महोत्तरीमा जेन-जी युवाहरूले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन, माग पूरा गर्न सात दिनको समय

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय गेटअगाडि विभिन्न माग पूरा गर्न प्लेकार्डसहित केहीबेर नाराबाजी गरेका जेन–जी समूह संगठनले  विभिन्न ११ बुँदे माग रहेको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएका छन् । उनीहरूले प्रादेशिक अस्पताल सुधारतर्फ विविध माग र जलेश्वर नगरपालिकाको फोहोर व्यवस्थापन तथा मणिपाल जग्गा सम्बन्धमा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका छन् ।

साथै बसपार्क अधुरो निर्माणतर्फ समेत ध्यानाकर्षण गराउँदै त्यसमा भएको रकम हिनामिनालगायतका विषयमा तत्काल छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन र जलेश्वर महादेव मन्दिर नियमसम्मत सञ्चालन हुन नसकेको,मन्दिर अधीनस्तको पोखरीहरू ट्रस्टमातहत गर्नुपर्नेमा सो नगरेको, अनधिकृत पसल सञ्चालन तथा रकम अपचलनलगायतका विविध विषयउपर ध्यानाकर्षण गराएको छ ।

साथै विभिन्न जनप्रतिनिधिको मिलेमतोमा आफ्ना मानिस राखी विद्यालय व्यवस्थापन समिति गठन हुने गरेको, विभिन्न तहमा विद्यार्थीहरूले पाउनुपर्ने शिक्षा विविध कारणले पाउन नसकेको, जलेश्वरस्थित क्याम्पसमा एमबिएस्तर वा प्राविधिक शिक्षातर्फ थप पढाइ सञ्चालन हुनुपर्ने तथा शिक्षासँग जोडिएका थप मागहरू प्रस्तुत गरिएको छ ।

जेन–जी युवाहरूले भार्गवसर पोखरीमा भएको अधुरो निर्माण कार्यबारे पनि ध्यानाकर्षण गराउँदै तत्काल काम सञ्चालन गराउन आग्रह गरेका छन् । यता जलेश्वर नगरपालिकामा करार तथा दैनिक ज्यालादारीमा रहेका कर्मचारीहरूको विभिन्न गुनासोहरू सम्बोधन गर्नसमेत ज्ञापनपत्रमा उल्लेख गरेको छ । यसका साथै हाटबजार ठेक्कामा पारदर्शिता नभएको, सडकहरूको अवस्था जीर्ण रहेको विषयसमेत उठाएका छन् । हालै निर्माण सम्पन्न भएको जलेश्वर कम्प्लेक्समा जलेश्वर नगरपालिका सार्न लागेको विषयसमेत उठान गर्दै युवाहरूले सोही भवनमा नगरपालिका सारिए आन्दोलन गर्ने चेतावनी दिँदै सबै माग सात दिनभित्र पूरा गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् ।

युवाहरूले आफ्नो मागहरू समयमै सम्बोधन नभए पछि उत्पन्न हुने परिस्थितिको आफूहरू जिम्मेवार नहुने बताउँदै तत्काल सम्बन्धित निकायहरूसँग समन्वय गरी माग सम्बोधन गराउन उनीहरूले आग्रह गरेका हुन् ।

सुझावित समाचार