गुल्सनकुमार झाको आक्रामक ब्याटिङसँगै कर्णाली याक्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजविरुद्ध १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको हो।
कर्णालीका अलराउन्डर गुल्सनकुमार झाले आक्रामक ब्याटिङ गर्दै ४९ रन बनाए। उनले २२ बलमा ६ चौका र दुई छक्का प्रहार गरे। ८८–६ को स्थितीबाट गुल्सनले दीपक डुम्रेसँग सातौँ विकेटका निम्ति ५५ रनको साझेदारी गर्दै कर्णालीलाई सम्मानजनक लक्ष्यसम्म पूर्याएका हुन्। दीपकले १० रन बनाए।
पवन सर्राफले २९ बलमा दुई चौका र दुई छक्कासहित ३५ रन बनाए। ओपनर मार्क वाटले २७ बल खेल्दा एक चौका र दुई छक्कासहित ३० रनको योगदान गर्दा अर्का ओपनर प्रियांक पन्चाल ‘रोयल डक’ भए। विलियम बोसिस्टोले एक र कप्तान सोमपाल कामीले ६ रन थपे।
काठमाडौंका राशिद खानले दुई विकेट लिए। चार ओभरमा उनले ३७ रन खर्चिए। मिलिन्द कुमार र सन्तोष यादवले समान एक विकेट लिए।
जारी लिगमा कर्णाली याक्सले एउटा मात्र जित निकालेको छ। दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ। प्लेअफको यात्रामा रहिरहन कर्णालीलाई आज जित्नैपर्ने दबाब छ।
करण केसीको नेतृत्वमा रहेको काठमाडौं पाँचमध्ये तीन खेलमा विजयी भएर तेस्रो स्थानमा छ। प्लेअफको यात्रामा पुग्न काठमाडौंका लागि पनि यो खेल महत्त्वपूर्ण छ।