डाक्टर, नर्स र स्वास्थ्यकर्मीमा हस्पिटल म्यानेजमेन्टको आकर्षण

आइतबार, २१ मंसिर, २०८२
डिजिटल संस्करण

उदयपुरको रामपुरमा अस्पताल प्रशासन प्रमुख भएर बिरामीको उपचार गरिरहेका डा. विशाल राईलाई आफूमा नेतृत्वको सीप अपूरो लाग्यो । यसैले उनी मनमोहन प्राविधिक विश्वविद्यालयमा हस्पिटल म्यानेजमेन्टको मास्टर्स पढ्न भर्ना भए । झापाको लखनपुरस्थित कोशी सरकारको प्रदेश आयुर्वेदिक केन्द्रका चिकित्सक अभिषेक राजवंशी र बुटवलकी डा. प्रतिज्ञा पौडेल विज्ञ भएर पनि हस्पिटल म्यानेजमेन्ट अध्ययन गर्दैै छन् ।

डा. राई, भण्डारी र राजवंशी मात्र होइन, हिजोआज मनमोहन विश्वविद्यालयमा हस्पिटल म्यानेजमेन्ट पढ्न विज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र प्राविधिकहरूमा आकर्षण बढेको छ । उनीहरू गत वर्षदेखि ‘हस्पिटल म्यानेजमेन्ट एन्ड हेल्थकेयर’को मास्टर्स तहमा भर्ना भएका हुन् । उनीहरू हरेक दिन बिहान ६ बजे विराटनगर महानगरपालिका– १४ जतुवामा रहेको विश्वविद्यालयको आंगिक कलेजमा सेमेस्टर प्रणालीबाट सञ्चालन भइरहेको हस्पिटल म्यानेजमेन्ट विषय पढ्छन् । यहाँ अध्ययनरत विद्यार्थी ८० प्रतिशत भौतिक रूपमा हाजिर हुनैपर्छ । प्राक्टिकल प्रतिवेदन तयार गर्नैपर्छ ।

बिरामी उपचार गरे पनि हाल विद्यार्थी भएर पढ्न सुरु गरको डा. राईले बताए । ‘स्वास्थ्य क्षेत्रको विज्ञ भएर मात्र नपुग्दो रहेछ, अस्पताल व्यवस्थापनको व्यावहारिक सीपसहितको ज्ञान पनि चाहिनेरहेछ, त्यसैले ‘हस्पिटल म्यानेजमेन्ट’ पढ्न थालेको हुँ,’ उनले भने ।

मनमोहन प्राविधिक विश्वविद्यालले दुई वर्षअघिदेखि ‘मास्टर्स अफ हस्पिटल म्यानेजमेन्ट एन्ड हेल्थकेयर’ विषय प्राध्यापन गराउन थालेको छ । पठनपाठन सुरु गर्नेबित्तिकै विज्ञ डाक्टर, नर्स, दक्ष स्वास्थ्यकर्मी, प्राविधिकहरूले रुचि देखाइरहेको कलेजकी कार्यक्रम संयोजक प्रतीक्षा रेग्मीले बताइन् । ‘पहिलो वर्षको ब्याचमै २४ जना र ०८२ को ब्याचमा २७ जना विद्यार्थी भर्ना लिएर पठनपाठन गर्दै आएका छन् । जसमा डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरू धेरै हुनुहुन्छ,’ उनले भनिन् । हस्पिटल म्यानेजमेन्ट पढाइले अस्पताल सञ्चालका साथै कुशल नेतृत्वकर्ता डाक्टर, नर्स र स्वास्थ्य प्राविधिक बन्न सहयोग गर्ने उनको भनाइ छ । 

मोरङको विराट टिचिङ अस्पतालमा क्वालिटी कन्ट्रोलको रूपमा सेवा गरिरहेकी मोनिका रेग्मी आफ्नो विभागको सफल नेतृत्वकर्ता बन्न हस्पिटल म्यानेजमेन्ट पढ् भर्ना भएको बताउँछिन् । विराट अस्पतालमै आइसियू विभागमा सुपरभाइजर सुस्मिताले पनि आफूमा लिडरसिपको ज्ञान अपूरो लागेर हस्पिटल म्यानेजमेन्ट पढ्न थालेको बताइन् ।

विजयपुर अस्पतालका प्रमुख प्रशासक इन्द्र नेपाल योन्जन चिकित्सक र नर्स तथा ल्याबमा कार्यरत प्राविधिक कर्मचारीबिच ग्याप भएकै कारण अस्पताल कुशल रूपमा सञ्चालन हुन कठिनाइ हुने गरेको बताउँछन् । उनका अनुसार पोखरा विश्वविद्यालयमा हेल्थकेयर म्यानेजमेन्ट पहिलेदेखि पढाइ हुने गरे पनि नयाँ हस्पिटल व्यवस्थापनलाई नै केन्द्रित गरेर पढाइ सुरु गर्ने मनमोहन प्राविधिक विश्वविद्यालय पहिलो हो । ‘राम्रो उपचार भएन । डाक्टरले लापरबाही गर्यो । पैसा धेरै लियो, तर व्यवहार राम्रो गरेन भन्नेजस्ता अनेकौँ आरोपदेखि स्वास्थ्य उपकरण खरिदमा हुने भ्रष्टाचार नियन्त्रण, प्रशासन र अदालत फेस गर्ने क्षमता पनि हस्पिटल म्यानेजमेन्ट पढ्नेहरूमा हुन्छ,’ योन्जनले भने ।

मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवाश्री पोखरेल अस्पतालको प्रशासन चलाउनेलाई कम्तीमा खरिद प्रक्रिया, स्वास्थ्य नीति र कानुन, द्वन्द्व व्यवस्थापनदेखि फोहोर व्यवस्थापन, जनसम्पर्क कलालगायत ज्ञान र सीप आवश्यक पर्ने बताउँछन् । ‘यस्तो आवश्यकता देखेर विदेशी, स्वदेशी विज्ञहरूबाट कलेजले हस्पिटल म्यानेजमेन्टको कोर्स तयार गरेको हो,’ उनले भने, ‘पोखरामा स्वास्थ्य नीति र कानुनबारे मात्रै हेल्थकेयर कोर्स रहेछ । यसैले हामीले बजारको मागलाई ख्याल गरेर हस्पिटल म्यानेजमेन्टलाई प्राथमिकता दिएर कोर्स बनाउन लगाएर पढाउन थालेका हौँ ।’

डा. सुवासश्री पोखरेल, उपकुलपति, मनमोहन प्राविधिक विश्वविद्यालय
आवश्यकता देखेरै विदेशी, स्वदेशी विज्ञहरूबाट कलेजले हस्पिटल म्यानेजमेन्टको कोर्स तयार गरेको हो । पोखरामा स्वास्थ्य नीति र कानुनबारे मात्रै हेल्थकेयर कोर्स रहेछ । यसैले हामीले बजारको मागलाई ख्याल गरेर हस्पिटल म्यानेजमेन्टलाई प्राथमिकता दिएर कोर्स बनाउन लगाएर पढाउन थालेका हौँ ।
 

सुझावित समाचार