जेन–जी, बालेन, हर्क र कुलमानहरूले बुझ्नुपर्ने तथ्य

शुक्रबार, २० मंसिर, २०८२
डिजिटल संस्करण
  • कुनै एक मात्र पात्र देश, जनता र जेन–जी आन्दोलनले खोजेका छैनन् भन्ने यथार्थ बालेन, कुलमान र हर्कहरूले बुझ्न ढिला गर्नुहुँदैन 

नयाँ संविधानपछि नेपालले स्थिरता, सुशासन र परिणाममुखी नेतृत्व पाउने आशा गरेको थियो । तर, समयले उल्टो दिशा लियो । पुराना दलहरू आन्तरिक विवाद, भागबन्डा, शक्तिको दाउपेच र स्वार्थ–संघर्षमा जेलिँदै गए । नीतिगत निरन्तरता हरायो, सुशासन कमजोर भयो, बेथिति र भ्रष्टाचारले देशलाई थला पारिरह्यो र जनजीवन बिग्रिँदै गयो । यतिसम्म कि राजनीतिक दलहरू आफ्ना दस्ताबेज र चुनावी घोषणापत्रको मर्म र भावनालाई समेत लत्याएर सत्तास्वार्थको आत्मरतिमा रमाउन थाले । उनीहरूले आफ्नो संघर्षलाई कमाइ खाने भाँडो नै बनाए । यस्तो निरन्तर निराशाको परिवेशमा वैकल्पिक नेतृत्वको खोज स्वाभाविक बन्यो । अहिलेको जेन–जी आन्दोलनले एकपटक देशभर फेरि नयाँ ऊर्जा भरेको छ । तर, त्यसैभित्र उब्जिएका विभाजन, अविश्वास, दम्भ, व्यक्तिगत महत्वाकांक्षा अर्थात् लोकप्रियतावाद र समन्वयहीनताले त्यो उत्साह फेरि कमजोर हुने हो कि भने चिन्ता जागेको छ । पुराना दलहरूप्रति व्यापक असन्तुष्टि बढिरहेको वेला जेन–जी विद्रोह र जनताले केही विशिष्ट पात्रहरूमा आफ्नो आशा केन्द्रित गर्न थालेका छन्, ती हुन्– बालेन शाह, हर्क साम्पाङ, कुलमान घिसिङ र जेन–जी पुस्ताका उदीयमान नेताहरू । यी पात्रले पाएको जनसमर्थन कुनै व्यक्तिपूजाको परिणाम होइन, दसकौँदेखि सञ्चित भएर बसेको निराशा, राज्यको अक्षमता र जनतामा बढिरहेको ‘अब काम र परिणाम चाहिन्छ’ भन्ने मनोविज्ञानको स्वाभाविक प्रतिक्रिया हो । लोकतन्त्रका तीन दशकमा धेरै भाषण, धेरै वाचा, धेरै चुनावी घोषणा सुनिए । तर, आमजनताको जीवनमा परिवर्तन ल्याउने काम भने कहिल्यै भएन । जनताले विश्वास गरेका दलहरू आ–आफ्नै स्वार्थ र सत्ताको खेलमा जकडिँदै गए । परिणाममा नागरिकले तीन गहिरा अनुभूति गरे– पुरानो राजनीतिक संरचना विश्वसनीय छैन, कुरा होइन, काम गर्ने नेतृत्व चाहिन्छ र दलबाहिरको वैकल्पिक पात्र नै यो असफलताबिचको आशा बन्न सक्छ । तर, ती नेतृत्व र अनुहार भने आ–आफ्नै तालमा देखिएका छन् । कोही यसको जिम्मेवारी लिन तयार देखिन्नन् । 

