसका दृश्यले अन्तर्राष्ट्रिय जगत्मा देखा परेको नेपालबारेको चिन्ता नेपाल प्रिमयर लिग (एनपिएल)को आकर्षक माहोलसँगै छायामा परेको छ । नेपालका लागि अब यस क्रिकेट प्रतिस्पर्धा सिर्फ केही घरेलु टिमको प्रतिस्पर्धा रहेन । दोस्रो सिजनसम्म आइपुग्दा यो नेपाल सानदार रूपमा अन्तर्राष्ट्रिय जगत्मा देखिने एउटा ‘ब्रान्ड’ बनिसकेको छ । चर्चा यसरी भइरहेका छन् कि टेस्ट क्रिकेट खेल्ने राष्ट्रलाई जसरी इन्डियन प्रिमियर लिग (आइपिएल)ले तान्छ, एसोसिएट क्रिकेट जगत्का लागि अब एनपिएल त्यस्तै आकर्षणको केन्द्र बन्दै छ । हुन पनि चार दर्जनको संख्यामा विदेशी खेलाडी आएर नेपालको लिग खेलिरहँदा उनीहरूले आफूसँगै आफ्ना लाखौँ प्रशंसकलाई नेपालतर्फ मोडिरहेका हुन्छन् । उनीहरूका नाममा हुने सामाजिक सञ्जालका पोस्ट र समाचारले नेपाललाई गर्ने प्रवद्र्धन अमूल्य हुन्छ । त्यसैले यो नेपाली क्रिकेट मात्र नभई विश्व मञ्चमा नेपाल प्रवद्र्धनको एउटा ऐतिहासिक फड्को पनि हो । क्रिकेटमा बनेको नेपालको अभूतपूर्व माहोलबिच त्यसलाई जोगाउने र हुर्काउने एकताबद्ध प्रयास भने नेपाली नेतृत्वबाट आवश्यक छ ।

नेपाल डुलाउने क्रिकेट
मौसम खुल्दाका दिन काठमाडौंबाटै हिमशृंखला देखिने नेपालको परिवेशमा खेल्न र हेर्न पाउनु जोकोहीका लागि एउटा अनुपम अनुभव हुने गर्छ । हुन त कीर्तिपुर क्रिकेट रंगशाला फ्लडलाइड र व्यवस्थित दर्शकदीर्घाका सिटसहित पछिल्लो परिष्कृत स्वरूप पाउनुअघि पनि त्यसलाई एउटा प्राकृतिक रूपमै सुन्दर खेल स्थलका रूपमा लिने गरिन्थ्यो । काठमाडौंमै मूलपानी रंगशाला व्यवस्थित पार्न सक्दा त्यो पनि उत्तिकै आकर्षक छ । उता सन् २०१९ को साउथ एसियन गेम्सअन्तर्गत पोखरामा क्रिकेट खेल हुँदा अन्नपूर्ण र माछापुच्छ्रे पृष्ठभूमिमा समेटिएका तस्बिर विश्व क्रिकेटका लागि लोभलाग्दा उपहार बनेका थिए । लुम्बिनी प्रदेशको रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरकै रंगशाला निर्माणको काम जारी छ । यी क्रम अब बिस्तारै देशव्यापी हुनेमा कुनै शंका छैन । प्रदेश सरकारका लागि अब कम्तीमा एउटा प्रादेशिक क्रिकेट रंगशाला बनाउन लगानी गर्नुपर्ने मनोवैज्ञानिक दबाब एनपिएलले दिएको छ ।

यसर्थ आउँदा वर्षमा प्रदेशपिच्छे सुविधासम्पन्न रंगशाला बनिसक्दा एनपिएलसमेत ‘होम एन्ड अवे’का हिसाबले हुने अवस्था सिर्जना हुनेछ । त्यो नेपालले पाउने अभूतपूर्व अवसर हुनेछ । देशी–विदेशी प्रायोजकदेखि अन्तर्राष्ट्रिय सेलिब्रिटी खेलाडी र खेल हेर्न चाहने देशी–विदेशी प्रशंसकको आउजाउ नेपालका कुनाकाप्चासम्म बाक्लिने अवस्थाको लाभ नेपालका लागि बहुआयामिक हुनेछ । जस्तो, रुपन्देहीको तिलोत्तमामा क्रिकेट हेर्न पुग्नेहरूले कम्तीमा लुम्बिनी दर्शन गर्न खोज्नेछन् नै । धनगढी जानेहरूले कम्तीमा बर्दिया, खप्तड वा शुक्लाफाँटा पुग्न खोज्नेछन् । पोखरा पुग्नेहरूले त्यही सहर वा आसपासका पदयात्राको आनन्द लिन खोज्नेछन् । विराटनगर पुग्नेहरूले जनकपुर, बुढासुब्बा वा इलामका चिया बगानसमेत हेर्न खोज्नेछन् । त्यसैले एनपिएलको ब्रान्डसँग नेपालले आफ्ना धरोहर, संस्कृति र समाज चिनाउने अवसर पाउनेछ । नेपालको खेल ‘स्टार स्पोट्र्स’जस्ता अन्तर्राष्ट्रिय च्यानलबाट देशबाहिर देखाइँदा वा अन्तर्राष्ट्रिय सोसल मिडिया ‘इन्फ्ल्युयन्सर्स’हरूले नेपालको खेललाई जोडेर त्यसबारे चर्चा गर्दा नेपालको जे–जसरी अहिले अन्तर्राष्ट्रिय पहिचान बनेको छ, त्यो परम्परागत पर्यटन प्रवद्र्धनको ढाँचाबाट वर्षौँमा नहुने उपलब्धि हो ।

