नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई भुवनेश्वर प्रविधि पुरस्कार–०८२ बाट पुरस्कृत गरेको छ। नास्टको ४३औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहको अवसरमा शनिबार आयोजित कार्यक्रममा नगरपालिकालाई पुरस्कृत गरेको हो।
बाँसजन्य स्रोतको संरक्षण, प्रवर्द्धन तथा प्रयोगमार्फत स्थानीयस्तरमा बाँसलाई भवन निर्माण, हस्तकला, व्यावसायिक उत्पादन तथा वातावरणमैत्री समाधानका रूपमा रूपान्तरणसँगै बाँससम्बन्धी सिप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रोत्साहनमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको नास्टले जनाएको छ। नगरपालिकाले प्राप्त गरेको भुवनेश्वर प्रविधि पुरस्कार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानबाट निर्माण कार्यमा किफायत हुने प्रविधि विकास गर्ने यस्तो प्रविधिको अनुसन्धान तथा यस्तो कार्य क्षेत्रमा प्रयोग गर्न उच्च योगदान दिन सफल अनुसन्धानकर्ता वा संस्थाको प्रोत्साहन तथा सम्मानका लागि स्थापना गरिएको पुरस्कार हो।
कृषि विकास, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन, जैविक विविधता, शिक्षा, सेवा प्रवाह, सुशासन, पारदर्शिता, प्राविधिक सुविधा तथा समग्र विकासका विभिन्न सूचकमा सञ्चालन गरेको मूल्यांकनमा देशका ७५३ वटा स्थानीयमध्ये यो नगरपालिका सबैभन्दा उत्कृष्ट भएको नगरपालिकामा प्राप्त नास्टको पत्रमा जनाइएको छ। नास्टका कुलपति एवं नेपाल सरकारका प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा १२ मंसिरमा बसेको नास्टको ४९औँ प्राज्ञसभाले यो नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार–०८२ बाट पुरस्कृत गर्ने निर्णय गरेको हो।
नास्टले प्रदान गरेको २५ हजार राशिको पुरस्कार नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नास्टका सहकुलपति महावीर पुनको हातबाट ललितपुरस्थित खुमलटारमा आयोजित कार्यक्रममा ग्रहण गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।