विराटनगरले दियो लुम्बिनीलाई १४५ रनको लक्ष्य

बुधबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण
विराटनगरले दियो लुम्बिनीलाई १४५ रनको लक्ष्य

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

विराटनगर किंग्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर सुरुमा ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको हो।

लिगको २२औं खेलमा विराटनगरको लागि लोकेस बमले सर्वाधिक ३५ रन बनाए । सम्हालिएर खेलेका लोकेसले ४२ बलमा समान २ चौका र २ छक्का हिर्काए । उनलाई जेजे स्मिथले आफ्नै बलमा क्याच गराएका थिए । साम हेजलेटले २० बलमा २७ रनको योगदान गरे । ३० वर्षीय ब्याटरले एक चौका र २ छक्का प्रहार गर्दा शेर मल्लले दिलिप नाथबाट क्याच आउट गराएका हुन्।

छैटौं नम्बर क्रिजमा पुगेका बसिर अहमदले २८ रनको योगदान गरे । लगातार उत्कृष्ट प्रदर्शन गर्ने क्रममा उनले १९ बलमा समान एक चौका र एक छक्का हिर्काएका हुन् । रुवेन ट्रप्लमेनको बलमा चौका प्रहार गर्नै क्रममा  उनलाई तिलक भण्डारीले क्याच गराएका थिए । पछिल्लो खेलमा उनले कर्णाली याक्सविरुद्ध अविजित ६२ रन बनाउँदै टोलीलाई जित दिलाएका थिए।

पहिलो पटक एनपिएल खेलेका फाप डु प्लेसिस डेब्यु खेलमा १२ रन मात्रै बनाउन सके । ९ बलमा दुई चौका हिर्काएका उनलाई अभिशेष गौतमले विकेटकिपर निरोशान डिकवेलबाट स्टम्पिङ गरे । ओपनर डुप्लेसिसलाई दोस्रो विकेटको रुपमा गुमाउँदा विराटनगरले २।६ ओभरमा मात्र १५ रन बनाएको थियो । यसपछि लोकेश र हेजलेटले ५२ बलमा सर्वाधिक ५५ रनको साझेदारी गरेका थिए । तेस्रो विकेटको रुपमा लोकेश ११।४ ओभरमा आउट हुँदा विराटनगरले ७० रन बनायो।

यसअघि ओपनर जर्ज मुन्से दुई बल खेलेर डक आउट भए । नारायण जोशी मात्र ५ रन बनाउदा शेर मल्लबाट एलबिडब्लु धरापमा परेका हुन् । ११ रन बनाएका प्रतिश जिसी  र साहिल पटेल पनि रन आउट हुन पुगे । मार्चन्ट डि लाग्नेले  अविजित १० तथा एक बलमात्रै सामना गरेका सन्दीप लामिछानेले छक्का प्रहार गरेका थिए।

लुम्बिनीका शेर मल्लले सर्वाधिक ३ विकेट लिएका थिए । उनले ४ ओभरमा मात्र २५ रन खर्चिएका हुन् । उनले पहिलो ओभरमा मुन्से र १४औं ओभरमा जोशी र हेजलेटको महत्वपूर्ण विकेट लिएका थिए । जेजे स्मिथ, अभिषेश गौतम र रुवेन ट्रम्पलमेनले समान एक विकेट लिए।

४ ओभर नै बलिङ गरेका तिलक भण्डारीले २८ रन खर्चिँदा विकेट बिहिन भएका थिए।

प्लेअफमा स्थान बनाउन आज दुबै टोलीलाई जित्नुपर्नै दबाब छ । विराटनगर पाँचौँ जित निकाल्दै प्लेअफ पुग्ने योजनामा छ । पाँचमध्ये चार खेल जितेर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । विराटनगरले पहिलो खेलमा पोखरालाई ५३ रन, दोस्रो खेलमा काठमाडौंलाई ५ विकेट, तेस्रो खेलमा जनकपुरलाई ९ रन र पाँचौं खेलमा कर्णालीलाई ३ विकेटले हराएको थियो । चौथो खेलमा भने चितवनसँग ४८ रनले पराजित भयो।

लुम्बिनी भने तेस्रो जित निकाल्दै प्लेअफ सम्भावना कायम राख्ने योजनामा छ । पाँच मध्ये दुई खेल जितेर ४ अंकसहित टोली छैटौं स्थानमा छ । पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको उसले पाँचौं खेलमा पोखरालाई ३ विकेटले हराउँदै प्लेअफ सम्भावना कायम राखेको थियो । यसअघि टोली दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेट, काठमाडौंसँग २२ रन तथा सुदूरपश्चिमसँग ७ विकेटले पराजित भएको थियो।

सुझावित समाचार