इरानको राजधानी तेहरानमा अहिले पानीको चरम अभाव देखिएको छ । यस परिप्रेक्ष्यमा देशका राष्ट्रपति मसुद पेजेस्कियानले केहीअघि राजधानीवासीलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने हुन सक्ने बताए । उनको टिप्पणीले तेहरानवासीमा त्रास फैलायो । तथापि, इरानी अधिकारीहरूले देशको राजधानी सार्ने कुरा गरेको यो पहिलोपटक भने होइन ।
सन् १९९० को मन्जिल–रुडबार भूकम्पपछि र फेरि सन् २००३ मा बाम भूकम्पपछि पनि राजधानी अन्यत्र सार्ने कुरा उठेको थियो । भूकम्पले दसौँ हजारको ज्यान लिएपछि शीर्ष सरकारी अधिकारीहरूले राजधानी कम भूकम्पीय जोखिम रहेको भागमा सार्नुपर्ने तर्क गरेका थिए । तर, समयसँगै प्रकोपको घाउ बिर्सिँदै गएसँगै त्यो विचार त्यसै हराएर गयो ।
अहिले चरम पानीको संकट देखिएपछि फेरि राजधानी सार्ने बहस सुरु भएको छ । तर, तेहरानको समस्या पानी अभाव र भूकम्पीय जोखिम मात्र होइन, यो सहरले वर्षौँदेखि विषाक्त वायु प्रदूषणको समस्या भोग्दै आएको छ । कहिलेकाहीँ प्रदूषणको स्तर यति उच्च दरमा पुग्छ कि सारा सहर नै ठप्प हुन्छ । तर, कारण जे भए पनि तेहरानवासीलाई अन्यत्र सार्ने कुरा (हाल चर्चामा बढी मकरन क्षेत्र रहेको छ ।) समाधान कम, स्वैरकल्पना बढी हो ।
विशाल रकम खर्च हुने राजधानी स्थानान्तरणको पछि लाग्नुको सट्टा इरानले तेहरानको विद्यमान समस्याको सामनामा ध्यान केन्द्रित गर्नु बुद्धिमानी हुन्छ । अहिले तेहरानमा जेजति समस्या देखिएको छ, त्यो दसकौँको बेवास्ता, खराब शासन र पानीको गलत व्यवस्थापनको परिणाम हो । पानीको अभाव र खस्कँदो आपूर्ति सञ्जालले तेहरानलाई अप्ठ्यारोमा पारेको यथार्थ अहिले कोहीबाट लुकेको छैन । जमिनमुनिको पानीको चरम दोहनले जमिन भासिन थालेकाले सहरको संरचना नै जोखिमपूर्ण बनेको छ । तेहरान भूकम्पीय क्षेत्रमाथि पनि बसेको छ । ठुला भूकम्प यसै पनि विनाशकारी हुन्छन् । तर, समस्याको मूल कारण इरानको वर्तमान धार्मिक शासन हो । इरानमा पानीको जिम्मेवारी दसकौँदेखि रिभोलुस्नरी गार्ड्स र शासकनजिकका ठेकेदारहरूको हातमा सुम्पिएको छ । उनीहरू पानी वितरणमा भन्दा पूर्वाधार निर्माणकेन्द्रित छन् । ठुलो पैसा चलखेल गर्न पाइने भएकाले ती पानी माफिया अन्धाधुन्ध बाँध निर्माण र नदी स्थानान्तरणमा संलग्न छन् । र, यस क्रममा विज्ञान मात्र होइन, पारिस्थितिक सीमिततासमेत बेवास्तामा पर्ने गरेको छ ।
