दुई कार्यालय गाभिएपश्चात् एकीकृत सेवा कार्यालय

बिहिबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम जिल्लामा रहेका दुई कार्यालय एकै ठाउँमा गाभिएर एकीकृत सेवा कार्यालयको रूपमा सञ्चालन गरिएको छ । प्रदेश सरकारमातहतमा रहेको उद्योग तथा पर्यटन कार्यालय बागलुङ र सामाजिक विकास कार्यालय बागलुङ गाभिएपश्चात् एकीकृत सेवा कार्यालय बागलुङको रूपमा सञ्चालन गरिएको छ । एकीकृत विकास कार्यालय साबिकको उद्योग पर्यटन कार्यालयबाट सञ्चालन गरिएको कार्यालय प्रमुख पारसिंङ थापाले जानकारी दिए ।

कार्यालयको बुधबार बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले औपचारिक शुभारम्भ गरेका छन् । गुरुङले सेवा लिन आएका सेवाग्राहीको उद्योग दर्ता तथा नवीकरणको सिफारिस प्रदान गरेर सेवा सञ्चालन गरेका हुन् । गुरुङले एकै प्रकृतिका सेवाहरू प्रदान गर्नका निम्ति एकीकृत सेवा कार्यालयबाट सहज र सरल हुने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारले मितव्ययिता कायम  र सेवा प्रवाहलाई प्रभावकारी बनाउनका निम्ति कार्यालयहरू गाभेर एकीकृत गरेको बताए ।

गुरुङले कार्यालय सञ्चालनलगायतका खर्च व्यवस्थापनमा पनि प्रदेश सरकारलाई केही राहत हुने बताए । ‘बागलुङ जिल्ला भूगोलले पनि ठुलो छ । योजनाहरू पनि धेरै छन्,’  गुरुङले भने, ‘एकीकृत सेवा कार्यालयमार्फत दुवै कार्यालयका सेवा प्रदान गर्नुपर्नेछ। सेवा प्रवाहलाई अझै नयाँ ढंगले सुदृढीकरण गरेर अगाडि बढाउन आवश्यक छ । केही समय सेवाग्राहीलाई कठिनाइ भए तापनि भोलिका दिनमा सहज हुनेछ, आवश्यक समन्वय गरेर अगाडि बढौँ ।’ 

एकीकृत सेवा कार्यालयले उद्योग, पर्यटनतर्फ दर्ता नवीकरण, तालिम सञ्चालन पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणलगायतका कार्य गर्नेछ भने सामाजिक विकासतर्फबाट लक्षित वर्गका कार्यक्रम सञ्चालन र विद्यालय मठमन्दिरलगायतका क्षेत्रको पूर्वाधार निर्माणलगायतका काम हुनेछन् । हाल साबिकको उद्योग पर्यटन कार्यालयबाट मुख्य काम काज सञ्चालन गरिए तापनि साबिकको सामाजिक विकास कार्यालयमा सामाजिक विकास तथा शिक्षा शाखा सञ्चालन गरिएको कार्यालय प्रमुख थापाले जानकारी दिए । 

कार्यालय एउटै भए तापनि प्रदेश मन्त्रालय भने दुईवटा रहेका छन् ।  प्रदेश सरकार उद्योग पर्यटन मन्त्रालय र सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय रहनेछ। गत साउनमा प्रदेश सरकारले विभिन्न सातवटा निर्देशनालय खारेज गर्ने र ३२ वटा कार्यालयलाई एक–आपसमा गाभेर १७ वटामा सीमित गर्ने निर्णय गरेको थियो । निर्णयको वेला बागलुङबाट उद्योग पर्यटन कार्यालय खारेज भएको थियो ।  

जिल्लाबाट विभिन्न दबाब सिर्जना भएपश्चात् राजपत्रमा पुनः दुई कार्यालयलाई गाभेर एकीकृत सेवा कार्यालय सञ्चालन गर्ने निर्णय भएर आएपछि यो कार्यान्वयनको चरणमा रहेको हो । कार्यालय शुभारम्भ कार्यक्रममा नवआगन्तुक कार्यालय प्रमुख शिव शर्मालाई स्वागतसमेत गरिएको छ । कार्यालय प्रमुख पारसिंह थापाको अध्यक्षता र सहायक प्रशासकीय अधिकृत विष्णुनाथ शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
 

सुझावित समाचार