कांग्रेस महाधिवेशनमा कार्यकर्ताको भूमिका

मंगलबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण
  • आजको चुनौतीपूर्ण अवस्थामा कांग्रेसलाई सुदृढ बनाउने मुख्य शक्ति भनेकै स्थानीयस्तरका कार्यकर्ता हुन् 

नेपाली कांग्रेसको संगठनात्मक संरचनामा ग्रामीण तहमा कार्यरत साथीहरू नै वास्तविक पहिचान, जनाधारका प्रतिनिधि र पार्टीका मेरुदण्ड हुन् । जसरी फलदायी रुखको अस्तित्व र पौरखका लागि जरामा मलजल र माटोको अपरिहार्य भूमिका हुन्छ, तृणमूल–तहका कार्यकर्ताको पौरखी भूमिका त्यस्तै प्राणदायी र फलदायी हुन्छ । गाउँ–बस्तीमा जनतासँग घुलमिल र सम्पर्कमा बसेर अनेक समस्या र घात–प्रतिघातको सामना गर्दै पार्टीका नीति–निर्णय र विचारबारे जनस्तरमा प्रकाश पार्नुका साथै माथिल्लो निकाय र नेतृत्वसम्म जनताको चाहना र भावना पुर्याउने जिम्मेवारीमा उनीहरूको अद्वितीय भूमिका रहन्छ । सशक्त र ऊर्जाशील कार्यकर्ता नै पार्टीको वास्तविक शक्ति हुन् । जनतासँगको प्रत्यक्ष संलग्नतामा संगठनलाई जीवन्त बनाउने, पार्टीका निर्णय र मान्यतालाई जनस्तरमा पुर्याउने र परिवर्तनको नेतृत्व गर्ने शक्ति कार्यकर्तामै हुन्छ । उनीहरूको सक्रियता, अनुशासन र समर्पणविना पार्टी सुदृढ, संगठित र जीवन्त रूपमा अगाडि बढ्न सक्दैन ।

सबैभन्दा ठुलो चुनौती जनतामा फैलिएको निराशा, राजनीतिक अविश्वास र परिणामप्रतिको अपेक्षा हो । प्राय: सधैँको अस्थिरता, अन्योल, विकासमा भइरहेका हिनामिना, भ्रष्टाचार, दण्डहीनता र समाधान नपाएर थुप्रिरहेका स्थानीय समस्याले ग्रामीण जनतामा दलप्रतिको अविश्वास बढ्दै गएको छ । डिजिटल युगमा फैलिँदै गएका गलत सूचना, अफवाह र प्रचार–प्रपञ्चले ग्रामीण क्षेत्रमा पनि जनमतलाई समान रूपमा प्रभाव पारिरहेको अवस्थामा भ्रामक प्रचारबाजीलाई तथ्य र संयमित संवादद्वारा वैचारिक रूपले सामना गर्नु हाम्रा साथीहरूको प्रमुख जिम्मेवारी र अत्यावश्यक पक्ष हो । पार्टीको वास्तविक परिचय स्थानीय तहमा कार्यरत र नेतृत्वबाटै सुरु हुन्छ, त्यही तहका नेतृत्वको विधि, व्यवहार, सोच र व्यक्तित्व, निष्पक्षता र न्यायिक गतिविधिसँगै जोडेर कांग्रेसको पहिचान बन्छ । तसर्थ, लोकले चिन्ने र समाजले बुझ्ने पार्टीको पहिचानका लागि स्थानीय साथीहरूदेखि माथिल्ला तहले गम्भीरतापूर्वक ध्यान दिनैपर्छ ।