तेहरानको अहिलेको समस्याको सुरुवात खोज्न सहरका पूर्वमेयर घोलाम हुसेन कार्बासची (१९९०–९८) सम्म पुग्नुपर्छ । उनको कार्यकालमा राजधानीको क्षेत्रफल विनाअनुसन्धान व्यापक विस्तार गरियो । बढ्दो सहरलाई आवश्यक पर्ने पिउनेपानी, जलभण्डार, स्वच्छ हावा, स्थिर जमिन, व भूकम्पीय सुरक्षाजस्ता कुनै कुरालाई पनि ख्याल गरिएन ।
उसो त इरानमा राजधानी सार्ने कुरा सन् १९७९ को इस्लामिक क्रान्तिअघि पनि कहिलेकाहीँ उठ्ने गथ्र्यो । तर, यो बहस कहिल्यै पनि वास्तविक नीतिगत बहसमा परिणत भएन । क्रान्तिपछि हरेकपटक तेहरानलाई भूकम्पले हल्लाएपछि बहस सतहमा आउँछ । सन् १९८० को दशकमै अर्मेनियाली जातिका इरानी भूगर्भशास्त्री म्यानुएल बर्बेरियनले तेहरानमाथिको भूकम्पीय खतरा एकदम वास्तविक रहेको तथ्य सार्वजनिक गरेका थिए । बर्बेरियनको भूगर्भीय सर्वेक्षणको निष्कर्षले सहरको ठुलो भाग गम्भीर भूकम्पीय जोखिममा रहेकाले तिनमा संरचना निर्माण गर्नु नै गलत भएको देखायो । तर, उनको यस खोजलाई राजनीतिज्ञले महत्व दिएनन् ।
सन् १९८९ मा अली अकबर हासेमी रफसन्जानी राष्ट्रपति चुनिए । भर्खरै विनाशकारी इरान–इराक युद्ध (१९८०–८८) समाप्त भएको थियो । त्यस उत्साह र शान्तिको माहोलमा रफसन्जानीले ‘पुनर्निर्माण’को युग सुरु भएको घोषणा गरे । निर्माणको कामलाई जोड दिइएकाले शासनसत्तामा स्पष्ट रूपमा बढी प्राविधिक नोकरशाहीहरू हाबी भए । त्यही अवधिमा उदाएका नेता थिए कार्बास्ची, जो मेयर हुँदा तेहरानमा ठुला स्तरका निर्माण परियोजनाले व्यापकता पायो । बर्बेरियनलगायत विज्ञहरूले रफसन्जानीलाई सहर विस्तारको जोखिमको बारेमा चेतावनी नदिएको होइन । तर, चेतावनीका बाबजुद तेहरानको विस्तार जारी रह्यो ।
सन् १९८० को दशकमा, इरानले भूकम्पप्रतिरोधी पूर्वाधार निर्माणका लागि भवन निर्माण संहिता अपनाएको थियो । तर, कार्बास्ची र उनीपछि आएका मेयरले यस संहिताको पूरै बेवास्ता गरे । परिणामस्वरूप पुराना भवनको प्रबलीकरणको विषय मात्र ओझेलमा परेन नयाँ बनेका भवन ठूलो भूकम्पको सामना गर्न सक्ने क्षमताविनै बनाइए । सहरको विस्तारसँगै यसको पानीको आवश्यकता पूरा गर्न गहिरो इनार खन्ने र नदी स्थानान्तरण गर्ने कामलाई प्रधानता दिइयो । कारबास्चीपछि जो–जति मेयर आए तिनीहरूले पहिलेकै कुरालाई निरन्तरता दिए ।
वर्षौँसम्म जमिनमुनिको पानीको अत्यधिक दोहनका कारण तेहरानमुनिको जमिन खुम्चिन थाल्यो । जमिन भासिने क्रम बढ्यो, पाइप फुट्न थाले, चुहावट बढ्यो । हेर्दाहेर्दै भवन धसिन थाले । जमिन धराशायी हुन थाले ।
