कावासोती–४, हसौरामा रहेका भूमिहीन सुकुमवासीहरूले आज जिल्ला प्रशासन कार्यालय नवलपुर र मालपोत कार्यालय कावासोती घेराउ गरेका छन्। मालपोत कार्यालय कावासोतीले अनेक बाहानामा कावासोती–४ का भूमिहीन सुकुमवासीहरूको नाममा लालपुर्जा दिन आनाकानी गरेको भन्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय घेराउ गरेका हुन्।
कावासोती–४ का वडाध्यक्ष नारायण लोहोनीको नेतृत्वमा हसौराका बासिन्दाले जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय घेरेका हुन् । उनीहरूले १५ दिनभित्र माग पूरा नभए कडा संघर्षका चेतावनीसमेत दिएका छन्।
यहाँको १८० बिघा जग्गामध्ये ३५ बिघा जग्गा भूमाफियाको नाममा रहेको छ भने अन्य स्थानीयको नाममा फिल्ड कायम भएको छ । स्थानीयको नाममा फिल्ड कायम भएको जग्गा पनि मालपोत कार्यालयले जग्गाधनी लालपुर्जा दिन नमानेको वडाध्यक्ष लोहनीले बताए ।
यसैगरी, ३५ बिघा जग्गा हडप्ने भूमाफियालाई कारबाही गरी उक्त जग्गा पनि वर्षौँदेखि बसोबास गर्दै आएका स्थानीयलाई उपलब्ध गराउन माग गरिएको वडाध्यक्ष लोहनीले बताए ।
उनीहरूले नवलपुरका प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डे र मालपोत कार्यालय कावासोतीका कार्यालय प्रमुख खेमनारायण पौडेललाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका हुन्।