विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था हटाइने

बिहिबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण
  • ‘बोर्ड अफ ट्रस्टी’ बनाइने वा अन्य व्यवस्था राख्ने भन्ने विषयमा छलफल हुँदै, विज्ञ टिमले मस्यौदा तयार गर्दै

प्रधानमन्त्री सुशीला कार्कीले नै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने व्यवस्थामा प्रश्न उठाएकी छिन् । प्रधानमन्त्री ११ वटा विश्वविद्यालयको कुलपतिको भूमिकामा रहनु उचित नभएको भन्दै आफ्नै कार्यकालमा यो व्यवस्था हटाउने तयारीमा उनी जुटेकी छन् । यस विषयमा उनले शिक्षामन्त्री महावीर पुन, त्रिवि उपकुलपति प्राडा दीपक अर्याललगायत विज्ञहरूसँग छलफलसमेत गरेकी छिन् । अध्यादेशको बाटो वा अन्य कानुनी बाटो के उपयुक्त हुन्छ भन्नेबारे उनले राय–सुझाव लिइरहेकी हुन् ।

‘६ महिनाका लागि मात्रै आएकी हुँ, सबैखाले माग त यो अवधिमा पूरा गर्न सक्दिनँ । सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने नियम राम्रो भएन । एउटा प्रधानमन्त्रीले डोकोभरि सारा विश्वविद्यालयको भारी बोकेर हिँड्न सक्दैन, विश्वविद्यालयहरू स्वायत्त हुनुपर्छ,’ बुधबार त्रिवि सभामा उनले भनिन्, ‘प्रधानमन्त्रीले विश्वविद्यालयको भारी बोक्ने व्यवस्था हटाउन जरुरी छ, यति धेरै विश्वविद्यालयमा प्रधानमन्त्रीले कुलपति हुन कसरी साध्य हुन्छ ? ती विश्वविद्यालयका कार्यक्रममा जानुपर्ला, भाषण गर्नुपर्ला, फेरि राजनीतिक दलबाट आएको व्यक्ति कुलपति हुँदा राम्रो होला–नहोला, अन्य देशका युनिभर्सिटीमा यस्तो छैन, हाम्रोमा सबै विश्वविद्यालयको जिम्मेवारी कुलपतिले लिने व्यवस्था राम्रो भएन ।’

देशको जेठो र ठुलो विश्वविद्यालय त्रिविमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था सबैभन्दा चुनौतीपूर्ण र समस्याको विषय रहेको भन्दै कार्कीले यो व्यवस्था हटाउनुपर्ने बताइन् । स्रोतका अनुसार अध्यादेशमार्फत यस्तो व्यवस्था हटाउन लागिएको छ । तर, बुधबारको त्रिवि सभामा उनले अध्यादेश कहिले ल्याउने भन्नेबारे केही खुलाइनन् ।

१३ वटा विश्वविद्यालयमध्ये नेपाल खुला विश्वविद्यालय र मदन भण्डारी विश्वविद्यालयमा शिक्षामन्त्री कुलपति रहने व्यवस्था छ । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल, पोखरा, काठमाडौँ, सुदूरपश्चिम, मध्यपश्चिम, कृषि तथा वन, लुम्बिनी बौद्ध, नेपाल संस्कृत, राजर्षि जनक र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गरी ११ वटामा प्रधानमन्त्री कुलपति रहने व्यवस्था छ । यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था छ ।

त्रिवि सहकुलपति तथा शिक्षामन्त्री महावीर पुनले न्वारानदेखिको बल लगाएरै भए पनि अध्यादेश ल्याउने बताए । ‘न्वारनदेखिकै बल लगाएर भए पनि अध्यादेश आउँछ, त्रिविमा प्रधानमन्त्री कुलपति रहने व्यवस्थामा सुधार हुन्छ,’ उनले भने, ‘अध्यादेशको कानुन कसरी आउँछ हेर्दै छौँ, ल्याउने प्रयास हुँदै छ । अध्यादेशबाट हुन्छ कि अन्य तरिकाले हुन्छ, कानुनविद्हरूसँग सरसल्लाह हुँदै छ । हाम्रो पालामा हटाउने भनेर बल लगाएर काम गरिरहेका छौँ ।’