वर्तमान नेपालको राजनीतिक वास्तविकता, आर्थिक चुनौती, सार्वजनिक असन्तुष्टि र संगठनभित्रका कमजोरीले कांग्रेसका गाउँस्तरीय कार्यकर्तालाई कठिन, जटिल र संवेदनशील परिस्थितिमा उभ्याइदिएको छ । यिनै कार्यकर्तामा कांग्रेसलाई जनतासँग जोड्ने सशक्तता र वैचारिक पुनर्जागरणको आवश्यकता छ । यस्ता चुनौतीबिच ग्रामीण कार्यकर्ताको दायित्व अझै गम्भीर बनेको छ । जनतासँग नजिकिएर विश्वास पुनस्र्थापित गर्ने, स्थानीय समस्यालाई पार्टीका कार्यसूचीमा समावेश गर्ने, संगठनलाई चुस्त–दुरुस्त र सक्रिय बनाउने, युवापुस्तालाई आकर्षित गर्ने र कांग्रेसका मूल्य, मान्यता, आदर्शअनुरूप लोकतन्त्र, सहिष्णुता, सामाजिक न्याय र समावेशी समाज व्यवहारमै उतार्न स्थानीय कार्यकर्ता सशक्त भएमा कांग्रेसको वर्चस्व र भविष्य बलियो बन्नेछ । यो कार्य झन्झन् महत्वपूर्ण र कठिन बनिरहेको छ । वर्तमान राजनीतिक परिवेशले उनीहरूलाई अझ धेरै चुनौतीको सामना गर्न बाध्य बनाएको छ । पार्टीभित्र देखिने विचार–समूहभन्दा चरित्रमा स्वार्थ–समूहका गुट–उपगुट, समन्वयको कमी र संगठनात्मक कमजोरीले तल्लो तहका कार्यकर्ता साथीहरूको मनोबल गिराउने र उदासीन बनाउने काम भएको छ । हामी विभिन्नताबिच अभिन्नता र अनेकताबिच एकतामा विश्वास गर्ने लोकतान्त्रिक पार्टीका कार्यकर्ता हौंँ भने एउटै झन्डा, आदर्श र लक्ष्य बोकेका हामीबिच किन एकता नहुने ? व्यक्तिकेन्द्रित होइन, विचारकेन्द्रित भएर सोचौँ । एउटा कांग्रेसको अपमानमा अर्को कांग्रेसले मान देख्ने र एउटाको अवसानमा अर्कोले जीवन देख्ने प्रवृत्तिको निराकरणका क्रममा नीति, विचार र पद्धतिका लागि नयाँ शक्ति निर्माण गर्दै सम्पूर्ण एकता आजको प्रमुख आवश्यकता हो । आपसमा गरिने लोकतान्त्रिक संस्कारको मर्यादाबाट मात्र सौहार्द र सहअस्तित्वपूर्ण वातावरण बन्न सक्छ । पार्टीभित्र फरक विचार र असहमत व्यक्तिहरूलाई सहमतिमा ल्याउने प्रयास नेतृत्वको पहिलो कर्तव्य हो । हरेक तहमा कांग्रेस प्रवेश चाहने कुनै प्रभावशाली व्यक्ति र खासगरी युवा समुदायलाई प्रोत्साहन आवश्यक छ ।

‘म नेताहुँ, मलाई सबैले मान्नुपर्छ, म जे गर्छु त्यही ठिक हो’ भन्ने प्रवृत्तिबाट संगठन सुदृढ र व्यापक हुन सक्दैन । आफ्ना रुचि, लहड र स्वार्थका निर्णय होइन, सबैका विचार, आपसी संवाद, सामूहिक बहस वा छलफलबाट निष्कर्षमा पुग्ने प्रक्रिया नै कांग्रेसको संस्कृति र परम्परा हो । क्रियाशील सदस्यता वितरणमा आफ्नो मान्छेलाई खोजीखोजी होइन, गाउँमा स्थापित, जनप्रिय र अलग्गै रहे–बसेका भए पनि प्रभावकारी जनप्रिय व्यक्ति वा युवालाई हरप्रकारले समेट्ने पहल र प्रयत्न गर्नु जरुरी छ । पार्टीमा प्रवेश चाहने कसैलाई पनि आग्रह वा पूर्वाग्रह लिएर निषेध गरिनुहुन्न ।

