औद्योगिक ग्राममा फोहर प्रशोधन उद्योग

बुधबार, १० मंसिर, २०८२
डिजिटल संस्करण

दाङको तुलसीपुर उपमहानगरपालिका– १६ स्थित औद्योगिक ग्राम निर्माणाधीन क्षेत्रमा सरसफाइ प्रशोधन गर्ने उद्योगको शिलान्यास गरिएको छ । ११औँ उद्योग दिवसको अवसरमा मंगलबार प्रशोधन उद्योगको शिलान्यास गरिएको हो । स्मार्ट मल्टी कन्सेप्ट ग्रुप प्रालिले फोहाेर संकलन, प्रशोधन गरेर प्लास्टिकजन्य वस्तु निर्माणका लागि कच्चा पदार्थ तयार गर्नेछ। सञ्चालक रवीन्द्रविक्रम केसीका अनुसार  बजारमा अहिले फोहाेर व्यवस्थापन चुनौतीपूर्ण रहेकाले उक्त उद्योग स्थापना गर्न लागिएको हो । 

त्यस्तै, सोही उद्योगले कृषिजन्य वस्तु खरिद गर्ने, प्रशोधन गरेर बजारीकरण गर्नेसमेत योजना बनाएको उनले बताए । अहिलेको युवा जनशक्तिलाई स्वदेशमै रोक्नुका साथै कृषि क्षेत्रमा देखिएको बजारीकरणको समस्यालाई रोक्नका लागि यस्तो कार्य गरिएको उनको भनाइ थियो । त्यस्तै, उनले तुलसीपुरमा अग्नि नियन्त्रणका लागि फायर फाइटरको ‘रिफुलिङ’समेत गर्ने गरी तयारी गरेको बताए । ‘हामीले गर्न खोजेको नितान्त सामाजिक अभियान हो,’ उनले भने, ‘यहाँको फोहाेर प्रशोधन गरेर रबर उद्योग, कृषिको बजारीकरण र अग्नि नियन्त्रण कार्यमा हाम्रो भूमिका रहनेछ।’ करिब ३३ लाख लागतमा उक्त संरचना निर्माण गर्न लागेको उनको भनाइ छ। 
 
उक्त उद्योगको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले शिलान्यास गरेका हुन्। त्यस अवसरमा उनले उद्योग ग्राममा पहिलो उद्योगका रूपमा फोहाेर प्रशोधन उद्योग आएको बताए । साथै उनले सोही उद्योग ग्राममा आफैँ संरचना बनाएर व्यवसाय सञ्चालन गर्न चाहेमा पाँच वर्षको कर छुट गर्नेसमेत बताए । 
उपमहानगरपालिकाले संरचना बनाएमा भने न्यूनतम कर तिर्ने व्यवस्था मिलाउने बताए। साथै उद्योग ग्रामको सुरक्षाका लागि आवाससहित नगर प्रहरीको समेत व्यवस्था गर्ने प्रमुख खड्काले बताए ।

ग्वारखोलाको किनारमा उक्त उद्योग ग्राम निर्माण हुन लागेको हो । जहाँ १०३ जनाले अतिक्रमण गरेर घरटहरा बनाएका थिए । ती घरटहरा बनाएकालाई प्रतिघरलाई डेढ कट्ठा दिएर उद्योग ग्रामका लागि जग्गा छुट्याइएको थियो । हाल १३ बिघा जग्गामा उद्योगग्राम निर्माण गर्न थालिएको छ । केही समयअघि उद्योगग्राम स्थलमा पर्खालसमेत लगाइएको छ । सोही उद्योगग्राम क्षेत्रमा संरचना निर्माणका लागि उपमहानगरपालिकाले ५० लाख बजेटसमेत छुट्याएको छ ।  

औद्योगिक ग्राम निर्माण भएमा व्यवसायीहरूलाई निकै सहज हुने ग्रिल व्यवसायी ओमबहादुर वलीले बताए । अहिले बजारमा हुँदा निकै समस्या हुने गरेकोसमेत उनको भनाइ छ । साथै छापाखाना व्यवसायी शालिकराम बस्नेतले पनि उद्योग ग्राम निर्माण भएमा आफूहरूलाई भाडा पनि सस्तो हुने र सहज पनि हुने बताए  । 

उद्योग दिवस, औद्योगिक ग्रामस्थलमा 
यसैबिच, ११औँ उद्योग दिवस औद्योगिक ग्रामस्थलमै मनाइएको छ। तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको सहकार्यमा कार्यक्रम भएको हो । उपमहानगरपालिकाका आर्थिक शाखा प्रमुख माधव वलीको अध्यक्षता तथा नगर प्रमुख टीकाराम खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यस अवसरमा तुलसीपुर– १६ का वडाध्यक्ष शिवानन्द डाँगी, तुलसीपुर– ७ का अध्यक्ष रामबहादुर जिसी, पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, तुलसीपुर बैंकर्स क्लबका अध्यक्ष रञ्जन कोइराला, ग्रिल व्यवसायी ओम वली, मुद्रण व्यवसायी शालिकराम बस्नेत, क्षेत्र खड्का, राप्ती अञ्चल ढुवानी व्यवसायी समितिका सचिव चिरञ्जीवी पौडेल, व्यवसायी प्रकाश वली, तुलसीपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष खड्कालगायतले औद्योगिक ग्राम निर्माण भएपछि सहज हुने बताएका थिए । 

तुलसीपुर उपमहानगरपालिका राजस्व शाखा प्रमुख पुष्पलता घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले गरेका थिए । त्यस अवसरमा तुलसीपुरका प्रतिष्ठित उद्योगी तथा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतलाई सम्मानपत्रले सम्मान गरिएको छ । 

सुझावित समाचार