एनपिएल : जनकपुर र लुम्बिनी दुवैलाई महत्त्वपूर्ण खेल

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यी दुवै टोलीले ‘गर या मर’को स्थितिमा खेल्नेछन्

शुक्रबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

साबिक विजेता जनकपुर बोल्ट्सले शुक्रबार लुम्बिनी लायन्सविरुद्ध प्रतिस्पर्धा गर्दै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यी दुवै टोलीले ‘गर या मर’को स्थितिमा खेल्नेछन् । जितले लुम्बिनीको प्लेअफ स्थान पक्का हुनेछ । हारले जनकपुर प्लेअफ दौडबाट बाहिरिनेछ । 

लुम्बिनीको तुलनामा जनकपुरलाई भने यो खेल अति नै महत्वपूर्ण छ । जनकपुरले जितबाहेक अन्य नतिजाको कल्पना गरेको छैन । प्लेअफमा पुग्न लुम्बिनीलाई जित आवश्यक छ । लुम्बिनीले ६ खेलमा समान तीन जित र हार निकाली ६ अंक जोडेको छ । जनकपुरले पाँच खेलबाट दुई अंक बुटलेको छ । जनकपुरले पछिल्लो खेलमा चितवनमाथि ६ विकेटको सानदार जित निकालेको थियो । लगातार चार खेल गुमाएका कारण साबिक विजेता जनकपुर कमजोर अवस्थामा रहेको हो । 

लुम्बिनी पछिल्लो दुई खेलमा फर्ममा छ । उसले पोखरा एभेन्जसर्समाथि तीन विकेट र विराटनगर किंग्सलाई पाँच विकेटले पाखा लगाएको थियो । राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले कर्णाली, काठमाडौं र सुदूरपश्चिमसँगको खेल गुमाएको थियो ।  उसले आफ्नो पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको थियो । त्यसपछिका तीन खेलमा लुम्बिनीले आफ्नो लय गुमायो । जनकपुर भने सुरुदेखि असन्तुलित टोलीका रूपमा रह्यो । स्वदेशी तथा विदेशी खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । जनकपुरको ब्याटिङमा सुधार आए पनि बलिङ भने कमजोर नै छ । 

त्रिवि मैदानमा अहिले स्पिनर हावी भइरहेका छन् । विराटनगरविरुद्ध शेर मल्लले कसिलो बलिङ गर्दै तीन विकेट लिएका थिए । उनले जनकपुरको ब्याटिङमा आफ्नो अफ ब्रेक बलिङले समस्या बनाउन सक्छन् । ब्याटिङमा चम्किरहेका डार्सी सर्टले जनकपुरको कमजोर बलिङको फाइदा लिन सक्छन् । जनकपुरले उनलाई सुरुमै रोक्नुपर्ने हुन्छ । स्पिनर ललितनारायण राजवंशी जनकपुरका अनुभवी स्पिनर हुन् । उनले लुम्बिनीका ब्याट्सम्यानलाई रन बनाउन रोक्नुपर्ने जिम्मेवारी वहन गर्नुपर्छ । 

एनपिएलको पहिलो संस्करणमा जनकपुरले लुम्बिनीमाथि रोमाञ्चक १ रनको जित निकालेको थियो । पहिलो ब्याटिङ गरेको जनकपुरले २० ओभरमा नौ विकेट गुमाएर १३६ रन बनायो । लुम्बिनीले २० ओभरमा आठ विकेटको क्षतिमा १३५ रन जोड्दा १ रनले हारको सामना गर्यो । त्यसवेला जनकपुरका लागि हर्ष ठाकरले २३ रन खर्चेर पाँच विकेट लिएका थिए ।

