वृद्धवृद्धाले सामाजिक सद्भावलाई पुर्‍याउँदैनन् हानि

शुक्रबार, २० मंसिर, २०८२
डिजिटल संस्करण
  • सामाजिक मान्यता पालना गरेर, विनम्र तथा धैर्यवान् भएर र सामाजिक सद्भाव कायम राख्न मद्दत गरेर वृद्धवृद्धा सबैका आदर्श बन्न सक्छन्

लगभग हरेक दिन सार्वजनिक रूपमा वृद्धवृद्धाले दुर्व्यवहार गरेको रिपोर्ट विवरण सार्वजनिक हुन्छन् । त्यस्ता रिपोर्टमा भनिएको सुनिन्छ कि वृद्धवृद्धाले युवालाई सवारीसाधनमा आफू बसेका सिट उनीहरूलाई दिन बाध्य पार्नेदेखि उनीहरूका काम पनि गर्न लगाउँछन् । कुनै अवस्थामा युवाले उनीहरूका माग पूरा नगर्दा ती वृद्धवृद्धा हिंसात्मक बन्छन् । वृद्धवृद्धाहरू सडकमा ठुलो समूहमा हिँड्ने, दमकल र एम्बुलेन्सलाई पनि बाटो छोड्न नमान्नेजस्ता विवरण केही रिपोर्टमा उल्लेख गरिएको पनि पाइन्छ ।

वृद्धवृद्धाले राति अबेरसम्म चर्को संगीतसँगै सार्वजनिक स्थानमा नाचको अभ्यास गर्ने र अरूलाई बाधा पुर्याउने सामान्य घटनाजस्तो हुने गरेका विवरण पनि आएका छन् । केही मिडिया ‘आउटलेट’हरूले कसरी वृद्धवृद्धाहरू फूलसँग ‘सुन्दर तस्बिर’ खिच्न वा फलफूल टिप्न रुखमा चढ्छन् र कसरी उनीहरू गर्मीमा किनमेलको सट्टा एयर कन्डिसनको आनन्द लिन सुपरमार्केटमा ‘आक्रमण र कब्जा’ गर्छन् भन्ने कुरालाई पनि प्रकाश पारेका छन् ।

क्षतिपूर्ति पाउन सडकमा सवारीसाधनले ठक्कर दिएको नाटक गर्ने वृद्धवृद्धाको विवरण पनि सार्वजनिक भएको छ । र, कुनै कार वा बाइकचालकले उनीहरूलाई सहयोग गर्दा ठक्कर दिएको आरोप लाग्ने जोखिम हुन्छ पनि भनिएको पाइन्छ । पछिल्ला वर्षमा यति धेरै नाटकीय दुर्घटना भएका छन् कि नयाँ चिनियाँ शब्द ‘पेङ्ची’ (चीनमा ठगी) शब्दकोशमै देखिन थालेको छ ।

चिनियाँ समाजलाई पेङ्चीले पुर्याउन सक्ने क्षति धेरै विनाशकारी हुन सक्छ । जब कसैलाई सडकमा लडिरहेको र पीडाले संघर्ष गरिरहेको हामीले देख्छौँ, हाम्रो तत्कालको प्रतिक्रिया भनेको त्यो व्यक्तिलाई सहयोग गर्नु नै हो । तर, रिपोर्टअनुसार ठगीका घटनाको बढ्दो संख्यालाई ध्यानमा राख्दै मानिसहरू अब वास्तविक दुर्घटनापीडिताई पनि मद्दत गर्न हिचकिचाउन थालेका छन् । वृद्धवृद्धाबाट हुने अपमानजनक व्यवहारबारे यति धेरै रिपोर्ट आएका छन् कि मानिसले सहयोग गर्दैनन् बरु सोध्छन्, ‘के वृद्धहरू ठग बनेका छन् वा ठगहरू सबै बूढा भइसकेका हुन् ?’

