साहवको ह्याट्रिक विकेटप्रेरित काठमाडौं प्लेअफमा, पोखरालाई अन्य टोलीको भर

बिहिबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण
साहवको ह्याट्रिक विकेटप्रेरित काठमाडौं प्लेअफमा, पोखरालाई अन्य टोलीको भर

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

भारतीय खेलाडी ऋषि धवनको अलरान्ड प्रदर्शनका बाबजुद पोखरा एभेन्जर्स दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजसँग १३ रनले पराजित भएको छ। काठमाडौंको जितमा साहव आलमले ह्याट्रिकसहित ६ विकेट लिए। उनी एनपिएल इतिहासमा ह्याट्रिक लिने पहिलो बलर बनेका छन्। लेफ्ट आर्म स्पिनरको यो प्रदर्शन एनपिएलकै उत्कृष्टमध्ये एक हो। 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६६ रनको लक्ष्य बनाएको थियो। प्रत्युत्तरमा पोखरा २० ओभरमा अल आउट हुँदा मात्र १५२ रन बनाउन सक्यो।

पोखराका लागि ऋषिले अर्धशतकीय इनिङ्स खेले। उनले बलिङतर्फ चार विकेट हात पारे। भारतीय खेलाडी दुई खेलमै सात विकेट लिन सफल भएका छन्। यसअघि पहिलो इनिङ्समा काठमाडौंका लागि इंग्लिस ब्याटर बेन चार्लस्वर्थ र भीम सार्कीले अर्धशतक बनाएका थिए। 

यो जितसँगै काठमाडौंले प्लेअफ पक्का गरेको छ। काठमाडौंले सातमध्ये पाँच खेल जितेर १० अंक जोड्यो। सुदूरपश्चिमको पनि समान १० अंक छ। काठमाडौं पछिल्लो तीन खेलमा अपराजित छ। लुम्बिनीविरुद्ध २२ रन, चितवनविरुद्ध ५३ तथा कर्णालीविरुद्ध पाँच विकेटको जित निकालेको थियो। त्यसअघि काठमाडौं विराटनगरसँग पाँच तथा सुदूरपश्चिमविरुद्ध २९ रनले पराजित भएको हो। यसअघि पहिलो खेलमा काठमाडौंले साबिक विजेता जनकपुरलाई पाँच विकेटले हराउँदै सुखद सुरुवात गरेको थियो। 

पोखरा आफ्नो छैटौँ खेलमा तेस्रो जित निकाल्दै प्लेअफ सम्भावना जीवितै राख्ने योजनामा थियो। तर, चौथो हारपछि टोली प्लेअफमा पुग्न अन्य टोलीको नतिजामा भर पर्नेछ। उसले पछिल्लो खेलमा कर्णालीलाई ३४ रनले हराएको थियो। जनकपुरविरुद्ध पनि टोली ३५ रनले विजयी भएको हो। यसअघि टोली पहिलो खेलमा विराटनगरसँग ५३ रन, सुदूरसँग १८ रन तथा लुम्बिनीविरुद्ध तीन विकेटले पराजित भएको थियो। 

पोखराका लागि दोस्रो खेल खेलिरहेका ऋषि धवनले सर्वाधिक ५४ रन बनाए। उनले ३१ बलमा तीन चौका र दुई छक्का हिर्काए। ३५ वर्षीय भारतीय अलराउन्डरले २७ बलमा तीन चौका र ६ छक्कासहित एनपिएलमा पहिलो अर्धशतक बनाएका हुन्। पहिलो खेलमा उनले कर्णालीविरुद्ध तीन विकेट लिएका थिए। काठमाडौंविरुद्ध चार विकेट लिएका उनी दुई खेलमै सात विकेट लिन सफल भएका छन्। 

धनञ्जय लक्षनले २७ बलमा ३० रन बनाए। करण केसीको बलमा मिलिन्द कुमारबाट क्याचआउट हुनुअघि धनञ्जयले समान एक चौका र छक्का प्रहार गरेका थिए। ८.३ ओभरमा चार विकेट गुमाएर ५५ रन बनाएको पोखराका लागि ऋषि र धनञ्जयले चौथो विकेटका लागि ४७ बलमा ७६ रनको साझेदारी गरेका थिए। धनञ्जय आउट हुँदा पोखराले १६.२ ओभरमा १३१ रन बनाएको थियो। 