शिक्षामन्त्री पुनका स्वकीय सचिव डा.सागर ढकालका अनुसार प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपतिबाट हटाउने विषयमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा आठ विश्वविद्यालयका प्रतिनिधिसहित कमिटीमा रहेर काम भइरहेको छ । अध्यादेशमा प्रधानमन्त्रीको विकल्पका रूपमा बोर्ड अफ ट्रस्टी वा अन्य प्रचलित व्यवस्थाको विषयमा छलफल चलिरहेको उनको भनाइ छ ।

ओलीले रोकेको त्रिविको नीति तथा कार्यक्रम बल्ल पेस
यसअघिको त्रिवि सभा बैठकमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रम नै प्रस्तुत नगरी बजेट मात्रै पास गरेका थिए । त्रिवि पदाधिकारीले ल्याएको नीति तथा कार्यक्रमलाई बेवास्ता गर्दै उनले बजेट मात्रै पास गर्ने निर्णय गरेका थिए । सोही कारण बुधबार बसेको सभामा त्रिवि उकुलपति प्राडा दीपक अर्यालले नीति तथा कार्यक्रम प्रस्तुत गरे । बजेट पहिल्यै र नीति तथा कार्यक्रम ढिलो ल्याउनु गलत रहेको भन्दै सिनेट सदस्यहरूले विरोधसमेत गरे ।

गत २६ असारमा तत्कालीन प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम रोकेका थिए । उनको निर्देशनअनुसार नै नीति तथा कार्यक्रम ‘होल्ड’ गरेर १८ अर्ब १२ करोड ५७ लाख २१ हजारको बजेट पास भएको थियो । नीति तथा कार्यक्रम पास नगर्दै बजेट ल्याउनु उल्टो भएको भन्दै कतिपयले विरोध गरेका थिए । तर, ओलीले बजेट नीति तथा कार्यक्रमअनुसार नै तय भएको दाबी गर्दै बजेट मात्रै पास गरिएको बताएका थिए । त्यसवेला रोकिएको नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गरियो ।

भागबन्डाका कारण थलिएका चारवटा अनुसन्धान केन्द्र ब्युँताउन माग 
त्रिभुवन विश्वविद्यालयमा चारवटा अनुसन्धान केन्द्र (सेरा, सेरिट, रिकास्ट र सिनास) छन् । ती केन्द्र हाल दयनीय अवस्थामा छन् । ०४६ देखि नै नचल्ने अवस्थामा पुगेका यी केन्द्रहरूले त्यसअघि देशको शिक्षादेखि विभिन्न विधामा अनुसन्धान गर्दथे । यी अनुसन्धान केन्द्र एउटा थिंकट्यांकका रूपमा देशलाई फाइदा हुने कामका लागि खोलिएका थिए । तर, समयक्रमअनुसार बन्द भए । तिनै अनुसन्धान केन्द्र फेरि सञ्चालनको पहलमा शिक्षामन्त्री पुन लागेका छन् ।

‘यी अनुसन्धान केन्द्रहरू राजा वीरेन्द्रको पालामा खोलिएका थिए, दुर्भाग्यवश ०४६ पछि शिथिल हुँदै गए, सरकारले त्यति ध्यान दिएन, त्यसभन्दा अघि ती केन्द्रले राम्रो काम गरेका थिए, तर सरकारकै कारण थला पारिए,’ उनले भने, ‘यी केन्द्रबारे धेरैलाई थाहा पनि छैन ।’ शिक्षामन्त्री पुनले हाल त्रिविअन्तर्गत रहेका यी चारवटा अनुसन्धान केन्द्र थला परेकाले तिनलाई सञ्चालनमा ल्याउनुपर्ने प्रधानमन्त्री कार्कीसमक्ष मागसमेत राखे । ‘०४६ को आन्दोलनपछि चारवटा अनुसन्धान केन्द्रमा भागबन्डा भयो, नेताहरूले आफ्नो मान्छे भर्ती गर्न थाले, त्यति मात्र होइन बजेटसमेत दिन छाडे, अनुसन्धान केन्द्र भनेपछि सञ्चालनका लागि बजेट त छुट्याउनुपर्यो नि !’ उनले भने, ‘ती केन्द्रहरूले दु:ख पाएको देख्दा दु:ख लाग्छ, पहिले राम्रो काम हुने केन्द्रहरू पछि थला पारिए, त्यहाँबाट हुने काम बाहिरबाट हुन थाले, पैसा आउने भएपछि यस्तो भएको होला ।’