बढेको आत्मविश्वास
चाहे पाकिस्तानमा भएको एसिया कप होस् वा अमेरिका–वेस्ट इन्डिजमा भएको पछिल्लो टी–२० विश्वकप नै किन नहोस्, नेपाली टोलीले क्रिकेट पावर हाउससँग प्रतिस्पर्धी खेल खेलेर एउटा आशा दिलाएको छ । त्यो अवस्थासम्म आउनका लागि नेपाली क्रिकेटले आफ्ना सीमित स्रोत र ‘एक्सपोजर’बिच दशकौँ बितायो । कैयौँ क्रिकेट पुस्ता त्यही आशा र अभावबिच ओझेलमा परे । एनपिएलले अन्तर्राष्ट्रिय पहिचान बनाउँदै गर्दा क्षेत्रीय रूपमा ‘ट्यालेन्ट हन्ट’मार्फत उदाएका कैयौँ खेलाडीले आफ्ना सुरुवाती समयमै अन्तर्राष्ट्रिय स्टार खेलाडीसँग मैदान साझेदारी गर्न पाइरहेका छन् । अन्तर्राष्ट्रिय खेलकुद भनेको सिर्फ खेल कौशल मात्र होइन, त्यो भनेको आत्मविश्वासको विकास पनि हो । जब नेपाली खेलाडीको कप्तानीमा विश्व क्रिकेटका हस्तीहरू खेलिरहेको देखिन्छ, तब त्यसले पूरै नेपाली क्रिकेटप्रेमीमा उत्साहको तरंग सिर्जना गरिरहेको हुन्छ । त्यसले नेपाली खेलाडीलाई दबाबमा खेल्न अभ्यस्त पारिरहेको छ । 

राष्ट्रिय टोलीका रूपमा देशका लागि खेल्ने तिनै खेलाडी आआफ्ना क्षेत्रीय टोलीमा बाँडिएर एक–अर्कासँग खेल्दा देखिने मैत्रीपूर्ण प्रतिस्पर्धाले एनपिएलका खेललाई झनै बढ्ता रोमाञ्चक बनाइरहेको छ । 

नेपालको अबको लक्ष्य टेस्ट मान्यता प्राप्त देशका रूपमा पहिचान बनाउनु हो । तर, त्यस लक्ष्यमा अगाडि बढ्नका लागि खेल मात्र नभई देशभित्रको क्रिकेट पूर्वाधारको पक्ष पनि महत्वपूर्ण हुने हुँदा यसक्रममा भएका प्रगतिले उक्त लक्ष्यका लागि समेत आत्मविश्वास बढाएको छ । यद्यपि, एक दिवसीय खेलमै पनि नेपालले धेरै क्षमता विकास गर्नुपर्ने कटु यथार्थ हामीबिच छ । त्यसका लागि चाहिने भनेको धेरैभन्दा धेरै खेल, व्यापक क्षेत्रका खेलाडीसँगका मैदानी जम्काभेट नै हुन् । 

अहिले नेपालमा देखिएको क्रिकेटमय अवस्थाले त्यसका लागि आत्मविश्वास बढाएको छ । नेपाली क्रिकेटका लागि उसका प्रशंसक सबैभन्दा ठुला आड हुन् । एनपिएलमा सप्ताहान्तबाहेकका खेलमा पनि भरिभराउ रंगशाला देखिनु, संसारका जुनसुकै देशमा नेपालले क्रिकेट खेल्दा पनि प्रशंसकको कमी नहुनु त्यसकै झल्को हो । त्यसले नेपालमा रहेको लोभलाग्दो क्रिकेट संस्कृति पनि दर्साइरहेको छ । अहिले नेपालमा क्रिकेट यसरी हरेक नागरिकको मनमस्तिस्कमा जोडिएको छ कि त्यो देशलाई एकतामा बाँध्ने सबैभन्दा बलियो कडी बनेको छ । 

