हङकङको ताई पो आवासीय क्षेत्रमा बुधबार भीषण आगलागी हुँदा कम्तीमा १३ को ज्यान गएको छ । आवासीय क्षेत्रमा रहेका करिब आठवटा ३१ तले भवनमध्ये आधामा आगजनी भएको प्रहरीले जनाएको छ । अचानक आगलागी हुँदा घना बसोवास रहेको भवनमा थुप्रै मानिस फसेका हुन सक्ने आशंका छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि पीडितप्रति श्रद्धाञ्जली व्यक्त गरेको चिनियाँ सरकारी सञ्चार माध्यमले बताएका छन् । सीले आगलागीबाट हुने हताहती र क्षतिलाई कम गर्न सक्दो प्रयास गर्न निर्देशन दिएका छन् ।
अधिकारीहरूले आगजनीलाई सबैभन्दा उच्च तहको आपत्कालीन श्रेणी अर्थात् ५ श्रेणी घोषित गरेका छन् । आगो निभाउन र उद्धारका लागि १२८ अग्नि नियन्त्रक इन्जिन र ८०० प्रहरी परिचालित गरिएको पनि अधिकारीले जनाएका छन् । आगलागीपछि आवासीय भवनमा बस्दै आएका सयौँलाई उद्धार गरिएको छ । आवासीय कम्प्लेक्समा दुई हजार फ्ल्याट रहेको र तिनमा कुल ४८ सय मानिस बस्ने गरेको बताइएको छ ।
आगलागीको यकिन कारण खुलेको छैन, तथापि भवन मर्मतका लागि वरपर लगाइएको बाँसको स्काफफोल्डिङबाट आगो लाग्दा त्यहाँबाट आगो फैलिँदा हुन सक्ने अनुमान गरिएको छ । समाजिक सञ्जालमा भाइरल भएका फोटो तथा भिडियोमा आवासीय क्षेत्रका टावरका लगभग सबै तलामा आगोको लप्का देखिन्छ ।