कांग्रेसभित्रको महाधिवेशन विवादलाई कसरी हेर्नुभएको छ ?
यतिखेर कांग्रेसमा मात्र होइन, सबैजसो दलमा नेतृत्व परिवर्तन या पुस्तान्तरणको दबाब छ । यो जेनजी आन्दोलनको प्रभाव पनि हो । तर, नेतृत्व परिवर्तनमा जतिसुकै दबाब भए पनि सबैका आआफ्नै स्वार्थ छन् । पुस्तान्तरण र युवा नेतृत्वको आकांक्षा स्वाभाविक नै हो । कांग्रेसजस्तो लोकतान्त्रिक दलको नेतृत्व महाधिवेशनदेखि डराउनु नपर्ने हो । तर, यो विवादले त्यस्तै संकेत गरिरहेको छ ।
यो विवादको अन्तर्य पार्टी सत्ता मात्र हो कि देश र जनताको हित पनि हो ?
देश र जनताको हित त कसैको पनि केन्द्रमा छैन । त्यस्तो हुन्थ्यो भने नेतृत्वमा दाबीसँगै त्यसैअनुरूपका एन्जेन्डा पनि आउने थिए । तर, कांग्रेस या अन्य कुनै पनि दलमा त्यस्तो स्थिति देखिन्न । नेतृत्वमा पुस्तान्तरणको कसरत गरिहेका युवामा पनि यो नेतृत्वले भएन अब म हुनुपर्छ, नेतृत्वले ठाउँ खाली गरिदिनुपर्छ, मलाई हतारो भइसक्यो, मेरो समय घर्किन लागिसक्यो भन्ने खालको मनोविज्ञान मात्र देखिन्छ । यसले पनि यो दौडधुपको अन्तर्य पार्टी सत्तामात्र हो भन्ने संकेत गर्छ ।
यो विवाद समाधानको मध्य विन्दु के हुन सक्ला त ?
बृहत् राष्ट्रिय स्वार्थ र पार्टीको मूल्य पद्धतिको चिन्ता कसैमा देखिन्न । यस्तोमा मिल्न नसक्ने हो भने छुट्टिएर अर्को दलमा मिल्न जाने, अलग पार्टी गठन गर्ने या पार्टीभित्रै अल्पमतमा रहेर अनुकूल समयको प्रतीक्षा गर्ने विकल्प नेताहरूसामु छ । कुन विकल्प रोज्ने, निर्णय उनीहरूकै हो ।