एमाले प्रतिनिधि चयन : धनगढीमा संस्थापन पक्षमै दुई धार

आइतबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी राना एमाले महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन्। महाधिवेशन प्रतिनिधि चयन गर्न शनिबार भएको निर्वाचनमा रानाले कैलाली क्षेत्र नम्बर ५ बाट महिलातर्फ उम्मेदवारी दिएकी थिइन्।

यो क्षेत्रमा महिलातर्फ अम्बिका विष्ट ५९१ मत र रुक्मणी देवकोटा ५७१ मत ल्याएर महाधिवेशन प्रतिनिधि चयन भएका छन्। उपप्रमुख रानाले ३८३ र अर्की उम्मेदवार जानकी चौधरीले ४४५ मत पाइन्।

यो क्षेत्रमा सहमति नभएपछि निर्वाचनबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको हो। खुलातर्फ धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द र यज्ञराज ढुंगाना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। त्यस्तै, युवातर्फ तीर्थराज भट्टराई चयन भए।

प्रदेश राजधानीसमेत रहेको धनगढीमा एमाले महाधिवेशन चयन गर्न भएको निर्वाचनलाई धेरैले चासोका साथ हेरेका थिए। दुवै संस्थापन पक्षका भए पनि एमाले पोलिटब्युरो सदस्य नारदमुनि राना र जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना पक्षबिच प्रतिस्पर्धा भएको हो। ढुंगानालाई पूर्वमन्त्री दामोदर भण्डारीको साथ थियो भने रानालाई एमाले सचिव लेखराज भट्ट र नेता कर्ण थापाको समर्थन थियो। निर्वाचनमा ढुंगाना टिमका उम्मेदवार विजयी भए।

सचिव भट्टको क्षेत्र निर्वाचन क्षेत्र नम्बर ४ मा भने उनीनिकट उम्मेवार महाधिवेशन प्रतिनिधि चयन भए। यो क्षेत्रमा पनि सचिव भट्ट र पूर्वमन्त्री भण्डारी पक्षधर टिम बनाएर निर्वाचनमा होमिएका थिए। भण्डारी मन्त्री हुँदा उनका स्वकीय सचिव रहेका आनन्द भट्ट क्षेत्र नम्बर ५ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा पराजित भए। खुलातर्फ चक्रबहादुर बोहरा, नरबहादुर तामाङ र भीमबहादुर देउवा, महिलामा रत्ना कुँवर जोशी र शान्तिदेवी सिंह तथा युवामा सुद्धिराम चौधरी प्रतिनिधिमा निर्वाचित भएका छन्।

क्षेत्र नम्बर १ मा पनि निर्वाचन भयो भने २ र ३ मा सहमतिमा प्रतिनिधि चयन भए। १ मा खुलातर्फ द्वारिकाप्रसाद न्यौपाने, ध्रुवराज खत्री, महिलातर्फ कमला शाही चौधरी तथा युवातर्फ लक्ष्मी आचार्य विजयी भएका छन्। क्षेत्र नम्बर २ मा कर्णबहादुर कुँवर, डेजी पाण्डे, नरबहादुर खड्का, महिलामा ममता रावल र लक्ष्मी शाही, युवामा पवित्राकुमारी माझी तथा ३ मा चुल्लुराम चौधरी, करुणा बम, महिलामा इच्छा चौधरी र युवा प्रतिनिधिमा राजबहादुर बुढा निर्विरोध चयन भएका छन्।
 

सुझावित समाचार