नेप्सेसँगै कारोबार रकममा पनि गिरावट

सोमबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

आइतबार २६ अंकले घटेको नेप्से परिसूचकमा सोमबार पनि गिरावट आएको छ।

सोमबार नेप्से ४.२८ अंकले घटेर दुई हजार ६४५.२४ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३७ प्रतिशतले घटेको छ।

३२५ कम्पनीका एक करोड आठ लाख ६० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको कारोबार भएको छ। आज कारोबार रकममा समेत भारी गिरावट देखिएको छ। आइतबार करिब सात अर्बको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ समूहमध्ये आठ समूहको सूचक घट्दा पाँच समूह उकालो लागेका छन्। विकास बैंक, वित्त, जलविद्युत्, उत्पादन तथा प्रशोधन र लघुवित्त समूह एक प्रतिशतभन्दा कमले बढ्दा बाँकी समूह एक प्रतिशतभन्दा कमले नै ओरालो लागेका हुन्।

समग्रमा बजार घटे पनि आज सागर डिस्टिलरी र स्वस्तिक लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ। झापा इनर्जी, श्रीनगर एग्रिटेक र ग्रिन भेन्चर्सका लगानीकर्ताले पनि नौ प्रतिशतभन्दा धेरै कमाएका छन्।

बोटलर्स नेपाल (बालाजु) र एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले भने तीन प्रतिशतभन्दा धेरै गुमाएका छन्।

सुझावित समाचार