यसअघि कर्णालीविरुद्ध १०८ रन बनाएका इंग्लिस ब्याटर एडाम रोसिघटन मात्र पाँच रन बनाएर आउट भए। अर्का ओपनर कुशल भुर्तेलले २० बलमा २२ रनको योगदान गरे। इंग्लिस चर्चित ब्याटर जासन रोय पनि १२ बलमा १६ रन बनाएर आउट भएपछि पोखरा दबाबमा आएको थियो। रोयलाई शाहव आलमले बोल्ड गरेका थिए। तृतराज दास नाै रन बनाएर आउट भए। किरण ढगुन्ना पाँच र विपिन खत्री डकआउट भए। सागर ढकालले मात्र ६ रन जोडे। 

काठमाडौंका लागि साहव आलमले सार्वधिक ६ विकेट लिए। उनले ४ ओभरमा २५ रन खर्चिए। आलम कर्णालीका विलियम बोसिस्टोपछि एकै इनिङ्समा ६ विकेट लिने दोस्रो खेलाडी बनेका छन्। कप्तान करण केसी र सन्नी पटेलले समान दुई विकेट हात पारेका थिए। 

एनपिएलको २३औँ खेलमा काठमाडौंका लागि ओपनर बेन चार्लस्वर्थले सर्वाधिक ६४ रन बनाए। २५ वर्षीय इंग्लिस खेलाडीले ५५ बलमा पाँच चौका र दुई छक्का हिर्काएका हुन्। दायाँहाते ब्याटरले एनपिएलमा पहिलो अर्धशतक बनाएका हुन्।  सम्हालिएर खेलेका उनले ४८ बलमा अर्धशतक बनाएका थिए। यसअघि कर्णालीविरुद्ध ३४ र विराटनगरविरुद्ध ३२ रन बनाएका थिए। उनलाई विपिन खत्रीले धनञ्जय लक्षनबाट क्याच गराएका हुन्। 

भीम सार्कीले २३ बलमा ५५ रन बनाए। पाँच चौका र चार छक्का हिर्काएका भीमलाई धनञ्जय लक्षनले जायस रोयको हातबाट क्याच गराएका थिए। उनको पनि एनपिएलमा पहिलो अर्धशतक हो। यसअघि भीमले १९ बलमा चार चौका र ६ छक्कासहित ५० रन बनाएका थिए। कुनै पनि नेपाली ब्याटरले कम बलमा अर्धशतक बनाएको याे पहिलोपटक हो। समग्रमा भीम एनपिएलमा कम बलमा अर्धशतक बनाउने तेस्रो खेलाडी हुन्। यसअघि जिमी निसमले १८ बलमा अर्धशतक बनाएका थिए। त्यस्तै, सुदूरपश्चिमका हरमित सिंहले पनि १८ बलमा अर्धशतक बनाएका हुन्। 

१३.३ ओभरमा पाँच विकेट गुमाउँदा ७९ रन बनाएको काठमाडौंलाई भीम र बेन मिलेर ३२ बलमा ७६ रनको बलियो साझेदारी गरेका थिए। बेन आउट हुँदा काठमाडौंले १८.५ ओभरमा ६ विकेट गुमाएर १५५ रन बनायो। यसअघि बेन र मिलिन्दले २८ बलमा ३३ रनको साझेदारी गरेका थिए। 

मिलिन्द कुमारले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। ओपनर आकाश त्रिपाठी डकआउट भए। उनलाई धनञ्जय लक्षनले बोल्ड गरेका थिए। तेस्रो नम्बर क्रिजमा आएका रसिद खानलाई पनि सात रन बनाउँदा लक्षनले सन्दीप क्षेत्रीबाट क्याच गराएका हुन्। 

कुशल भुर्तेलले पछिल्लो खेलमा चितवनविरुद्ध अर्धशतक र कर्णालीविरुद्ध ४१ रनको महत्त्वपूर्ण भूमिमा निर्वाह गरेका जोन सिम्पसनलाई दुई रन बनाउँदा आफैँ क्याच गरेका थिए। मिनी अक्सनमा १५ लाख मूल्यमा सबै टोलीको नजरमा परेका मोहम्मद आदिल आलम पनि सात रन बनाएर आउट भएपछि काठमाडौं दबाबमा आएको थियो। 

पोखराका धनञ्जयले सर्वाधिक चार विकेट लिए। उनले चार ओभरमा एक मेडनसहित मात्र १६ रन खर्चिएका हुन्। भुर्तेलले दुई तथा विपिन खत्री र किरण ढगुन्नाले समान एक विकेट लिएका थिए। चार ओभर बलिङ गरेको ऋषि धवन र आकाश चन्द विकेटविहीन भएका थिए। 

आज नै हुने दोस्रो खेलमा सुदूरपश्चिम र चितवन खेल्नेछन्।

सुझावित समाचार