अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इन्डोनेसियासँग नेपाल पराजित

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली राष्ट्रिय महिला फुटबल टोली बुधबार भएकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इन्डोनेसियासँग २–१ ले पराजित भएको छ । इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा नेपालले पहिलो हाफमा बनाएको अग्रतालाई रक्षा गर्न नसक्दा हार व्यहोर्न बाध्य भयाे । नेपालविरुद्ध इन्डोनेसियाको यो पहिलो जित हो । नेपाल र इन्डोनेसियाबिच अहिलेसम्म दुईपटक मात्र प्रतिस्पर्धा भएकाे छ ।  

इन्डोनेसियासँगको खेलमा नेपालकी कप्तान सावित्रा भण्डारी चोटका कारण खेल्न सकिनन् । गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले कप्तानी सम्हालेकी थिइन् । साढे ६ वर्षअघि म्यानमारको मन्डलेमा सम्पन्न एएफसी ओलम्पिक छनोटको दोस्रो चरणमा नेपाल र इन्डोनेसियाबिच पहिलोपटक अन्तर्राष्ट्रिय खेल भएको थियो । 

सन् २०१९ मा भएको ओलम्पिक छनोट (एसियाली क्षेत्र दोस्रो चरण)मा नेपालले इन्डोनेसियालाई २–१ ले पराजित गरेको थियो । त्यसवेला दुवै गोल सावित्रा भण्डारी साम्बाले गरेकी थिइन् । तर, अस्ट्रेलियाको महिला लिग खेलिरहेकी सावित्रा यसपटक भने चोटका कारण नेपाली टोलीमा सहभागी हुन सकिनन् । 

नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले इन्डोनेसियामा युरोपमा खेलेका खेलाडीहरू भएकाले प्रतिस्पर्धा गर्न गाह्रो भएको बताए । अब नेपालले २ डिसेम्बरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत नै चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ ।

सुझावित समाचार