महाधिवेशन प्रतिनिधि चयनका क्रममा मकवानपुरबाट एमाले जिल्ला अध्यक्ष पोखरेल पराजित, ओली पक्षको प्रभाव बलियो

आइतबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

एमालेको ११औँ महाधिवेशनका लागि मकवानपुरबाट प्रतिनिधि चयन प्रक्रियामा पार्टीका जिल्ला अध्यक्ष नै पराजित भएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेल पराजित भएका हुन् ।

निर्वाचनमार्फत आठजना प्रतिनिधि छनाेट हुँदा पोखरेल पराजित भएका हुन् । स्वास्थ्य उपचारका क्रममा काठमाडौंस्थित वीर अस्पतालमा रहेका अध्यक्ष पोखरेलले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । उनलाई ३३४ मत मात्र प्राप्त भएको थियो ।

पराजयपछि सामाजिक सञ्जालमार्फत उनले असन्तुष्टि व्यक्त गरेका छन् । उनले मतदान गर्ने कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्दै परिणामको समीक्षा गरिने बताएक छन् । ‘भ्रामक प्रचारका बाबजुद पनि आफूलाई मतदान गर्ने कमरेडहरूलाई धन्यवाद । किन २० प्रतिशतभन्दा कम मतदान भयो, यसको समीक्षा गरौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

अध्यक्ष पोखरेल खुलेरै एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल पक्षधर रहेका वेला दुवै क्षेत्रबाट प्रतिनिधिमा निर्वाचित भएका नेताहरू भने अध्यक्ष केपी ओलीनिकट रहेका छन् । क्षेत्र नम्बर १ बाट निर्वाचित हुनेमध्ये नवीन सिग्देल, फुर्वा दोर्जे लामा, सुनील मोक्तान, अणराज जर्गामगर, आरती पाठक, सीता विष्ट, विनाकुमारी थिङ र बोलबहादुर कार्की रहेका छन् । निर्वाचित सिग्देल, लामा र मोक्तान क्रमशः हेटौँडा ४, १० र १५ का वडाध्यक्षसमेत हुन् । 

यसअघि मकवानपुर क्षेत्र नम्बर २ मा भने महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरिएको थियो । सो क्षेत्रबाट बलराम बल, एकलाल श्रेष्ठ, हिदम लामा, विदुर हुमागाईं, सुमित्रा काफ्ले, भगवती पुडासैनी, गीता प्रजा र रोहन लामा निर्विरोध रूपमा प्रतिनिधि बनेका छन् । 

उक्त क्षेत्रबाट खुलातर्फ १६, महिला १० र युवा ६ गरी ३२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन अधिकृत न्यौपानेका अनुसार मकवानपुरबाट दुवै निर्वाचन क्षेत्र मिलाएर १६ जना प्रतिनिधि चयन हुने व्यवस्था छ । 

क्षेत्र नम्बर १ र २ दुवै ठाउँबाट खुला चार, महिला तीन र युवा एक गरी समान आठ–आठजना प्रतिनिधि चयन गरिएका छन् ।

सुझावित समाचार