परम्परागत मल्लयुद्धदेखि अन्तर्राष्ट्रिय जुरखानेसम्म

बिहिबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण
  • जुरखाने कुस्ती केवल शक्ति होइन, अनुशासन, संगीत आत्मसंयमको खेल पनि हो

नेपालको खेलकुद इतिहासमा कुस्ती खेलको छुट्टै महत्व छ । परम्परागत रूपमा ‘मल्लयुद्ध’ भनेर चिनिने यो खेल आजको आधुनिक कुस्ती र जुरखाने विधासम्म आइपुग्दा लामो यात्रा तय गरिसकेको छ । तर, यो यात्रामा उपलब्धिभन्दा चुनौती र संघर्षको कथा अझ बढी सुनिन्छ ।

नेपाल कुस्ती संघको स्थापना विसं ०३८ सालतिर भएको मानिन्छ । सोभन्दा अघि कुस्ती मुख्यत: गाउँठाउँका मेलापात, जात्रा, दरबार, मन्दिरपरिसर र पण्डित घरानामा हुने परम्परागत खेलका रूपमा सीमित थियो । जसले आफ्नो शक्ति, अनुशासन र शारीरिक सौन्दर्य प्रदर्शन गर्थे, उनीहरूलाई गाउँलेहरूले ‘पहलवान’ भनेर सम्मान गर्थे । यिनै परम्परागत पहलवानहरूको श्रम र प्रेरणाबाट नै नेपालमा कुस्ती संघको औपचारिक यात्रा सुरु भयो । त्यस्तै, नेपाल जुरखानेको स्थापना सन् २००६ सालमा नेपालमा भएको हो । इरानको परम्परागत खेल भए पनि यो खेलमा नेपालले धेरै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

राजनीतिक हस्तक्षेप र संघको कमजोरी : नेपाल जुरखाने संघको स्थापनाको मूल उद्देश्य खेललाई पेसागत र अन्तर्राष्ट्रियस्तरमा लैजाने थियो । तर, समयक्रममा संघ राजनीतिका खेलमा फस्दै गयो । पदाधिकारी छनोटमा योग्यताभन्दा सम्बन्ध हाबी हुन थाले । खेलकुद नेतृत्वमा राजनीतिक नियुक्ति बढ्दै गएपछि संघको नीति–निर्देशन र योजना दुवै कमजोर बने । धेरैजसो खेल संघहरूमा जस्तै, नेपाल जुरखाने संघमा पनि राजनीतिक हस्तक्षेपले निर्णय प्रक्रियालाई अपारदर्शी बनायो । उदाहरणका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी छनोट गर्दा खेलकौशलभन्दा सिफारिस र नाता सम्बन्धको प्राथमिकता देखियो । यसले योग्य खेलाडीहरू निरुत्साहित भए र प्रशिक्षण प्रणाली कमजोर बन्यो ।

अर्को ठुलो समस्या भनेको अन्तर्राष्ट्रिय प्रशिक्षकको मान्यता र जानकारीमा पारदर्शिता नहुनु हो । केही वर्षयता नेपालमा इरान, भारत, र अझै केही एसियाली देशबाट आएका जुरखाने र फ्रिस्टाइल प्रशिक्षकहरूले नेपाली पहलवानलाई प्रशिक्षण दिएका थिए, तर तिनीहरूको आधिकारिक मान्यता र स्वीकृति प्रक्रियाबारे संघ र राष्ट्रिय खेलकुद परिषद् दुवै मौन रहे । यो अभावले गर्दा नेपालमा जुरखाने कुस्तीको प्राविधिक ज्ञान प्रणालीगत रूपमा स्थापित हुन सकेको छैन । प्रशिक्षकलाई सम्मानित र दिगो तवरले प्रयोग गर्ने योजना नहुँदा प्रत्येक नयाँ टोलीले नयाँ बाटोबाट सुरु गर्नुपर्छ, परिणामस्वरूप निरन्तरता हराउँछ ।

जुरखाने खेल र नेपालको सहभागिता : जुरखाने खेल इरानको परम्परागत कुस्ती हो, जसलाई युनेस्कोले समेत सांस्कृतिक सम्पदाको रूपमा मान्यता दिएको छ । नेपालमा यो खेल सन् २००६ बाट भित्रिएको हो । जुरखाने कुस्ती केवल शक्ति होइन, अनुशासन, संगीत, र आत्मसंयमको खेल हो ।

