- ओलीको बिदाइले एमालेलाई नै पुरानो गुटगत र वैचारिक टकरावबाट मुक्त गरी सामूहिक, वैचारिक र जनमुखी बाटोमा फर्कने अवसर दिनेछ
नेपालको कम्युनिस्ट आन्दोलनमा केपी ओली एक यस्ता नेता हुन्, जसले एक दशकसम्म एमालेको मात्र होइन, देशकै राजनीतिलाई आफ्नोवरिपरि घुमाए । ओलीको राजनीतिक भूमिका नेपाली कम्युनिस्ट आन्दोलनको केन्द्रीय शक्तिका रूपमा रह्यो, जसले देशको राजनीतिलाई स्थायित्व र समृद्धिको नारा दियो, तर यही नेतृत्वले पछिल्लो समयमा आन्तरिक लोकतन्त्र, संवैधानिक मर्यादा र सुशासनका सवालमा गम्भीर प्रश्नको सामना गर्नुपर्यो । पछिल्लो समय जेन–जी आन्दोलनको तीव्र दबाबका कारण उनको राजनीतिक साखमा गम्भीर क्षयीकरण भयो । ओलीको राजनीतिक यात्रामा युवाको असन्तुष्टिले रातो रेखा कोरिदिनुका साथै यो आन्दोलनले पुरानो र नयाँ पुस्ताबिच पनि स्पष्ट रेखा कोरिदियो । जसले गर्दा ओलीलाई आफ्नो राजनीतिक सान्दर्भिकता कायम राख्न झनै गाह्रो भएको छ । नेतृत्व क्षमतामाथि उठेका प्रश्नलाई पन्छाउँदै आफ्नो राजनीतिक प्रभाव र पार्टीभित्रको पकडलाई पुनस्र्थापित गरी फेरि देशको मुख्य नेतृत्वको भूमिकामा फर्कने प्रयासमा ओली देखिन्छन् । एमालेमा लामो समयदेखि प्रभुत्व जमाएका ओलीको नेतृत्व शैली र परम्परागत एमालेको कार्यप्रणाली व्यक्तिकेन्द्रित हठी र वैचारिक बहसभन्दा सत्ताकेन्द्रित थियो जसले गर्दा ओलीको राजनीतिक शक्ति अभ्यासमा प्रभुत्ववादी चरित्र हाबी भयो । यस्तो नेतृत्वले पार्टी र जनताको बदलिँदो चेतना विशेष गरी जेन–जी आन्दोलनले उठाएका सुशासन, पारदर्शिता र पुस्तान्तरणका मागलाई सम्बोधन गर्न सकेन । यही पृष्ठभूमिसँगै, अब एमाले आफ्नो ११औँ महाधिवेशनको सँघारमा उभिएको छ । लामो समयदेखि नेतृत्वको पकडमा आएको यो ऐतिहासिक मोडमा, पार्टीले ओलीको युगलाई पुस्तान्तरणमार्फत सम्मानजनक बिदाइ दिन सक्छ या सक्दैन भन्ने नै अहिलेको यक्षप्रश्न हो । नेतृत्व परिवर्तनको यो अपरिहार्य समयमा एमालेलाई नीतिगत शुद्धीकरण, सांगठनिक पुनर्संरचना र जनविश्वासको पुनर्जागरणका लागि यो महाधिवेशनले अवसर प्रदान गर्नेमा प्रतिनिधिहरूबिच आशा जगाएको छ ।
ओलीको नेतृत्व र कार्यशैलीले एमालेलाई एक विशेष मोडमा पुर्याएको छ । ओलीको बिदाइको आधार उनको विवादास्पद कार्यशैली नै हो । छुचो बोली, आलोचकप्रति शत्रुतापूर्ण व्यवहार र गैरजिम्मेवार अभिव्यक्तिले उनको व्यक्तिगत छवि र पार्टीको प्रतिष्ठामाथि प्रश्न उठायो । संसद् विघटनजस्ता कदमले उनलाई अलोकतान्त्रिक र एकलौटी निर्णयकर्ताको आरोप लाग्यो, जसले पार्टीभित्र आन्तरिक कलह र अन्तत: विभाजन निम्त्यायो । उनको नेतृत्वमा पार्टीभित्र गुटगत स्वार्थ हाबी भयो, इमानदार तथा क्षमतावान् नेता कार्यकर्तालाई पाखा लगाइयो ।
