युवा संघको आक्रमणको विरोधमा धनगढी र लम्कीमा जेन–जीको प्रदर्शन

बिहिबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

धनगढीमा जेन–जीको शान्तिपूर्ण प्रदर्शनका क्रममा एमाले भ्रातृ संगठन युवा संघका कार्यकर्ताले आक्रमण गरेको विरोधमा धनगढी र लम्कीमा जेन–जी युवाहरूले बिहीबार पनि प्रदर्शन गरेका छन् । कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गर्दै युवाहरूले धनगढीस्थित जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।

बुधबार धनगढीमा एमाले नेता महेश बस्नेत आउने भएपछि उनको विरोधमा प्लेकार्ड लिएर प्रदर्शन गरिरहेका जेन–जीमाथि युवा संघका कार्यकर्ताले कुटपिट गरेका थिए । घटनापछि जेन–जी युवाहरूले बुधबार नै जिल्ला प्रशासन कार्यालयमा संलग्नको पहिचान गरी कारबाही गर्न माग गर्दै निवेदन दिएका थिए ।

संलग्नलाई कारबाहीका लागि प्रशासनलाई दबाब दिन प्रदर्शन गरिएको प्रदर्शनरत युवा विष्णु खड्काले बताए । प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई भेटेका युवाहरूले कुटपिटमा संलग्नलाई पक्राउ गर्ने आश्वासन पाएको बताए।

धनगढीमा भएको घटनाको विरोधमा लम्कीमा पनि बिहीबार दिउँसो जेन–जी युवाहरूले प्रदर्शन गरे । लम्की बजारमा उनीहरूले टायर बालेर प्रदर्शन गरेका हुन् । कुटपिट गर्नेलाई तत्काल पक्राउ गर्न युवाहरूले माग गरेका छन् ।
 

सुझावित समाचार