नेपाल कुस्ती संघसँगको सहकार्यमा यो खेललाई समेट्न सुरु गर्दा धेरैले सोचे, नेपालको परम्परागत मल्लयुद्ध र इरानको जुरखाने दुई फरक संस्कृतिका खेल हुन् । तर, समयले प्रमाणित गर्यो कि यी दुवैमा समानता धेरै छ । दुवै खेल आत्मबल, विनम्रता र शारीरिक सन्तुलनमा आधारित छन् । यसैले संघले पछिल्ला वर्षहरूमा जुरखाने खेललाई नेपालमा विस्तार गर्न ध्यान दिएको पाइएको छैन । नेपालका खेलाडीले इरान, भारत, र अझै केही पश्चिम एसियाली देशहरूमा गएर जुरखाने प्रशिक्षण लिएका छन् । तर, यो कार्यका बारेमा नेपाल राष्ट्रिय खेलकुद र नेपाल कुस्ती संघको कुनै अरू सहयोग नेपाल जुरखानेले पाएको छैन ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको यात्रा : नेपालका पहलवानहरूले विभिन्न एसियन, वल्र्ड च्याम्पियनसिप, र जुरखाने वल्र्ड कपमा सहभागिता जनाइसकेका छन् । यद्यपि, अधिकांश नेपाली मिडियाले यसतर्फ कम ध्यान दिएकाले यी उपलब्धिहरू प्राय: जनस्तरसम्म पुग्दैनन् । २०१८, २०२२ र २०२५ का केही उल्लेखनीय प्रतियोगिताहरूमा नेपाली खेलाडीहरूको सहभागिता यसरी रह्यो–

सन् २०२२ को एसियन जुरखाने च्याम्पियनसिप (तेहरान) : नेपालले पहिलोपटक टिम प्रदर्शन श्रेणीमा सम्मानजनक स्थान हासिल गर्यो । सन् २०२५ को अक्टोबरमा इरानको उर्मिया सहरमा भएको सातौँ एसियन जुरखाने कुस्ती पहलवानी प्रतियोगितामा नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्यो– १८ राष्ट्र सहभागीमध्ये नेपाल उत्कृष्ट पाँचमा रह्यो ।

यो केवल पदकको जित होइन, नेपालको आत्मगौरव र सांस्कृतिक पहिचानको विजय पनि हो । उक्त प्रतियोगितामा नेपाली पहलवानहरूले देखाएको तालमेल, कलाकौशल, शारीरिक सन्तुलन, र अनुशासनले सम्पूर्ण दर्शकलाई प्रभावित पारेको थियो । नेपालको झन्डा जुरखाने एरेनामा जब पाँचौँ स्थानको रूपमा फहरायो, त्यो क्षण नेपाली खेल इतिहासकै गौरवपूर्ण अध्याय बन्यो ।

अन्तर्राष्ट्रिय प्रशिक्षक र मान्यतामा समस्या : हाल नेपालमा केही प्रशिक्षकहरूले इरान, अजरबैजान र भारतबाट ‘युनाइटेड वल्र्ड रेस्लिङ वा जुरखाने इन्टरनेसनल फेडेरेसन मान्यताप्राप्तको प्रमाणपत्र प्राप्त गरेका छन् । तर, ती प्रशिक्षकहरूको औपचारिक विवरण, उनको नाम, कार्यक्षेत्र र जिम्मेवारीबारे संघ र राष्ट्रिय खेलकुद परिषद्ले पर्याप्त सूचना प्रकाशित नगरेकाले भ्रम सिर्जना भएको छ । नेपालका अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकलाई उचित सम्मान र अवसर नदिँदा खेलाडीहरू विदेशी कोचमाथि मात्र निर्भर रहनुपरेको छ । दिगो खेलकुद प्रणाली निर्माणका लागि प्रशिक्षक, खेलाडी र संघबिचको सम्बन्ध पारदर्शी र संस्थागत हुनुपर्छ– जुन हाल अभावमा छ ।

सुझावित समाचार