कांग्रेसको १५औँ महाधिवेशन संगठनात्मक प्रक्रियाको निरन्तरता मात्र होइन, पार्टीको भविष्य, राजनीतिक दिशानिर्देशन, आन्तरिक एकता र लोकतान्त्रिक संस्कृतिको पुनस्र्थापना गर्ने ऐतिहासिक अवसर पनि हो । महाधिवेशनले नेतृत्वलाई आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने, नीतिगत स्पष्टता दिने र संगठनलाई युगअनुकूल बनाउने अवसर जुटाउँछ भने गाउँ–बस्तीका कार्यकर्तामा वैचारिक स्पष्टता, नयाँ आशा, उत्साह र ऊर्जा भर्छ । लोकतान्त्रिक कार्यकर्तामा जुनसुकै पद वा स्तरको नेतृत्व किन नहोस्, गलतलाई गलत र ठिकलाई ठिक भन्ने न्याय–वक्ता, सिर्जनात्मक अनुसन्धान र वस्तुवादी समीक्षा गर्ने क्षमता अत्यावश्यक हुन्छ । क्षमता र ऊर्जाले सुसज्जित कार्यकर्ता जनप्रिय हुन सक्छ र उसैले प्रजातन्त्रको संरक्षण गर्न सक्छ । त्यसैबाट पार्टी सशक्त र जीवन्त हुन्छ ।

जनप्रतिनिधिदेखि निजामती सेवासम्म, राष्ट्रका सबैजसो अंगमा फैलिएको भ्रष्टाचार आजको प्रमुख राष्ट्रिय रोग बनेको छ । जनसेवाका निमित्त प्राप्त अधिकार दुरुपयोग गर्दै सबैजसो जिम्मेवारीमा बसेकाबाट सार्वजनिक बजेट, विकास योजना र स्रोतसाधनलाई चरम दुरुपयोग गर्दै व्यक्तिगत लाभमा लगाउने प्रवृत्ति झन्झन् बढ्दै गएको छ । यस्तो दुरवस्थाविरुद्ध कांग्रेसका साथीहरूले जनस्तरबाट सशक्त आवाज उठाउनु, गाउँदेखि नै भ्रष्टाचारविरुद्ध आन्दोलनको समन्वय र अगुवाइ गर्नु जरुरी छ । अबको कांग्रेस र नेता–कार्यकर्ताको पहिचान कुशासन, भ्रष्टाचार र दण्डहीनताविरोधी विशेषतायुक्त हुनुपर्छ ।

‘नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन्, या त दास हुन्...’ बिपीले कुनै प्रसंगमा बोलेको यो वाणी आज पनि निकै प्रासंगिक छ । यही ऐतिहासिक मान्यता र धरोहर हाम्रा संस्थापक नेताबाट विभिन्न अवसरमा प्राप्त व्यवहार, शिक्षा र निर्देशनप्रति सबै कांंग्रेसजन गम्भीर बन्नु जरुरी छ । कांग्रेसको आदर्श, मान्यता र सोचलाई सबै तहका कार्यकर्ता साथीहरूले संस्थापक राजनेताका विभिन्न सन्दर्भका भनाइ पुन: स्मरण गर्दै तदनुरूप व्यवहार अपनाउनु आजको आवश्यकता हो । कांग्रेसजस्तो लोकतन्त्रवादी पार्टीले लोकतान्त्रिक संस्कार अपनाएको पुष्टि हुने व्यवहार देखाउनैपर्छ । जनता नै शक्तिको स्रोत हो । जनतासँग सम्बन्ध बलियो नहुँदा पार्टी संगठन कमजोर हुन्छ । कार्यकर्ताले घर–घरमा पुगेर जनताको विश्वास जित्नु, दु:खसुखमा साथ दिनु र उनीहरूको चाहना–अपेक्षा सुन्नु कांग्रेसको पहिलो काम हो । सिद्धान्तप्रति अडिग, व्यवहारमा समयअनुसार लचिलो बन्नु आवश्यक छ । कार्यकर्ताको दायित्व सिद्धान्त नछोड्ने तर समय, परिस्थिति र जनभावनाअनुसार काम गर्ने विधि र प्रविधिको विकासमा संलग्न रहनु हो ।