वृद्धवृद्धाको दुर्व्यवहारको घटनामा भएको वृद्धिबारे मैले भने कुनै तथ्यांक पाएको छैन । तर, मलाई विश्वास छ कि देशभित्र र बाहिर सार्वजनिक रूपमा दुर्व्यवहार गर्ने केही न केही व्यक्ति अवश्य छन् । हामी यस्ता घटनाबारे बारम्बार पढ्छौँ पनि, किनकि मिडिया (विशेष गरी सामाजिक सञ्जाल)ले यस्ता घटनालाई बढ्दो रूपमा प्रकाश पारिरहेकै हुन्छन् र धेरै पाठकलाई आकर्षित गर्न विभिन्न उमेर समूहबिचको द्वन्द्वलाई बढाइचढाइसमेत गरेको पाइन्छ । सार्वजनिक स्थानमा वृद्धवृद्धाले दुर्व्यवहार गरेको रिपोर्ट सुन्दा हामी छक्क पर्छौँ किनभने यस्ता घटनाको संख्यामा तीव्र वृद्धि भएको छैन, बरु त्यस्ता रिपोर्टमा हाम्रो सहज पहुँच छ । त्यसकारण, हामी त्यस्ता रिपोर्टबाट बहकिनु हुँदैन र खराब, नराम्रो आचरण भएका वृद्ध व्यक्तिहरूले सामाजिक सद्भावलाई हानि पुर्याइरहेका छन् भन्ने विश्वास गरिहाल्नु हुँदैन । 

नियमित रूपमा बाहिर निस्कने वृद्धवृद्धा, जसमा पार्क जाने वा केही व्यायाम गर्न फुटपाथमा हिँड्नेहरू पनि छन् । उनीहरू सामान्यतया ६० देखि ८० वर्ष उमेरका हुन्छन् । तीमध्ये धेरैजसो बाल्यकालमा भोकमरीको त्रास अनुभव गरेका पुस्ताका जीवित प्रतिनिधि हुन् । 

युवावस्थामा तिनलाई राम्रो जीविकोपार्जनका लागि आफ्नो तथाकथित भाग्यविरुद्ध लड्न सिकाइएको थियो । चीनको द्रुत गतिमा भइरहेको सामाजिक–आर्थिक विकासका चालकका रूपमा ती सम्मानका हकदार छन् । तिनीहरू लगनशील, मिहिनेती, गर्व गर्ने र कहिलेकाहीँ आक्रामक मानिसको समूहमा पर्छन् ।

जब तीमध्ये कसैले केही अस्वाभाविक व्यवहार देखाउँछन्, यसले बहस र शारीरिक हिंसा पनि निम्त्याउँछ । जब यस्ता द्वन्द्वबारे रिपोर्ट गरिन्छ, भद्र वृद्धवृद्धा पनि निसानामा पर्छन् । साथसाथै, हामीजस्तो राम्रो व्यवहार गर्ने वृद्धले पनि पीडा भोग्छन्, किनभने हामी महसुस गर्न सक्छौँ कि आजकाल युवाहरू समस्याबाट बच्न हामीबाट दूरी कायम राख्छन् । खराब व्यवहार गर्ने वृद्ध व्यक्तिहरूसँग कसरी व्यवहार गर्ने भन्नेबारे युवामाझ अनलाइन छलफल भइरहेका हुन्छन् । त्यस्ता छलफलमा वृद्धवृद्धाबाट टाढै बस्ने र उनीहरूसँगका कुनै पनि बहसबाट बच्ने सुझाव दिइएको पाइन्छ । यस्ता छलफलबारे मेरो धारणा यो हो कि वृद्धवृद्धालाई सम्मान गर्न सिकाइएका युवाहरू कथित खराब व्यवहार गर्ने वृद्धवृद्धाको सामना गर्न असमर्थ छन् ।

यस विषयमा वृद्धवृद्धाद्वारा अनलाइन छलफल विरलै हुन्छन्– किनभने धेरैजसो वृद्धवृद्धा या त सामाजिक सञ्जालबाट टाढै रहन्छन् वा त्यति प्रविधि जानकार हुँदैनन् । एक ज्येष्ठ नागरिकका रूपमा म अरूसँग दुर्व्यवहार गर्ने जो–कोहीको पनि आलोचना गर्छु, चाहे ती वृद्धवृद्धा हुन् वा युवा । मलाई विश्वास छ कि वृद्धवृद्धाले सम्मानित हुन चाहन्छन् भने उनीहरूले उचित पनि व्यवहार गर्नुपर्छ । सामाजिक मान्यता पालना गरेर, विनम्र तथा धैर्यवान भएर र सामाजिक सद्भाव कायम राख्न मद्दत गरेर उनीहरूले आफ्ना छोराछोरी र नातिनातिनाका लागि आदर्श बन्नुपर्छ ।

(लेखक बिङ चाइना डेलीका पूर्वउपसम्पादक हुन्)
– चाइना डेलीबाट

सुझावित समाचार