ओलीको बिदाइ एमालेको ‘रिभाइब’को प्रारम्भिक सर्त हो । जबसम्म पार्टी एक व्यक्तिको छायाबाट मुक्त हुँदैन, तबसम्म यसले आफ्नो वास्तविक वैचारिक, संगठनात्मक र जनमुखी चरित्रलाई पुनर्जीवित गर्न सक्दैन । ओलीको बिदाइले एमालेलाई पुरानो गुटगत र वैचारिक टकरावबाट मुक्त गरी सामूहिक, वैचारिक र जनमुखी बाटोमा फर्कने अवसर दिनेछ, जसले गर्दा एमालेको रिभाइबको आधार बन्नेछ । ओली नेतृत्वको विवादास्पद पाटोबाट मुक्त हुँदा एमालेले संस्थापन पक्षको शुद्धीकरण र सामूहिक नेतृत्वको विकासमार्फत आफूलाई देशकै प्रमुख वैकल्पिक शक्तिका रूपमा पुनस्र्थापित गर्न सक्छ । ओलीको प्रभावबाट मुक्त भएको एमालेले पार्टीलाई रिभाइब गर्न सक्ने बलियो सम्भावना देखिन्छ । यो रिभाइबले ओलीपथ बाट एमालेपथमा फर्कन सहयोग पुग्नेछ । एमालेको रिभाइबको सफलता नेतृत्व हस्तान्तरण कत्तिको सहज, संस्थागत र सर्वस्वीकार्य रूपमा हुन्छ भन्नेमा निर्भर गर्छ । नेतृत्व हस्तान्तरण पार्टीको संस्थागत हितलाई केन्द्रमा राखेर गरियो भने, एमाले नेपालको राजनीतिमा आफ्नो प्रभावशाली शक्तिलाई पुनर्जीवित गर्न सफल हुनेछ । सामूहिक र सन्तुलित नेतृत्व आउँदा पार्टी एक व्यक्तिको भन्दा विचार र सिद्धान्तमा आधारित संस्थाका रूपमा स्थापित हुन्छ । जबजको सिद्धान्तलाई समयसापेक्ष व्याख्या गर्दै पार्टीलाई व्यक्तिगत स्तुतिगानबाट निकालेर नीति र कार्यक्रममा केन्द्रित गर्न सकिन्छ । यसले आमजनतामाझ विश्वसनीयता बढाउँछ । ओलीको छत्रछायाँ हटेपछि पार्टीभित्र खुला बहस, सामूहिक निर्णय प्रक्रिया र आन्तरिक लोकतन्त्रको अभ्यास पुन: सुरु हुन सक्छ, जसले असन्तुष्ट नेता तथा कार्यकर्तालाई पार्टीमा फर्काउन मद्दत गर्छ । ओलीको नेतृत्वका कारण टाढिएका वा बाहिरिएका नेतासँगको पुन: एकीकरणको बाटो नयाँ र कम विवादास्पद नेतृत्वका लागि सहज हुन्छ । नयाँ नेतृत्वले ओलीको समयका आक्रामक राजनीतिक शैली त्यागेर सन्तुलित, समन्वयकारी र रचनात्मक शैली अपनाउन सक्छ, जसले गर्दा नयाँ अनुहार र नयाँ ऊर्जासहितको नेतृत्व आउँदा कार्यकर्तामा उत्साह र गतिशीलता बढ्छ अनि ग्रासरुट तहमा पार्टीको कामलाई पुनर्जीवन दिनेछ ।
एमालेको रिभाइब केवल सम्भावना मात्र होइन, बरु एमाले जीवित रहनका लागि अपरिहार्य हो । ओलीको बिदाइले उत्पन्न गर्ने शून्यतालाई नयाँ नेतृत्वले संस्थागत लोकतन्त्र, वैचारिक सन्तुलन र राष्ट्रिय एजेन्डामार्फत भर्न सकेमा, एमाले नेपालको राजनीतिमा आफ्नो पुरानो साख र प्रभाव पुनर्जीवित गर्न सफल हुनेछ । एमालेको रिभाइब ओलीको बिदाइपछि मात्र सम्भव हुन्छ किनकि ओलीको व्यक्तित्व पार्टीको विचार र संगठनमाथि यति धेरै नकारात्मक सोच हाबी भयो कि यसले पार्टीको संस्थागत विकासलाई नै अवरुद्ध पारिदियो । अब ओली युगको अन्त्यसँगै आफ्नो जनमुखी, वैचारिक र लोकतान्त्रिक बाटोमा फर्किएर एमालेले पुनर्जीवन पाउन सक्छ ।