यस्तो पृष्ठभूमिमा काठमाडौं महानगरमा बालेन शाहको उदय दसकौँदेखि जमेको काठमाडौंकेन्द्रित भागबन्डा र राजनीतिक संस्कृतिमाथिको एकप्रकारको जनप्रतिक्रिया थियो । बालेन कुनै दलको संरचना, कुनै ठुला शक्तिकेन्द्रको समर्थन वा कुनै योजनाबद्ध अभियानका उपज थिएनन्, होइनन् । उनी एक स्वतन्त्र, असामान्य शैलीमा बोल्ने, काममा सीधा प्रवेश गर्ने र परिणाम नआएसम्म नरोकिने स्वभावका पात्रका रूपमा देखिएका छन् । सडक, फोहोर व्यवस्थापन, ढल निकास, प्रशासनिक फाइलिङ, नगरप्रहरीजस्ता क्षेत्रमा देखिएका फरक नतिजाले जनतामा बालेनप्रतिको विश्वास बढाएको छ । समन्वयको शैली, कडा भाषाशैली, फेसबुक स्टाटस वा एकल निर्णय केही आलोचित भए पनि जनताले उनीभित्र देखेको लुप्त ऊर्जा, दृढता र तत्काल काम गर्ने स्वभावले उनलाई वैकल्पिक नेतृत्वको अग्रपंक्तिमा पुर्याएको छ । अहिले नेपालमा जनताले प्रक्रियाभन्दा परिणामलाई प्राथमिकता दिन थालेका छन् । र, बालेनले त्यो अपेक्षालाई ठाडै सम्बोधन गरेको महसुस गरिँदै छ । जो आजको युवा जमातमा फरक खालको प्रभाव छर्न सफल देखिएका छन् । दीर्घकालीन नभए पनि उनमा तात्कालिक आकर्षण छ । तर, यो आकर्षणको राजनीतिक जस लिने तयारीमा देखिँदैनन् उनी । अझै पनि दलबाहिरै रहने रुचिका कारण अहिलेको जेन–जी विद्रोह र जनताको उनीमाथिका अदृश्य अपेक्षा मर्ने हुन् कि भने चिन्ता थपिएको छ । एकैपटक ठुलो भाग खोज्दा अहिलेको भाग पनि गुम्ने स्थिति भोलि हुँदैन भन्न सकिन्न । जो दीर्घकालीन दुर्भाग्यको विषय बन्छ । र, त्यो पश्चात्तापबाहेक केही हुँदैन ।

हर्क साम्पाङको उदय त्यसभन्दा केही फरक तर त्यत्तिकै प्रभावशाली छ । हर्क कुनै औपचारिक राजनीतिक संस्कृतिका उत्पादन होइनन् । उनी धारा बनाउने ठाउँमा, खोलानालामा, खेतमा, सडकमा, धुलो माटोमा खेल्दै र जनताकै बिचमा उभिँदै नेता बन्न सफल देखिएका छन् । बोली कहिले रुखो, कहिले खरो, कहिले जनजातीय संस्कृतिको छाया बोकेको, पहिरन सरल, व्यवहार सीधा र काम गर्ने शैली आममानिसकै जस्तो श्रमसंगीतले भरिएको छ । यसले उनलाई जनताले तुरुन्तै काम गर्ने नेताका रूपमा स्विकारेका छन् । कानुनी प्रक्रियाका कमजोरी, उत्ताउलो निर्णय, प्रशासनसँगको निरन्तर टकराव आदि चुनौतीका बाबजुद जनतामा उनको लोकप्रियतामा कमी आएको छैन । किनकि जनताले उनीभित्र समस्याको ठाउँमा पुगेर उभिने साहस देखेका छन् । प्रत्यक्ष काम गर्ने हात र जिम्मेवारी लिन तयार हुने प्रत्यक्ष चरित्र देखेका छन् । तर धेरै बोल्ने, लेख्ने प्रवृत्तिका कारण उनले आफ्नो महŒव खस्काउँदै लगेका छन् । 

