नयाँ नेतृत्व चयन गर्न पुर्ख्यौली थलो खार्मीमा भेला भए दुमी किराँत राईहरू

मंगलबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण

देश विदेशमा छरिएर बसेका दुमी किराँत राईहरू दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेला भएका छन् । दुमी किराँत राई फन्सिकिमको आठौँ राष्ट्रिय महाधिवेशनका लागि नेपालसहित भारतको सिक्किम र दार्जिलिङ तथा हङकङ, अमेरिका र बेलायतमा बस्दै आएका दुमी किराँत राईहरू खार्मीस्थित रुधालुङमा भेला भएका हुन् । 

‘पुर्ख्यौली ज्ञान, साझा पहिचान’ भन्ने नाराका साथ सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन, आर्थिक तथा सांगठनिक प्रतिवेदन पारित र भावी रणनीति निर्माण गर्ने आयोजक दुमी किराँत राई फन्सिकिमका महासचिव तेजमाया मुरह दुमी राईले जानकारी दिइन्। किराँत समुदायको महान चाड छिरियाम्लो (उँधौली)को अवसर पारेर आयोजना गरिएको महाधिवेशनले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, तीन सचिव, एक कोषाध्यक्ष र एकजना सहकोषाध्यक्षसहित २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले आज महाधिवेशनको उद्घाटन गरेका छन् । सो क्रममा दुमी किराँत राईहरूको नाग्रे कुबी (पित्रे धामी)ले तीन चुल्हा पुजेर गरेका छन् । महाधिवेशन उद्घाटनमा साकेला सिली, मारुनी नाच, कुबी तथा तयातङ्कुबाट मुन्दुमी बखानलगायत कार्यक्रम गरिएको छ । 

कार्यक्रममा नगरप्रमुख भट्टराईले खोटाङ किराँत भूमि भएकाले नगरपालिकाको लेटर प्याडमा समेत किराँत लिपि समावेश गरिएको जानकारी दिए । ‘म भट्टराई परिवारमा जन्म लिए पनि किराँती हुँ । हामीलाई किराती हुनुमा गर्व लाग्छ । त्यसैले नगरपालिकाले गर्ने हरेक क्रियाकलापमा मुन्दुमी कुराहरू जोडेर गर्ने गरेका छौँ,’ उनले भने, ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीसमेत सम्पन्न गरिसकेका छौँ ।”

माँझ किराँत भनेर चिनिने खोटाङको खार्मीस्थित रुधालुङको जगत आधारभूत विद्यालयको प्राङ्गणमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशन उद्घाटनमा दुमी किराँत राईहरूको बंशावलीसमेत विमोचन गरिएको छ । कीर्तिपुर क्याम्पसका पूर्वसहप्राध्यापक एवं संस्कृतिविद् चतुरभक्त राईले संकलन, लेखन तथा सम्पादन गरेका ९५० पृष्ठको वंशावलीमा दुमी किरात राईहरूको २२ पाछा तथा ११ सामायी समेटिएको छ । 

करिब ३२ वर्ष लगाएर तयार पारिएको दुमी किराँत राईहरूको वंशावली संकलन, लेखन तथा सम्पादन गर्ने संस्कृतिविद् राईलाई फन्सिकीमले सफरी (फेटा) बाँधेर ताम्रपत्रसहित सम्मान गरेको छ । 

किरात यले सम्वत् (यल थो ५०८५)को अवसर पारेर आयोजना गरिएको महाधिवेशनमा शुभकामना आदानप्रदान, साँस्कृतिक झाँकी प्रदर्शन तथा बुढापाकाबाट मुन्दुमी ज्ञानसमेत आदानप्रदान गरिने आयोजक दुमी किरात राई फन्सिकीमका केन्द्रीय अध्यक्ष डा. नेत्रमणि हलक्सु दुमी राईले जानकारी दिएका छन् । दुमी किरात राई समुदायले खोटाङको खार्मी, जालपा, बाक्सिला, सप्तेश्वर र माक्पालाई उद्गमथलो मान्ने गरेका छन् ।
 

सुझावित समाचार