खासमा अन्य समाधानमा जोड नदिई राजधानी सार्ने विचार मात्र उठाइरहनुपछाडि आर्थिक स्वार्थले काम गरिरहेको छ । राजधानी स्थानान्तरणको बहस मात्रै सुरु हुँदा पनि सत्तानजिकका ठेकेदारहरूको वृत्तलाई फाइदा हुन्छ । यसमा पानी माफियादेखि रिभोलुस्नरी गार्डस्को खातम अल–अन्बिया निर्माण मुख्यालसम्म जोडिन्छन् । गत वर्ष, तत्कालीन आन्तरिकमन्त्री अहमद वाहिदीले राजधानी स्थानान्तरणमा झन्डै १०० अर्ब डलर खर्च हुने बताएका थिए । यसमा मुख्य काम सुरु हुनुअघि गरिनेः सम्भाव्यता अध्ययन, क्षेत्र छनोट, मास्टर प्लान, भूकम्पीय र पानी सर्वेक्षण, नयाँ राजमार्ग तथा रेल लिकहरूको खाका अध्ययन, बिजुली र पानी करिडोर, आवास क्षेत्रलगायत अनन्त परामर्शका काम आउँछन् ।
यस्तोमा राजधानी सार्ने वास्तविक योजना नै नभए पनि यसअन्तर्गतका उपपरियोजनामा खातम अल अन्विया र यससम्बद्ध कम्पनीमा ठुलो रकम प्रवाहित हुने गर्छ । अब राजधानी सार्ने सम्भाव्य अध्ययनमै विभिन्न ‘चरण’ वर्षौँसम्म वा दसकौँसम्म मेगा ठेक्कापट्टा चलिरहेको हुन्छ ।
वास्तविकता भने तेहरान र यसको वरपरका उपनगरहरूबाट एक करोड ४० लाखभन्दा बढी मानिसलाई स्थानान्तरण गर्नु व्यावहारिक रूपमा सम्भव छैन । फेरि इरानका अन्य कुनै पनि क्षेत्रसँग यति धेरै नवआगन्तुकहरूलाई आवास, रोजगारी, सेवा, वा पानी उपलब्ध गराउने न त क्षमता छ । खासमा समाधान तेहरान खाली गर्नु वा अर्को राजधानी खोज्नु नभई यस सहरको पानीको अभाव सम्बोधन गर्नु हो । सुरुवात पानीको माग घटाउनबाट गर्नुपर्ने हुन्छ । पानीका पाइपमा बगे्रल्ती रहेका चुहावट मर्मतलाई पनि प्राथमिकता दिनुपर्छ । त्यस्तै, सहरले गम्भीरतापूर्वक भूमिगत पानी पुनर्भरणमा काम गर्नुपर्ने हुन्छ ।
भूकम्पको क्षति सीमित गर्न, इरानी नेताहरूले भूकम्पीय रेखावरपर निर्माण रोक्नुपर्छ । पुराना र असुरक्षित भवन अझ विशेष रूपमा अस्पताल, पुलको सबलीकरण सुरु गरिहाल्नुपर्छ । भूकम्प रोक्न नसकिने भएकाले त्यसको तयारीका लागि नियमित पूर्वतयारी गर्ने, निकासी मार्ग खोल्ने र विपत्पछि पानी तथा बिजुली आपूर्ति नरोकिने व्यवस्था सुनिश्चित गर्नुपर्छ । यसले सहर ठुलो भूकम्पछि पनि ठप्प हुन दिँदैन । यी सबै काम कागजमा त गर्न सकिन्छ, तर इरानको अहिलेको शक्ति संरचनाले यसको कार्यान्वयन लगभग असम्भव बनाएको छ ।
(इरानी मूलका अमेरिकी पत्रकार निक पानीसम्बन्धी समस्याका विश्लेषक हुन् । अलिरेजा इरान र मध्यपूर्वका एक स्वतन्त्र विद्वान् हुन् । ‘फरेन पोलिसी’बाट श्रवण उप्रेतीको अनुवाद ।)