आफ्नै चारमहिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असइ) पुष्कर कार्की पक्राउ परेका छन् ।
निजले काठमाडौंको सिनामंगलमा आफ्नै चारमहिने छोराको हत्या गरेर भागेको अवस्थामा नागढुंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
उनले भने, ‘छोराको हत्या गरी भागेको अवस्थामा असइ कार्कीलाई नागढुंगाबाट पक्राउ गरेका छौँ, उक्त विषयमा अहिले थप अनुसन्धान भइरहेको छ ।’ असइ कार्कीले सिनामंगलस्थित आफ्नो कोठामा घाँटी थिचेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको कारणबारे प्रहरीले अनुसन्धानपछि खुल्ने जनाएको छ ।
डोटी घर भएका २९ वर्षका असइ पुष्कर कार्कीले आफ्ना चार महिनाका छोरा माहिर कार्कीको हत्या गरेको आरोप छ।
कार्कीले आफ्नी श्रीमती विष्णा साउदमाथि पनि कुटपिट गरेको प्रहरीले जनाएको छ। श्रीमान्-श्रीमती दुवैजना प्रहरी हुन्। विष्णा प्रहरी जवान हुन्। उनीहरू दुवैजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत थिए।