त्रिवि सभामा शिक्षामन्त्री पुनका प्रश्नैप्रश्न
शिक्षामन्त्री पुनले त्रिभुवन विश्वविद्यालय अनेकौँ समस्याले ग्रसित रहेको बताए । उनले त्रिविको शैक्षिक क्यालेन्डर र प्राध्यापक संघले ओगटेको जग्गाबारे प्रश्नसमेत तेस्र्याए । प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बसेको त्रिवि सभामा मन्त्री पुनले त्रिविको भागबन्डा निकै जटिल विषय रहेकाले सबै मिलेर यो विकृति हटाउनुपर्ने धारणा राखे । ‘त्रिविमा भागबन्डाको विषय निकै जटिल छ, महादेव आएर पनि हटाउन सक्ने अवस्था छैन, तर यसलाई सिरियस्ली लिएर हामी सबै मिलेर हटाउन जरुरी छ । त्रिविमा भागबन्डाले गर्दा पढाइ बिग्रियो, यहाँ जागिर खाने प्राध्यापकहरू बाहिर काम गर्छन्, त्रिविमा दरबन्दी हुनेहरूले आफैँ क्याम्पस सञ्चालन गरेका छन्,’ मन्त्री पुनले भने, ‘त्रिविमा लागेको कुष्ठरोग हटाउन निकै कठिन छ, तर सबैले स्वच्छ रूपले काम गरेर सम्भव छ ।’

त्रिविका चार प्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा 
विद्यावारिधि उत्तीर्ण नगरेको व्यक्तिलाई उत्तीर्ण गरेको भनेर नियुक्ति दिएको प्रकरणमा त्रिभुवन विश्वविद्यालयका चार प्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिग्री क्याम्पस विराटनगरका प्राध्यापक डिल्लीराम प्रसाईंसहित चारजनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

त्रिविले गत वर्ष मंसिरमा प्रसाईंलाई विराटनगरस्थित क्षेत्रीय कार्यालयको सहपरीक्षा नियन्त्रकमा नियुक्त गरेको थियो । नियुक्तिका लागि प्रसाईंले विद्यावारिधि गरेको झुटा विवरण पेस गरेको र सिफारिस समितिले पनि जानीजानी त्यसलाई मान्यता दिएको भन्दै समितिका पदाधिकारीलाई पनि आयोगले मुद्दा चलाएको हो ।

सिफारिस समितिको संयोजकमा पद्मकन्या क्याम्पसकी प्राध्यापक जयालक्ष्मी प्रधान थिइन् । समितिको सदस्यद्वय त्रिविको रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. मेघराज पोखरेल र रसायनशास्त्रका तत्कालीन प्राध्यापक डा. मोतीलाल शर्मालाई पनि आयोगले प्रतिवादी बनाएको छ ।

त्रिविले गत वर्ष भदौमा खुला प्रतिस्पर्धाबाट क्षेत्रीय कार्यालयका लागि सहपरीक्षा नियन्त्रक नियुक्ति प्रक्रिया अघि बढाएको थियो । जसका लागि ६ जनाको आवेदन परेको थियो । सय नम्बर पूर्णांकमा मूल्यांकन गरी प्रसाईंसहित डा. गोविन्दप्रसाद गुरागाईं र डा. सत्यनारायण साहको नाम सर्टलिस्टमा परेको थियो । जसमा प्रसाईंले ६८, गुरागाईंले ६३ र साहले ६१ नम्बर प्राप्त गरेका थिए । मूल्यांकनमा विद्यावारिधिबापत ८ नम्बर राखिएको थियो । विद्यावारिधिको ८ सहित सबैभन्दा धेरै नम्बर पाएको आधारमा १९ मंसिर ०८१ मा सहपरीक्षा नियन्त्रणमा प्रसाईं नियुक्त भएका थिए ।

तर, उनको विद्यावारिधिको पढाइ नै पूरा नगरेको विषयमा उजुरी परेपछि त्रिविले प्राडा धुव्रबहादुर कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले उनले विद्यावारिधि पूरा नगरेको प्रतिवेदन दिएपछि उनको नियुक्ति बदर गरी दोस्रो नम्बरमा रहेका गुरागाईंलाई २१ फागुन ०८१ मा नियुक्त गरियो । सो प्रकरणमा त्रिविकै पत्रका आधारमा अख्तियारले छानबिन गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । सिफारिस समिति सदस्यहरूले भने त्रिविको समाजशास्त्र तथा मानविकी संकायले मौखिक परीक्षा सम्पन्न भइसकेको भनेर दिएको पत्रका आधारमा आफूहरूले त्यसलाई मान्यता दिएको बयान दिएका छन् । 

See More On

सुझावित समाचार