ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई उनको २७ वर्षको जेल सजाय सुरु गर्न आदेश दिएको छ । बोल्सोनारोको बचाउ टोलीले दोस्रो अपिल दायर गर्न अस्वीकार गरेपछि अदालतबाट यस्तो आदेश आएको हो ।
बोल्सोनारोविरुद्धको मुद्दामा एक प्रमुख व्यक्तित्व न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले मंगलबार यस्तो आदेश दिए । अदालतले बोल्सोनारोले राजधानी ब्रासिलियाको संघीय प्रहरी मुख्यालयमा आफ्नो सजाय सुरु गर्नुपर्ने संकेत गरेको छ । उनी अहिले पनि त्यहीँ नै थुनामा छन् ।
सेप्टेम्बरमा, बोल्सोनारोलाई सन् २०२२ को राष्ट्रपति चुनावमा पराजयपछि पनि सत्ता हस्तान्तरण नगरी कु गर्ने षड्यन्त्र गरेको आरोपमा दोषी ठहराइएको थियो । उनीमाथि लोकतान्त्रिक शासनलाई उल्ट्याउने प्रयास गरेको, कू प्रयास गरेको, सशस्त्र षड्यन्त्रमा भाग लिएको, सार्वजनिक सम्पत्तिलाई क्षति पुर्याएको र राष्ट्रिय सम्पदास्थलको रूपमा सूचीकृत क्षेत्रमा क्षति पुर्याएको लगायत मुद्दामा दोषी ठहर्याइएको थियो । सबै गरेर बोल्सोनारोलाई २७ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको छ ।
उग्र दक्षिणपन्थी लिबरल पार्टीका नेता बोल्सोनारो सन् २०१९ देखि २०२३ सम्म देशको राष्ट्रपति थिए । त्यसपछि उनी सन् २०२२ मा पुन: निर्वाचित हुने प्रयासमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाबाट झिनो अन्तरले पराजित भए । जनवरी ८, २०२३ मा, लुलाले शपथ लिएको एक हप्तापछि बोल्सोनारोका समर्थकले राजधानीका अधिकांश सरकारी भवनमा आक्रमण गरेर सत्ता कब्जा गर्ने असफल प्रयास गरेका थिए ।