दाङको तुलसीपुरमा ४ पुसदेखि महोत्सव लाग्ने भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा हुन लागेको महोत्सव १९ पुससम्म सञ्चालन हुनेछ।
स्थानीय उत्पादनको प्रवर्द्धन तथा कृषि, पर्यटन र अर्थतन्त्रमा सुधारका लागि महासंघले महोत्सव सञ्चालन गर्न लागेको महासंघका अध्यक्ष लालबहादुर केसीले जानकारी दिए।
आइतबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी आयोजकले तुलसीपुर– ६, घोराही रोडको उत्तरतर्फ रहेको मैदानमा महोत्सव सञ्चालन हुने जनाएको हो। तुलसीपुर– १६, जहदागाउँमा घोषणा गरिएको औद्योगिक ग्राम सञ्चालनमा स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्नेदेखि तुलसीपुर– ५ स्थित पातुखोलामा निःशुल्क हाटबजार व्यवस्थित गर्ने, शौचालय निर्माण गर्ने महोत्सवको प्रमुख उद्देश्य रहेको बताइएको छ।
यस्तै, उद्योग कलकारखाना तथा व्यावसायिक क्षेत्रमा हुने आगलागीजन्य विपतबाट हुने क्षति न्यूनीकरणका लागि अग्नि नियन्त्रक निःशुल्क रिफिल गर्ने व्यवस्था गर्ने, विपत् न्यूनीकरणका कार्यक्रममा साझेदारी गर्ने, युवालाई व्यवसायमा लाग्न प्रेरित गर्न नवीनतम आइडिया छनाेट गर्न र व्यवसाय संवर्द्धन केन्द्र व्यवस्थित रूपमा सञ्चालन गर्ने, महिला तथा युवा उद्यमशीलता सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।
महोत्सवमा करिब तीन करोडको कारोबार गर्ने लक्ष्य छ। महोत्सवमा विद्यार्थीलाई टिकटमा २० प्रतिशत छुट दिने र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाउने अध्यक्ष केसीले बताए।