कुलमान घिसिङको नेतृत्व भने भिन्न प्रकृतिको छ । उनी राजनीतिक नेता होइनन्, तर जनताको विश्वास राजनीतिक नेताहरूभन्दा पनि धेरै प्राप्त गर्न सफल छन् पछिल्लो समय । कर्मचारी पृष्ठभूमिबाट उदाएका घिसिङले लोडसेडिङ अन्त्य गरेर देशका हरेक घरपरिवारको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याए । उनले भाषण होइन, कामले आफूलाई साबित गरेका छन् । उनले व्यक्तित्वले होइन, इमानदारी र प्राविधिक दक्षताले पनि नेतृत्वको शक्ति निर्माण गर्छ भन्ने प्रमाणित गरेका छन् । उनले जनतालाई सन्देश दिए कि देशलाई सुसञ्चालन गर्न दृष्टि, योजना र कार्यान्वयनको संयोजन अपरिहार्य हुन्छ । यही कारण कुलमान आज पनि देश चलाउन सक्षम, योग्य र विश्वासिलो नेतृत्वको प्रतीक बनेका छन् । 

यी सबै पात्रको लोकप्रियताका पछाडि एउटै मूल कारण छ– दलको नियन्त्रणबाट स्वतन्त्र, तर सफल । नतिजामुखी कार्यशैली, जनताको वास्तविक समस्यासँग प्रत्यक्ष सम्पर्क, वैकल्पिक नेतृत्वको नयाँ मोडेल र विश्वास जगाउने दुर्लभ क्षमता तिनै नेतामा देखिन्छ । दसकौँको असफलतापछि नेपाली जनतालाई यस्तै नेतृत्व चाहिएको थियो । जो परम्परागत दलहरूले दिन सकेनन् । पछिल्लो समय जेन–जी आन्दोलनले पनि यही विश्वासलाई संस्थागत गर्दै थप बलियो बनायो । यही कारण जनतामा यस्ता पात्रले मात्र देशलाई सुरक्षित भविष्यतिर लैजान सक्छन् भन्ने बुझाइ बिस्तारै व्यापक हुँदै गएको छ । जेन–जी पुस्तासँगको भेट, सहकार्य र सहयात्राप्रति जनताको अपेक्षा पनि यही परिवेशमा बनेको हो । तर, लोकप्रियताले मात्र दीर्घकालीन राजनीतिक रूपान्तरण सम्भव हुँदैन । किनभने नेपालका राजनीतिक संरचनामा गहिरो जटिलता छ । पहिलो चुनौती संस्थागत सुधारको छ । व्यक्तित्व जति बलियो भए पनि संस्था कमजोर रहेसम्म कुनै पनि परिवर्तन दिगो हुँदैन । त्यसैले कुनै एक मात्र पात्र देश, जनता र जेन–जी आन्दोलनले खोजेका छैनन् भन्ने यथार्थ बालेन, कुलमान र हर्कहरूले बुझ्न ढिला गर्नुहुँदैन ।

दोस्रो चुनौती समन्वय र एकताको निरन्तरताको छ । बालेन, हर्क, कुलमान र जेन–जीका धेरै पहल प्रशासन, कानुनी प्रक्रिया र संरचनात्मक सीमासँग ठोक्किने गरेका कारण जटिलता पैदा भएको छ । जसले दीर्घकालमा व्यक्तिगत करिष्माभन्दा संस्थागत नवीकरण र समन्वय अपरिहार्य बनाउँछ । तेस्रो चुनौती यस्तो छ कि नेपाल दुई–चार लोकप्रिय पात्रको काँधमा टिक्ने देश होइन । यी नेतृत्वले मार्गनिर्देशन गर्न सकेनन् वा अत्यधिक महत्वाकांक्षामा अल्झिए भने जनता फेरि अर्को वैकल्पिक शक्तितिर लाग्नेछन् । कि त परम्परागत राजनीतिकै काँध थाप्न बाध्य हुनेछन् । किनकि जनता निरन्तर नयाँ नेतृत्व उत्पादन गर्ने कारखानाजस्तै हुन् । र, उनीहरूलाई रोक्न पुरानै राजनीतिक संरचनाका प्रयास धेरै टिक्दैनन् । तर, नयाँहरूले नै टिकाए र यो विषय बुझ्न सकेनन् भने स्थिति कठिन हुनेछ । यसरी यति धेरै लोकप्रियता र समर्थन हुँदाहुँदै पनि यी पात्र अबुझ कहलिनुको आधार पनि यही हो । पुराना दलका लागि उनीहरू असहज पात्र हुन् । उनीहरूबाट दलका संरचनात्मक हित र भागबन्डामाथि सीधा चुनौती पनि छ । व्यक्तित्वकेन्द्रित नेतृत्वको जोखिम, प्रक्रियासँगको टकराव, मिडियाको द्विविधा, आलोचनाको प्रस्तुति र जनताको अत्यधिक अपेक्षाले उनीहरू कहिलेकाहीँ अबुझका रूपमा प्रस्तुत हुन्छन् पनि । र, आफ्नै वर्गका सेवामा तल्लीन हुन्छन् । तर, वास्तविकता धेरै सरल छ– यिनीहरू अबुझ होइनन्, अबुझ त त्यो प्रणाली हो, जसले तीन दशकदेखि जनताले खोजिरहेको परिणाम दिन सकेको छैन ।