रिभाइबको अर्थ एमाले पार्टीले आफ्नो गुमेको साख, संगठनात्मक ऊर्जा, वैचारिक सन्तुलन र जनविश्वासलाई पुन: प्राप्त गर्दै ओलीको बिदाइपछि उत्पन्न हुने शून्यलाई सकारात्मक रूपमा भर्ने प्रक्रिया हो । एमाले रिभाइबका लागि संस्थागत पुनर्गठनअन्तर्गत आन्तरिक लोकतन्त्र पुनस्र्थापना गर्नुपर्छ । गुटगत राजनीतिलाई नियन्त्रण गरी पार्टी विधान र संस्थागत निर्णय प्रक्रियालाई सर्वोच्चता प्रदान गर्दै वैचारिक नवीकरणलाई जबजको सिद्धान्त समयको मागअनुसार सामाजिक न्याय, संघीयताको प्रभावकारिता र दिगो विकासका एजेन्डासँग जोडेर नयाँ पुस्ताका लागि आकर्षक बनाउनुपर्छ । एमालेलाई जनविश्वासको पुनर्लाभ लिन विगतका गल्तीको आलोचनात्मक समीक्षा गर्दै क्षमायाचनाको भावनासाथ जनतामाझ जानुपर्छ । साथै, सुशासन र जवाफदेहितालाई प्राथमिकता दिएर जनविश्वास जित्नुपर्छ । राष्ट्रिय राजनीतिमा आक्रामकभन्दा सहयोगी र सन्तुलनकारी भूमिका खेल्नु नै एमालेको रिभाइब हो ।
ओलीको बिदाइले पार्टीभित्रको आन्तरिक अवरोध हटाउँछ, जसले रिभाइबका लागि नयाँ ठाउँ र ऊर्जा सिर्जना गर्छ । ओलीको नेतृत्वमा पार्टीको क्षमतालाई व्यक्तिगत स्वार्थले ओझेलमा पारेको थियो । रिभाइबको सफलताका लागि पहिले त्यो ओझेल हटाउन ओलीको बिदाइ हुनैपर्छ । एमालेको रिभाइब तब मात्र सफल हुन्छ जब नयाँ नेतृत्वले ओलीको व्यक्तिगत ब्रान्डिङबाट बाहिर निस्केर जबजको नवीकृत र समसामयिक दर्शनलाई आत्मसात् गर्छ । यो नवीकरणले एमालेलाई केवल शक्ति प्राप्त गर्ने यन्त्रका रूपमा मात्र नभई राष्ट्रको वैचारिक दिशा दिने संस्थाका रूपमा पुनस्र्थापित गर्न सक्छ ।
नेपालको सामाजिक अस्तित्व अर्थात् भौतिक परिस्थिति अब पुरानो छैन । डिजिटल युग, भूमण्डलीकरणको प्रभाव र युवाको बढ्दो राजनीतिक चेतनाले परम्परागत राजनीतिको आधार अर्थ–राजनीतिक संरचनालाई हल्लाइदिएको छ । राजनीतिक नेतृत्व र दलहरूको कार्यशैली ‘सुपर स्ट्रक्चर’को नयाँ आधारअनुरूप हुनुपर्छ । जब ओली नेतृत्वले पुरानो र जडवत् विचारको प्रतिनिधित्व गर्दै नयाँ सामाजिक–आर्थिक चेतनासँग मेल खाएन, तब त्यो माक्र्सवादी अर्थमा अप्रासंगिक हुनपुग्यो । अब ओलीको बिदाइ यो कुनै व्यक्तिगत निर्णय मात्र नभएर, बदलिँदो सामाजिक–आर्थिक आवश्यकता र चेतनाको दबाबबाट उत्पन्न भएको ऐतिहासिक अनिवार्यता हो । माक्र्सवादी सिद्धान्तअनुसार, कम्युनिस्ट पार्टी सधैँ सर्वहारा वर्गको हित र क्रान्तिको लक्ष्यप्रति समर्पित हुनुपर्छ । यदि नेतृत्व वर्गबाट विमुख भई व्यक्तिगत सत्ता वा भ्रष्ट