ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको केन्द्रमा रहेको साब्लाखु भञ्ज्याङबजारमा शुक्रबार आगलागी भएको छ। स्थानीय लक्ष्मी तामाङको घरमा दिउँसो करिब ४ः३० बजे सुरु भएको आगो साँझसम्म पनि नियन्त्रणमा नआएको सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिइन्।
भुइँतला पक्की र माथिल्लो भाग जस्तापाता तथा काठ प्रयोग गरिएको संरचना जलेर नष्ट भइसकेको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि साब्लाखु प्रहरी चौकी, स्थानीयवासी र पालिकाका कर्मचारी सक्रिय रूपमा जुटिरहेका छन्। गाउँपालिकासँग दमकल नहुँदा आगो निभाउन कठिन भएको छ।
तामाङको घरमा उपाध्यक्ष कडरियाको क्वार्टर, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतलगायत अन्य कर्मचारीका कोठा रहेका कारण ठुलो क्षति भएको आशंका गरिएको छ। भुइँतलामा किराना पसल र होटेल सञ्चालन भइरहेकाले क्षतिको आकार अझ बढ्ने अनुमान गरिएको छ। आगो पूर्ण रूपमा नियन्त्रणमा नआएकाले क्षतिको विस्तृत विवरण आइसकेको छैन।
आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन। बजारको दायाँबायाँ रहेका अन्य घर तथा संरचना जोगाउन स्थानीयले निरन्तर प्रयास गरिरहेका छन्।