बागलुङ नगरपालिकाद्वारा आयोजित मेयर कप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ। प्रतियोगितामा आयोजक बागलुङ नगरपालिकाका दुई टिमसहित १० टिम सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक सुरज बोसेलले जानकारी दिए।
प्रतियोगितामा बागलुङका गलकोट नगरपालिका र जैमिनी नगरपालिका, म्याग्दीको बेनी नगरपालिका र उदयपुरको कटारी नगरपालिकाले सहभागिता जनाएका छन् । यस्तै, पर्वतको जलजला गाउँपालिका र पैयुँ गाउँपालिका, विभागीय टिम गण्डकी प्रदेश प्रहरी पोखरा र कालिजंग गण, घोडाबाँधे सहभागी हुने बोसेलले जानकारी दिए । प्रतियोगिता नकआउटका आधारमा खेलाइने छ ।
प्रतियोगिताको विजेताले तीन लाख ३३ हजार तीन सय ३३ रुपैयाँ र उपविजेताले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले खेलकुद क्षेत्रको विकासका निम्ति स्थानीय सरकारको ठुलो भूमिका हुने बताए। उनले बागलुङ फुटबल भलिबल र क्रिकेटको हबको रूपमा विकास गर्न नगरपालिकाले खेलकुदका कार्यक्रमलाई प्राथमिकतामा दिएको बताए।
बागलुङ नगरपालिकाले ०७४ सालमा पहिलो र ०७६ सालमा दोस्रो मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो। प्रतियोगितामा सहभागी टिमले दुईजना विदेशी खेलाडी राख्न पाउने प्रतियोगिताका संयोजक सुदीप गौतमले जानकारी दिए ।
आइतबार पहिले खेल जलजला गाउँपालिका पर्वत र आयोजक बागलुङ नगरपालिका निलोबिच भएको छ । जलजलालाई बागलुङले ५–० को गाेल अन्तरले पराजित गरेको छ ।