एमालेको २७–२९ मंसिरमा हुने ११औँँ केन्द्रीय महाधिवेशनको लागि पर्साबाट नेताकै छोराहरूलाई प्रतिनिधि छनोट गरी पठाएको कार्यकर्ताहरूको आरोप छ । एमाले पर्साले महाधिवेशन प्रतिनिधि छनोटका लागि ११ मंसिरमा मनोनयन दर्तासमेत गरेको थियो । तर, सर्वसम्मतको बहानामा नेताकै छोरालाई प्रतिनिधि छनोट गरेको उनीहरूको आरोप छ।
एमाले पर्साले केन्द्रीय सदस्य राजकुमार गुप्ताले छोरा रवि गुप्तालाई र जिल्ला इन्चार्ज प्रभु हाजराले छोरा अनिलकुमार हजारालाई महाधिवेशन प्रतिनिधि छनोट गरेको आरोप छ । एमाले पर्साका सचिव महेश दासले अहिलेको विषम परिस्थितिमा एमाले महाधिवेशनका लागि सदस्यहरू विभाजन हुने गरी निर्वाचन गरी जिल्लामा प्रतिनिधि चुन्न नहुने बताए । उनले प्रतिनिधिको चयन सहमति गरी चयन गर्नुपर्ने राय रहेको र सोहीअनुसार सहमति भएको बताए।
एमाले पर्सा प्रचार विभाग प्रमुख सुन्दर कुर्मीले पनि आन्दोलनबाट उत्पन्न विषम् परिस्थितिमा प्रतिनिधि चयन सहमतिमा गर्न राय आएको बताए । युवा नेता बिक्की सिंहले एमाले पर्सामा नेताहरूबिच अंश र वंशजस्तै भागबन्डा, कार्यकर्ताहरू हेरेको-हेरै भन्दै व्यंग्य गरेका छन्।
को को छन प्रतिनिधि?
पर्सा क्षेत्र नम्बर १ बाट ९ जना, क्षेत्र नम्बर २ बाट ७ जना र क्षेत्र नम्बर ३ बाट ८ जना र पर्सा क्षेत्र नम्बर ४ बाट गरी ३५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चुनिएको प्रमुख निर्वाचन अधिकृत विनोद गिरीले जानकारी दिए । प्रतिनिधि टुंगिएका चारवटै क्षेत्रमा संस्थापन हावी देखिएको छ।
पर्सा क्षेत्र नम्बर १ बाट विजयकुमार सरावगी, विश्वम्भर शर्मा, राजेन्द्र यादव, बसरुद्दिन अन्सारी, नवराज शर्मा, सविता गिरी, मुना दाहाल, रन्जु फुँयाल र महम्मद निजाम चुनिएका छन्।
यस्तै, क्षेत्र नम्बर २ बाट लियाकत अलि, उस्मान अन्सारी, मनोज कुशवाहा, जयनारायण सिंह, सीता लामा, रमिला खातुन र सन्तोष पासवान महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
क्षेत्र नम्बर ३ बाट प्रह्लाद गिरी, प्रमोद जैसवाल, प्रधुमन चौहान, शिव पटेल, रुबी ठाकुर, उर्मिला देवी, सबिना खातुन र रवि गुप्ता निर्विरोध निर्वाचित भएका छन्।
क्षेत्र नम्बर ४ बाट जालिम मिया मन्सुरी, मनोज गुप्ता, लालबहादुर श्रेष्ठ, वीरेन्द्र यादव, सुबास साह कानु, गोकुली रेग्मी र अंशु आनन्द निर्विरोध निर्वाचित भएका छन्।
एमालेको आसन्न ११औँ केन्द्रीय महाधिवेशनका लागि पर्साको ४ वटै निर्वाचन क्षेत्रबाट कुल ३५ जना महाधिवेशन प्रतिनिधि चयनमा ९३ जनाको उम्मेदवारी परे पनि नेताहरूले सहमतिमा प्रतिनिधि छनोट गरेको निर्वाचन समितिले जनाएको छ।