चितवन राइनोजलाई ८ विकेटले पराजित गर्दै सिद्धार्थ बैंक दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पाँचौँ स्थान प्राप्त गरेको छ।
शनिबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा पोखराले १९.४ ओभरमा २ विकेट गुमाउँदै जित निकाल्यो ।
पोखराले सातमध्ये तीन खेलमा जित निकाल्दै ६ अंक जोडेको छ । टोली पाँचौँ स्थानमा रह्यो । चितवन भने ७ मध्ये पाँच खेलमा पराजित भयो । चार अंक जोडेको टोली छैटौँ स्थानमा छ। दुवै टोली यसअघि नै प्लेअफमा पुग्न सकेका थिएनन्।
पोखराको जितमा एडाम रोसिंघनले सर्वाधिक ६५ रन बनाए। ४८ बलमा उनले ४ चौका र ५ छक्का हिकाएका थिए। उनलाई रिजन ढकालले कुशल मल्लबाट क्याच गराएका थिए। ३२ वर्षीय इंग्लिस खेलाडीले कर्णालीविरुद्ध शतक बनाएका थिए। यसअघि लुम्बिनीविरुद्ध ८१ रन बनाएका हुन्। उनी एनपिएलमा कुल ३ सय २३ रन बनाउने पहिलो खेलाडी हुन्।
पहिलोपटक अवसर पाएका ओपनर अर्जुन कुमालले ५३ बलमा अविजित ४३ रन बनाए। उनले २ चौका र एक छक्का हिर्काएका थिए।
पहिलो विकेटको लागि अर्जुन र एडामबिच एक सय रनको साझेदारी भएको थियो। दुई खेलाडीले १४.२ ओभरसम्म खेलेका थिए। तेस्रो क्रममा आएका कुशल भुर्तेलले ४ रन बनाएर आउट भएका थिए। चितवनका रिजन र सैफ जैबले समान एक विकेट हात पारे।
यसअघि पहिलो इनिङ्समा चितवनका लागि देव खनालले ३५, अल्पेश रामदानीले अविजित ३३, कप्तान कुशल मल्लले २३ र सैफ जेबले १७ रन बनाए। यसअघि चितवनको शीर्ष क्रम नै चल्न सकेन। ओपनर डेबिड माल ५ तथा अर्जुन साउद र तेस्रो क्रमका रवि बोपरा समान एक रन बनाएर आउट भए। चितवनले २.१ ओभरमा सात रन जोड्दा तीन विकेट गुमाएको थियो।
पोखराका लागि धनन्जय लक्षणले सर्वाधिक तीन तथा विपिन खत्री, किरण ठगुन्ना र रोहित चन्दले समान एक विकेट लिएका थिए।
आज नै भएको खेलमा विराटनगरले सुदूरपश्चिमलाई हराउँदै अपराजित यात्रामा पूर्णविराम लगाएको छ। विराटनगर र सुदूरपश्चिमसँगै काठमाडौं र लुम्बिनी प्लेअफमा पुगेका छन्।
आइतबार हुने एक मात्रै खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ।