विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारसहित कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग गर्नेहरूले त्यसलाई सामाजिक रूपान्तरणका लागि उपयोग गर्न जोड दिइएको छ । आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ सिराहाको समन्वयमा बिहीबार लहानमा आयोजित एआई प्रयोगसम्बन्धी एकदिने तालिममा मधेश प्रदेश सभा सदस्य सञ्जयकुमार यादवले सामाजिक सञ्जाल र एआईले समाजमा ठुलो प्रभाव पारिरहेको उल्लेख गरे ।
पूर्वमन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य यादवले पछिल्लो समय विश्वभर चुनावमा एआई र सामाजिक सञ्जाल महत्त्वपूर्ण कारकका रूपमा उभिँदै गएको चर्चा गर्दै गलत सूचनाले आमनागरिकलाई प्रभावित पार्न सक्ने भएकाले सचेत हुनुपर्ने औँल्याए । ‘एआई र सामाजिक सञ्जाल सकारात्मक रूपमा उपयोग गरिए समाजलाई दिशानिर्देश गर्न सक्छ, तर अफवाह फैलाउने र भ्रमपूर्ण सूचनाले समाजलाई दिग्भ्रमित पार्न सक्ने खतरा पनि उत्तिकै ठुलो छ,’ उनले भने ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत जर्घामगरले सामाजिक सञ्जाल र एआईको बढ्दो प्रयोगका कारण वास्तविक समाचारको खडेरीजस्तो स्थिति सिर्जना भएको बताए । यसले व्यावसायिक पत्रकारितामै चुनौती थपेको उल्लखे गर्दै उनले नयाँ पुस्ता प्रविधिमा पोख्त भए पनि कन्टेन्ट सिर्जनामा कमजोरी रहेको औँल्याए । युट्युबरहरूको गतिविधिसम्बन्धी चासो बढ्दै गएको उल्लेख गर्दै उनले महासंघले प्रेस काउन्सिल, सरकार तथा सरोकारवालासँग समन्वय गरेर नियमन निर्देशिका तयार पार्ने काम भइरहेको जानकारी दिए ।
नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता यादवले एआई उपकरणहरू सहयोगी भए पनि पूर्ण विश्वसनीय नहुने भन्दै यसको दुरुपयोग बढ्न सक्ने आशंका व्यक्त गरे। ‘सञ्चारकर्मीले एआईको मात्रामा होइन, सही प्रयोग र तथ्य–जाँचसम्बन्धी क्षमता बढाउनुपर्छ,’ उनले भने ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले पत्रकारहरूको समयानुकूल व्यावसायिक विकासलाई मध्यनजर गर्दै एआईसम्बन्धी तालिम चलाइएको बताए । उनका अनुसार बुधबार सप्तरीबाट गरिएको तालिम सिराहा हुँदै मधेश प्रदेशअन्तर्गतका सबै जिल्लामा गरिँदै छ। तालिममा जीवन भण्डारी र प्रकाश मैनालीले एआईका आधारभूत प्रयोग, जोखिम र अवसरका विषयमा सहजीकरण गरेका थिए ।