प्लेयर्स टु वाच

अनिल साह (जनकपुर)
जनकपुरले पहिलो संस्करणको उपाधि जित्दा अनिलले कप्तानी गरेका थिए । चालू सिजनमा उनको कप्तानीमा जनकपुरले लगातार खेल गुमायो । त्यसपछि उनी ड्रप मात्र भएनन्, कप्तानीको जिम्मेवारी पनि गुमाए । चितवन राइनोजसँगको प्रतिस्पर्धामा अनिल टोलीमा फर्किए । कमब्याक खेलमा उनले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनकै अलराउन्ड प्रदर्शनका कारण जनकपुरले पाँचौँ खेलमा जित निकाल्यो । चितवनलाई हराउँदा अनिलले ६१ रन बनाउनुका साथ एक विकेट हात पारेका थिए । लुम्बिनीसँगको खेलमा उनीबाट यस्तै प्रदर्शनको अपेक्षा राखिएको छ । 

आसिफ शेख (जनकपुर)
जनकपुरले विकेटपछाडि सबैभन्दा विश्वास गरेका खेलाडी आसिफ हुन् । सुरुका दुई खेलमा उनले विकेटकिपिङ गरेनन् । काठमाडौं र विराटनगरविरुद्ध उनले ब्याटिङमा आफूलाई केन्द्रित बनाएका थिए । पोखरा, सुदूरपश्चिम र चितवनसँगको प्रतिस्पर्धामा आसिफले आफ्नो नियमित विकेटकिपिङको जिम्मेवारी वहन गरे । ब्याटिङमा उनले उद्घाटन खेलमा काठमाडौंविरुद्ध ५४ रनको योगदान दिएका थिए । सुदूरपश्चिम र पोखराविरुद्ध उनले रन बनाउन सकेनन् । विकेटपछाडि आसिफले दुई क्याच लिएका छन् । लुम्बिनीविरुद्ध उनले विकेटकिपिङका साथै उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्नुपर्ने हुन्छ । 

दिलीप नाथ (लुम्बिनी)
लुम्बिनीलाई पावर प्लेमा उत्कृष्ट सुरुवात दिलाउने जिम्मेवारी ओपनर ब्याट्सम्यान दिलीपको काँधमा छ । उनी पछिल्ला दुई खेलमा चल्न सकेनन् । उनी ओपनिङमा नचलेको खेलमा लुम्बिनीले जित हात पारेको छ । दिलीपले काठमाडौं र सुदूरपश्चिमविरुद्ध भने औसत प्रदर्शन गरेका थिए । उनले सुदूरपश्चिमसँगको खेलमा ३१ तथा काठमाडौंविरुद्ध २५ रन बटुलेका थिए । टोलीलाई आवश्यक भएको अवस्थामा उनी विकेटकिपिङ पनि गर्न सक्छन् । सुदूरपश्चिम र काठमाडौंविरुद्ध उनले विकेटकिपिङ गरेका थिए । ब्याटिङ र विकेटकिपिङ गर्न सक्ने क्षमता भएका दिलीप प्रभाव पार्ने खेलाडीमा रहन सक्छन् । 

रोहित पौडेल (लुम्बिनी)
लुम्बिनीले विराटनगरलाई पाखा लगाएको खेलमा कप्तान रोहित शून्य रनमा आउट भएका थिए । चालू एनपिएलमा उनी यही एक मात्र खेलमा डकआउट भएका हुन् । यसबाहेक अन्य खेलमा उनले ब्याटिङमा लगभग एकनासको प्रदर्शन गरेका थिए । विराटनगरसँग बाहेक अन्य खेलको औसत हेर्दा उनले ३० रनभन्दा माथिको योगदान गरेका थिए । लुम्बिनीको मध्यक्रमलाई सम्हालिरहेका रोहितले साझेदारीमा साथीहरूलाई गतिलो साथ दिइरहेका छन् । लुम्बिनीले ब्याटिङ अर्डरमा स्वदेशी खेलाडीमा धेरै विश्वास गरेका खेलाडी उनी हुन् । जनकपुरको कमजोर बलिङमा उनले आफ्नो पुरानो फर्म भेटाउने प्रयास गर्नेछन् ।

See More On

सुझावित समाचार