व्यक्तिभन्दा पार्टी ठुलो, पार्टीभन्दा देश ठुलो भन्ने कांग्रेसको दृढ धारणा हो । त्यसैले कार्यकर्ताले व्यक्तिगत स्वार्थ, समूहबन्दी, रिसइबीभन्दा माथि उठेर राष्ट्रहित, लोकतन्त्र र संविधानको रक्षा गर्नु जरुरी छ । आन्तरिक एकता नै हाम्रो शक्ति हो । कांग्रेसको कमजोरी नै अन्तरिक एकताको अभाव हो । कार्यकर्ताले मनभित्रको दम्भ, मतभेद र संघर्षलाई अन्त्य गर्दै संगठनलाई एक ढिक्का बनाएर अघि बढाउनु जरुरी छ । नैतिकता, इमानदारी र त्याग सच्चा कार्यकर्ताको विशेषता हो । कार्यकर्ताले सार्वजनिक जीवनमा स्वच्छता, पारदर्शिता, सत्यनिष्ठा र आत्मानुशासन कायम राख्नु नै लोकतान्त्रिक संस्कृतिको आधार हो ।

संघर्षको बाटो वैचारिक तथा अहिंसात्मक हुनुपर्छ– हिंसा हाम्रो बाटो होइन । कार्यकर्ताको धर्म, शान्तिपूर्ण संघर्ष, तर्कशील राजनीति र संवैधानिक अभ्यासमार्फत परिवर्तन ल्याउनुपर्र्छ । सीमान्तकृत, वञ्चित वर्ग, गरिब, महिला, किसान, श्रमिकको जीवनस्तर उकास्नु नै कांग्रेसको समाजवादी नीति हो । कार्यकर्ताले समाजमा समानता र न्यायका लागि निरन्तर संघर्ष गर्नुपर्छ । विगत केही वर्षयता देशमा अस्थिरता, शासकीय अनिश्चय, आर्थिक गतिहीनता र राजनीतिक नेतृत्वप्रतिको आलोचना बढ्दै गएको छ । गाउँमा राजनीतिक दलहरूबाट अपेक्षित परिवर्तन नहुँदा ‘सबै उस्तै’ भन्ने धारणा बढ्दै छ । यस्तोमा कांग्रेस कार्यकर्तालाई पार्टीको पहिचान, ऐतिहासिक गौरव, योगदान र मूल दर्शनप्रति आफू सुप्रशिक्षितहुँदै जनतासम्म विश्वसनीय ढंगले पुर्याउनु आवश्यक छ । सूचना–युद्ध र डिजिटल भ्रमको चुनौती : आजकल सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना, प्रचार–प्रपञ्च र झुटा आरोपले कांग्रेसप्रति नकारात्मक वातावरण बनिरहेको छ । यसलाई गाउँस्तरीय कार्यकर्तामा तथ्य–तर्कको आधार र सामाजिक सञ्जालबाट पनि प्रतिकार गर्ने संगठनात्मक क्षमता विकास गर्नु आवश्ययक छ ।

गाउँस्तरका समिति धेरै ठाउँमा निष्क्रिय, आर्थिक रूपमा सीमित र समन्वयहीन छन् । कार्यक्रममा जनसहभागिता बढाउने, युवालाई सक्रिय बनाउने वा पार्टीको विस्तार गर्ने चुनौती, सामना गर्न निरन्तर कमजोरी देखिएको छ । यसलाई केन्द्रीयस्तरबाट विशेष व्यवस्थापन र प्रशिक्षण आवश्यक छ । कांग्रेसको पुरानो र दीर्घकालीन समस्या, गुटगत प्रतिस्पर्धा गाउँस्तरमा झनै बलियो र तीव्र विभाजित देखिन्छ । यसले सामान्य कार्यकर्तामा निराशा, द्विविधा र असन्तुलन पैदा गर्छ । नेता–कार्यकर्ताबिच दूरी बढ्छ, अनि संगठन कमजोर हुन्छ । हरेक तहमा यसको संयोजनमा क्रियाशील रहन जरुरी छ । 