एनपिएलमा नाटकीय क्षणहरू आउँदा वा त्यसमा अभूतपूर्व प्रदर्शन हुँदा त्यसको चर्चा विश्वभर भएको छ । त्यो भनेको यही मञ्चमार्फत नेपालका उदाउँदा खेलाडीसमेत अन्य देशमा हुने लिग क्रिकेटका लागि व्यावसायिक रूपमा आँखामा पर्नु हो । कतिपय खेलाडी यसअघि नै बाह्य लिगमा छानिएकामा एनपिएलको ‘ब्रान्ड भ्यालु’ बढ्दै जाँदा त्यो अझ व्यापक हुनेछ । एनपिएल त्यसैले नेपाली क्रिकेट र बाह्य क्रिकेटलाई आपसमा जोड्ने एउटा महत्वपूर्ण सेतुसमेत हो । 

तटस्थ भूमि
शान्तिका अग्रदूत भगवान् बुद्धको जन्मस्थल वा धार्मिक सहिष्णु समाजका रूपमा रहेको नेपालमा यसरी क्रिकेटको माहोल र पूर्वाधार विस्तार हुँदै जाँदा हाम्रो देशले धेरैको रोजाइमा पर्ने तटस्थ खेल स्थल बन्ने सामथ्र्य राख्छ । हुन पनि विश्वमा क्रिकेटको खास माहोल रहेको क्षेत्र भनेको दक्षिण एसिया नै हो । भारत, पाकिस्तान र श्रीलंका क्रिकेटका शक्ति राष्ट्र नै हुन्, जो ५० ओभर र २० ओभरका क्रिकेटमा विश्व च्याम्पियन बनिसकेका छन् । यहीँ यी तीन पावर हाउससँगै बंगलादेश र अफगानिस्तान टेस्ट क्रिकेट खेल्ने देशका रूपमा छन् । तर, भारत र पाकिस्तानका खेलाडी एक–अर्काकोमा गएर खेलिरहेका छैनन् । त्यस्तोमा उनीहरूले मध्यपूर्वको युएई वा छिमेकको श्रीलंका रोजिरहेको पाइन्छ । अफगानिस्तानमा अझै अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धा हुने माहोल बनेको छैन । वेलाबखत अन्य दक्षिण एसियाली देशबिचसमेत कूटनीतिक तनावको वातावरण बन्ने गरेको देखिन्छ । हाल अन्तर्राष्ट्रिय रूपमा टोरन्टो, शारजाह, सिंगापुरजस्ता ठाउँलाई तटस्थ खेलस्थलका रूपमा धेरै रुचाएको पाइए पनि तिनका समेत आफ्नै सीमितता छन् । कतै खर्चिलो यात्रा त कतै मौसमी असहजताका कुरा छन् । त्यस्तोमा काठमाडौंको लाभ सस्तो मात्र नभई वर्षमा मनसुन अवधिबाहेक नौ महिनाजसो खेलका लागि उपयुक्त हुने परिवेश छ । सामान्यत: ३० डिग्री सेल्सियसभन्दा माथि नजाने यहाँको तापक्रम दिउँसोकै लागि उपयुक्त हुनेमा फ्लड लाइटमा समेत खेल्न सकिने पछिल्लो माहोलले त्यसमा अझ सहजता थपेको छ ।

त्यस्तो अवस्थामा नेपालले लिने अग्रसरता र त्यसका लागि आफूलाई काबिल पार्ने परिस्थिति बन्दा त्यो नेपालको अन्तर्राष्ट्रिय पहिचानका लागि निकै राम्रो अवसर बन्नेछ । रंगशालामा प्रविधिको अधिकतम प्रयोग गर्दै टिकट काट्ने वेलादेखि नै सुरक्षित माहोल बनाउनु कुनै कठिन कार्य होइन । सुरक्षाका दृष्टिले हेर्दासमेत अब सेना–प्रहरी मात्रै खटाएर नभई प्रविधिका पूर्वाधारसमेत व्यापक प्रयोग गरेर सुरक्षित माहोलको सुनिश्चितता गर्न सकिने अवस्था छ । त्यसमाथि प्रदूषण, अनुकूल वायुमण्डलीय तापक्रम, पर्यटकमैत्री समाजजस्ता हिसाबले पनि नेपाल दक्षिण एसियाको उत्कृष्ट खेल भूमि हो । मुख्य कुरा नेपालले यतिखेर खेलाडी, प्रशंसक, खेल प्रवद्र्धक र अन्तर्राष्ट्रिय परिवेशजस्ता चौतर्फी रूपबाट आफूलाई अन्तर्राष्ट्रिय जगत्मा फरक पहिचान बनाउने अवसर पाउनु हो । त्यसमा हामी सरकारी, निजी र हरेक क्रिकेटप्रेमीले आफ्नो दायित्व सम्झेर आवश्यक सानो–ठुलो योगदान दिनुपर्छ । किनकि, यो केही आँट गर्ने, केही जोखिम उठाउने समय हो, जुन अवस्था सधैँ यस्तै नभइदिन पनि सक्छ । 

(न्यौपाने लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री हुन्)

सुझावित समाचार