जंगी अड्डा पुगेर प्रधानमन्त्रीकार्कीले भनिन्– निर्वाचनमा एक थोपा रगत नबगोस्

शनिबार, १३ मंसिर, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा सेना परिचालनको स्वीकृति दिएको भोलिपल्टै प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जंगी अड्डामा सैनिक अधिकारीहरूसँग छलफल गरेकी छिन् । सो अवसरमा प्रधानमन्त्रीले निर्वाचनमा एक थोपा रगत नबग्ने गरी सुरक्षाको बन्दोबस्त गर्न निर्देशन दिएकी छिन् । स्वीकृति पाए पनि सेना कहिलेदेखि परिचालित हुने भन्ने तय भइसकेको छैन । 

प्रधानसेनापति अशोकराज सिग्देल, जंगी अड्डा र उपत्यकामा रहेका सेनाका विभाग एवं निकायका प्रमुखहरूले पछिल्लो सुरक्षा स्थितिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्यालसहित प्रधानमन्त्री कार्की जंगी अड्डा पुगेकी थिइन् । 

May be an image of daisप्रधानमन्त्रीलाई उद्धृत गर्दै बैठकपछि उनका प्रेस संयोजक रामबहादुर रावलले भनेका छन्, ‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नुहुँदैन र एकजना पनि घाइते हुनुहुँदैन । यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्नुहोस् ।’

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास गरिन् । ‘जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई विनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्नुहोस्,’ प्रधानमन्त्रीको निर्देशन थियो ।

May be an image of text

प्रधानमन्त्री कार्कीले २४ भदौमा जेन–जी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गर्न पनि सेनालाई निर्देशन दिएकी छिन् । उनले स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि आग्रह गरिन् ।

सेनाले प्रधानमन्त्रीलाई निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे प्रस्तुतीकरण गरेको थियो । विगतका निर्वाचनझैँ सेना सुरक्षाको तेस्रो बाहिरी घेरामा रहने तथा तीन चरणको सुरक्षा योजनामा काम गर्ने जानकारी प्रधानमन्त्रीलाई दिइएको एक सैनिक अधिकारीले बताए । 

May be an image of daisसैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतले निर्वाचनपूर्व, निर्वाचन अवधिभर र निर्वाचनपछिका तीन चरणको बेग्लाबेग्लै सुरक्षा योजनाअनुसार सेना परिचालित हुने बताए । ‘निर्वाचनपूर्व मतपत्र छपाइको सुरक्षा, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाको जिम्मा लिँदै आएका संचनाहरूको सुरक्षा जिम्मेवारी सेनाले लिनेछ,’ प्रवक्ता बस्नेतले भने, ‘निर्वाचनको वेला निर्वाचनस्थलमा तेस्रो घेरामा सेनाले सुरक्षा दिनेछ । निर्वाचनपछि मतपेटिका ढुवानीको सुरक्षा सेनाले गर्नेछ । प्रदेश र जिल्लास्तरमा एकीकृत सुरक्षा योजना कार्यान्वयन हुनेछन् ।’ 

सुझावित समाचार