इंग्लिस ब्याटर एडम रोसिङ्टनको सतक प्रेरित पोखरा एभेन्जर्सले दोस्रो संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २०१ रन बनायो। एनपिएल इतिहासमा दोस्रो पटक दुई सय रन माथिको रन बनेको हो। यसअघि विराटनगरले पोखराविरुद्ध नै दुई सय २० रन बनाएको थियो।
पोखराको लागि ओपनर रोसिङ्टनले अविजित सर्वाधिक एक सय ८ रन बनाए। उनी दोस्रो एनपिएलमा सतक बनाउने दोस्रो खेलाडी हुन्। यसअघि कर्णालीकै मार्क वाटले लुम्बिनीविरुद्ध एक सय १४ रनको बनाएका थिए। पहिलो एनपिएलमा पोखराकै आन्द्रेस गौसले लुम्बिनीवरुद्ध नै एक सय १०४ रन बनाएका थिए। योसँगै एनपिएलमा कूल तीन सतक बनेका छन्।
एडामले ५५ बलमा ११ चौका र ६ छक्कासहित एक सय एक रन पूरा गरेका थिए। उनले नन्दन यादवलाई १८.५ ओभरमा चौका हान्दै सतक बनाएका हुन्। यसअघि रोसिङ्टनले ३० बलमा सात चौका र २ छक्कासहित ५० रन बनाएका हुन्।
पोखराका एडाम रोसिङ्टन र जासन रोयले दोस्रो विकेटको लागि सतकीय साझेदारी गरेपछि ठूलो स्कोर बन्यो। कप्तान तथा मार्की कुशल भुर्तेल ४.५ ओभर ३४ रन बनाउँदा आउट भएपछि दुई खेलाडीबीच दोस्रो विकेटको लागि ७१ बलमा १ सय २७ रनको साझेदारी भएको हो। पहिलो पटक एनपिएल खेलिरहेका जासनले पहिलो खेलमै ४६ रन बनाए। अघिल्लो दिनमात्रै नेपाल आएका उनले ३३ बलमा २ चौका र ३ छक्का हिर्काएका थिए।
कर्णालीका नन्दन र वाटले समान एक विकेट लिए। अन्य खेलाडी विकेटविहीन भए। मार्की सोमपाल कामी भने महँगो सावित भए। उनले ४ ओभरमा ५० रन खर्चिँदा विकेट बिहिन भएका हुन्। गुल्शन झाले ३ ओभरमा ३५ रन खर्चिए।
पोखरा र कर्णाली दुबै आज दोस्रो जितको दाउमा छन्। कर्णालीले पाँच खेलमा एक जितसहित २ अंक जोडेको छ। टोली छैटौं स्थानमा छ। दोस्रो खेलमा लुम्बिनीलाई ९ विकेटले पराजित गरेको कर्णाली पहिलो खेलमा चितवनसँग ४ विकेटले पराजित भएको थियो। त्यसपछि टोली सुदूरपश्चिमसँग ४५ रन, विराटनगरसँग ३ तथा काठमाडौंविरुद्ध ५ विकेटले पराजित भएको हो।
पोखराले तेस्रो खेलमा जनकपुरविरुद्ध २५ रनको जित निकालेको थियो। त्यसअघि विराटनगरसँग पहिलो खेलमा ५३ रन, दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रन तथा चौथो खेलमा लुम्बिनीसँग ३ विकेटले पराजित भएको हो। लिगमा पाँच खेल नै जितको सुदूरपश्चिम दुई खेलअघि नै प्लेअफमा स्थान बनाइसकेको छ।