यसैले पछिल्लो समय बालेन, हर्क, कुलमान र जेन–जी पुस्ताप्रति जनताको झुकाव कुनै आकस्मिकता होइन । यो विगतका असफलता, भ्रष्टाचार, भ्रम र नेतृत्वहीनताले थिचिएको जनआकांक्षाको स्वाभाविकता हो । जनताले अब बुझिसकेका छन्– भाषण, महत्वाकांक्षा र आदर्शले देश चल्दैन, इमानदारी र परिणामले मात्र चल्छ । पदले होइन, राजनीतिक चरित्रले नेतृत्व प्रमाणित हुन्छ । दलले होइन, व्यक्तित्वले पनि राष्ट्र दोहोरिन सक्छ । नेपाल अहिले पुरानै राजनीतिक ढाँचामा फर्किन इच्छुक छैन । आवश्यक परे जनता फेरि अर्को बालेन, अर्को हर्क, अर्को कुलमान र अर्को जेन–जी जन्माउन तयार छन् । तर, पुरानै दल र नेताहरूको विफलता पुन: दोहोरिन दिन चाहँदैनन् । त्यो जनमनोविज्ञान बालेन, हर्क, कुलमान र जेन–जी आन्दोलन हाँक्ने पुस्ताले बुझ्न जरुरी छ ।

त्यसैले आजको स्थितिमा जनताले वैकल्पिक नेतृत्वको नयाँ शृंखला निर्माण गरिरहेका छन् । र त्यसको पहिलो रेखा स्पष्ट छ– हामीलाई इमानदार, नतिजामुखी, जनसहयोगी, साहसी र जिम्मेवार नेतृत्व चाहिन्छ । अब प्रश्न यति मात्रै हो– जनताले खोजेका उल्लेखित अनुहारहरूले जनअपेक्षा पूरा गर्छन् कि इतिहास फेरि पनि पुरानै दोहोरिन्छ ? जनताले सबैलाई सतर्कतापूर्वक हेरिरहेका छन् । र, यसपटक उनीहरू धोका खान तयार छैनन् । यसका लागि बालेन, हर्क, कुलमान र जेन–जी नेतृत्वहरू एक हुनैपर्छ । र, यसको सारथि रास्वपा पनि बनेर जनअपेक्षा पूरा गर्नैपर्छ । नभए, इतिहासले उनीहरूको अति महत्वाकांक्षा, लोकप्रियता, त्याग गर्न नसक्ने दम्भी स्वभाव, एकअर्काको अस्तित्व नस्विकार्ने हठलाई अर्को नयाँ कांग्रेस एमालेजस्तै वैकल्पिक राजनीतिकको धमिरा पात्रका रूपमा सम्झिरहनेछन् । र, उनीहरू इतिहासमा दर्ज हुनेछन् ।

सुझावित समाचार