प्राइम कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) नारायणदास मानन्धरको निधन भएको छ । मानन्धरले बैंकको संस्थापनादेखि लामो समयसम्म नेतृत्व गरेका थिए । ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
सन् १९६९ मा भूमि सुधार तथा बचत निगमको शाखा प्रमुखका रूपमा सेवा प्रवेश गरेका मानन्धरले राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंकका प्रथम श्रेणीका विभागीय प्रमुख र पछि नायब महाप्रबन्धकका साथै धानचामल निर्यात कम्पनीका महाप्रबन्धक बनेका थिए ।
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता, राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी सञ्चालक, लुम्बिनी बैंकका प्रमुख सिइओ, विश्व बैंकको जलविद्युत् विकास कोष र नेपाल बंगलादेश बैंक लिमिटेड हुँदै प्राइम कमर्सियल बैंकमा सिइओ बनेका थिए ।
नेपालको आर्थिक तथा बैंकिङ इतिहासमा मानन्धर महत्वपूर्ण भूमिकाका लागि चिनिन्छन् । उनको निधनबाट आर्थिक जगत्ले अपूरणीय क्षति व्यहोर्नुपरेको बैंकले जनाएको छ ।