धनकुटा नगरपालिका धनकुटाले सेवाग्राही तथा सार्वजनिक स्थानमा आउने आमाहरूको सहजताका लागि नगरपालिका कार्यालय र बसपार्कमा स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ । मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सुरक्षित, गोप्य र स्वच्छ वातावरणका साथ स्तनपान गर्ने सुविधा उपलब्ध गराइएको धनकुटा नगरपालिकाले जनाएको छ ।
धनकुटा नगरपालिकामा आउने सेवाग्राही तथा कतिपय नानीका आमाहरू महिला कर्मचारीहरूको समस्यालाई मध्यनजर गर्दै कार्यालयपरिसरमा स्तनपान कक्षको स्थापना गरिएको धनकुटा नगरपालिकाका योजना प्रशासन तथा अनुगमन अधिकृत सीताराम गौतमले बताए । यता, धनकुटा नगरपालिका– ७ बसपार्कमा पनि स्तनपान कक्षको स्थापना गरिएको छ ।
विभिन्न सवारीसाधनहरूमा यात्रारत आमाहरू र सर्वसाधारणको सहजताका लागि स्तनपान कक्ष सञ्चालनमा ल्याइएको धनकुटा नगरपालिकाले जनाएको छ। स्तनपान कक्षमा आरामदायी बस्ने व्यवस्था र आवश्यक गोपनीयताको व्यवस्था मिलाइएको योजना प्रशासन तथा अनुगमन अधिकृत गौतमले बताए। नगरपालिकापरिसरमा स्थापना गरिएको स्तनपान कक्ष निर्माणमा नाै लाख ५० हजार खर्च भएको छ भने धनकुटा बसपार्कमा स्थापना गरिएको स्तनपान कक्ष निर्माणमा दुई लाख रुपैयाँ खर्च भएको धनकुटा नगरपालिकाले जनाएको छ ।
उक्त स्तनपान कक्षको धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङले उद्घाटन गरेका छन् ।