कांग्रेसमा एकता केवल नारामा सीमित रहनु हुँदैन, यसले संगठनलाई चलाउने शक्ति बन्नुपर्छ । तर, वास्तविकता भनेको गुटगत प्रतिस्पर्धा, बफादारीको गलत व्याख्या, पदका लागि संघर्ष र स्थानीयस्तरमा देखिने विभाजन हुन् । स्थानीय तहमा नियमित संवाद, छलफल र कार्यगत–तालमेल अनिवार्य छ । ‘हामी र उनीहरू’ भन्ने मानसिकता हटाएर ‘साझा उद्देश्य’को भावना मजबुत बनाउनुपर्छ । पार्टीहित र जनताको मनोभावनालाई सम्बोधन गरी वैचारिक स्पष्टतालाई आधार बनाउँदै एकता निर्माणमा अग्रसर हुने र सहअस्तित्व र सहसम्मानको संस्कृति निर्माण नै हाम्रो जिम्मेवारी हुनुपर्छ । धेरैजसो गुटगत असन्तुष्टि भूमिकाको अस्पष्टता र समान अवसर नपाउँदा उत्पन्न हुन्छ । वडा, टोल र पालिका तहमा स्पष्ट कार्य–विभाजन, समान जिम्मेवारी र पारदर्शी प्रक्रियाले एकता मजबुत बनाउँछ ।

गाउँस्तरमै राजनीतिक शिक्षा, नेतृत्व विकास, डिजिटल प्रशिक्षण र संगठनात्मक दक्षता बढाउने कार्यक्रम चलाउन सके गुटगत सोच स्वाभाविक रूपमा कमजोर बन्छ । कांग्रेसको अन्तिम उद्देश्य पद होइन, देश र लोकतन्त्र बचाउने, सुशासन स्थापना गर्ने तथा देशलाई समुन्नत बनाउने हो । यही साझा लक्ष्यप्रति सबै कार्यकर्ता केन्द्रित हुन सके एकता स्वाभाविक रूपमा वृद्धि हुन्छ । १५औँ महाधिवेशनपछि संगठन सुदृढीकरण र जनविश्वास पुनरुत्थानका निमित्त गाउँस्तरबाटै नयाँ चेतना, वैचारिक पुनर्जागरण, पार्टीको संस्थागत विकास, विधिवत् र पारदर्शी प्रक्रिया स्थापनाको आन्दोलनका रूपमा महानिर्वाचनमा विजययात्रा निर्माणतिर प्रत्येक कांग्रेस साथीहरू मन, वचन र कर्मले उत्सर्ग हुनु र तदनुसार वातावरण निर्माणमा सम्पूर्ण एकतासाथ जुट्नु आवश्यक छ । कांग्रेस महाधिवेशनले हरेक स्तरमा नेतृत्व चयन मात्र गर्दैन, यसले पार्टीको भविष्यसमेत निर्धारण गर्छ । आजको चुनौतीपूर्ण अवस्थामा कांग्रेसलाई सुदृढ बनाउने मुख्य शक्ति गाउँस्तरका कार्यकर्ता नै हुन् । स्थानीयस्तरमा संस्थागत, विधिसंगत, नीतिसंगत नवजागरण र चेतना निर्माण अभियानमा एकीकृत भएर जुट्नु आजको आवश्यकता हो ।

(केसी कांग्रेस केन्द्रीय सदस्य हुन्)

सुझावित समाचार