अभ्यासमा रुमलिन्छ भने, पार्टीले आत्मसुधारको प्रक्रिया अपनाउनुपर्छ । एमालेको रिभाइबको प्रयासलाई यही आत्मसुधार र पुनर्गठनको प्रक्रियाका रूपमा हेर्न सकिन्छ । एमालेलाई फेरि बलियो बनाउन जनताको भौतिक अवस्था सुशासन, समृद्धि, रोजगारीसँग जोडेर अगाडि बढ्नुपर्ने बाध्यता सिर्जना भएको छ । पुरानो नेतृत्वशैली र नयाँ सामाजिक मागबिचको द्वन्द्वले एमालेलाई रिभाइबतर्फ डोर्याएको छ । ओलीको बिदाइ र एमालेको रिभाइबको प्रयास माक्र्सवादी सिद्धान्तको सच्चा अभ्यास तब मात्र हुनेछ, जब यसले नयाँ पुस्ताको मागलाई केवल नारामा मात्र सीमित नगरी, पार्टीको सैद्धान्तिक, आर्थिक र सामाजिक कार्यक्रममा ठोस रूपमा रूपान्तरण गर्न सक्छ । ओलीको बिदाइ र एमालेको रिभाइब भनेको केवल नेतृत्व परिवर्तन मात्र होइन, एमालेको वैचारिक र संगठनात्मक संरचनामा आमूल परिवर्तन गर्नु हो ।
एमालेको दिगो रिभाइब भनेको पार्टीको पुरानो अपरेटिङ सिस्टम वैचारिक संरचनालाई बदलिँदो सामाजिक–आर्थिक र प्राविधिक मागअनुसार आमूल परिवर्तन गरी ‘अपग्रेड’ गर्नु हो । साथै, ओलीको बिदाइलाई उनको व्यक्तिगत विश्राम मात्र नभई, पार्टीको संस्थागत स्वास्थ्यका लागि आवश्यक सर्जरीका रूपमा पनि हेर्न सकिन्छ । सक्रिय राजनीतिबाट बिदा लिँदा उनले आफ्नो कार्यकालमा गरेका ऐतिहासिक योगदानजस्तै संविधान निर्माण, नाकाबन्दी सामनालगायतलाई सुरक्षित राख्दै भविष्यमा हुने असफलताको भारी बोक्ने कार्यबाट मूक्त हुनु नै ओलीका लागि राम्रो हुन्छ । नेतृत्वमा परिवर्तन आउँदा, पार्टीले आफूमा सुधार आएको र जनताको अपेक्षालाई सम्बोधन गर्न तयार रहेको सकारात्मक सन्देश दिन सक्छ, जसले सार्वजनिक विश्वास बढाउँछ । ओलीले सक्रिय नेतृत्वबाट बिदाइ लिँदा, उनको व्यक्तिगत गरिमा र योगदान सुरक्षित रहने मात्र होइन, यसले एमालेलाई पुस्तागत बदलावको माग र जेन–जीको सन्देशलाई सम्बोधन गर्न आवश्यक आमूल परिवर्तनको अवसर दिनेछ । ओलीको बिदाइ एमालेका लागि बाध्यताभन्दा बढी परिवर्तनको मौका हो । ओलीले व्यक्तिगत मोहका कारण नेतृत्व नत्यागेमा, उनको राजनीतिक अवशान दर्दनाक प्रक्रियाबाट हुनेछ । उनी राजनीतिक रूपमा सक्रिय नै रहे पनि, वैचारिक रूपमा भने अवशानको अवस्था आउन सक्छ । ओलीले शक्तिको मोहमा अन्तिमसम्म लड्दा उनको आफ्नो सद्भाव, सम्मान र योगदानलाई धुमिल पार्नेछ, जसले उनको सम्पूर्ण राजनीतिक जीवनमाथि प्रश्न उठ्न सक्छ । त्यसकारण, ओलीले यो समयको मागसँगै स्वेच्छाले पद त्याग गरेमा उनलाई वरिष्ठ राजनेताको दर्जा एमालेका कार्यकर्ताले दिन सक्छन् । अब पार्टी र राष्ट्रका लागि सल्लाहकार र मार्गदर्शकका रूपमा सम्मानजनक भूमिकामा रहँदा नै ओलीको मात्र होइन, एमाले र देशकै कल्याण हुनेछ ।