निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थप्ने तयारी गरेको छ।
२१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन दल दर्ताको समय १ मंसिरदेखि १० मंसिर (आज)सम्म तोकिएको थियो। आज साँझ ५ बजेसम्म १०१ दलले दल दर्ताका लागि निवेदन दिएका छन्।
हालसम्म दर्ता भइसकेका १३५ मध्ये निर्वाचनका लागि १०१ को निवेदन आएको, अझै २० वटा नयाँ दल दर्ताको प्रक्रियामा रहेको र उनीहरूले चुनावमा भाग लिनबाट वञ्चित नगर्न अनुरोध गरेकाले आयोग समय थप्ने मनस्थितिमा पुगेको हो। समय थप्न अहिले आयोगको बैठक बसिरहेको छ।
‘लोकतन्त्रमा सबै दलले चुनावमा भाग लिन पाउनुपर्छ भन्ने मान्यता र नयाँ दर्ताको प्रक्रियामा रहेका दलहरूको अनुरोधमा चार दिन समय थप्ने कि भन्ने कुरो भएको छ। आजै निर्णय गर्छौँ,’ एक आयुक्तले भने।