औद्योगिक व्यापार मेला एवं क्यान इन्फोटेकको तयारी तीव्र

मंगलबार, १० मंसिर, २०८२
डिजिटल संस्करण

पोखरामा १७ मंसिरदेखि नेपाल मणिपाल अस्पताल ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक २०८२ हुने भएको छ । ‘लगानीको संबर्द्धन ः उद्योग–व्यवसायको प्रवर्द्धन’ भन्ने नाराका साथ २२ मंसिरसम्म महोत्सव आयोजना हुन लागेको हो ।

पोखरा उद्योग वाणिज्य संघको आयोजना, कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्की, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजनासँगै गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धनमा हुने मेला २२ मंसिरसम्म चल्ने आयोजकले जानकारी दिएका छन् ।

मेलालाई यस क्षेत्रको समग्र पर्यटन प्रवर्द्धन, औद्योगिक उत्पादन र उपभोक्ताबिच प्रत्यक्ष भेटघाट गराउने उत्सवको रूपमा लिएको आयोजक संघ पोखराका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । मेलाको तयारी र स्टल बुकिङको काम तीव्र गतिमा अघि बढेको उनले बताए । पोखरा– ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलामा डोमतर्फ ७८ सहित १२० वटा स्टल रहने कार्कीले बताए ।

पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरूलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत मेलाले सघाउ पुर्याउने दाबी कार्कीको छ । मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजीसँगै प्रदेशमा पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समर्पित रहेको उनको भनाइ छ । 

क्यान नेपाल महासंघ, कास्कीले १३ वर्षदेखि आयोजना गर्दै आइरहेको क्यान इन्फोटेकलाई मेलामा समाहित गर्दै मेलामार्फत नयाँ युगको आवश्यकता सम्बोधन गर्ने प्रयत्न गरेको कार्कीले बताए ।

मेलामा क्यानसँग आबद्ध तथा सूचना–प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिष्ठानहरूले पछिल्लो समयका प्रविधि, दैनिक जीवनलाई अझ सरल बनाउने उपकरणहरू प्रदर्शनी तथा बिक्रीका लागि राख्ने क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले जानकारी दिए । सूचना प्रविधिसम्बन्धी नवीनतम जानकारीका लागि मेला सर्वोत्कृष्ट थलो बन्नेमा विश्वस्त रहेको उनले बताए ।

मेलालाई सबैको बनाउन औद्योगिक उत्पादन, हस्तकला, कृषि, पुष्प, अटो, सूचना तथा प्रविधि, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरूको गतिविधिलगायत दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ताकपडा, शृंगारका सामानहरूको बिक्री–वितरणको व्यवस्थासमेत मिलाइएको आयोजक संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् । 

मेलाको थप आकर्षणतर्फ सांस्कृतिक कार्यक्रम, गण्डकी क्षेत्रका परम्परागत सांस्कृतिक कार्यक्रमसमेत समावेश गरिएको उनले बताइन् । प्रवेश निःशुल्क रहेको मेलाअन्तर्गत उद्यमशीलता प्रवर्द्धन, लगानीमैत्री नीति निर्माण, नवप्रवर्तन, सूचना प्रविधि, कृषिसँग सम्बन्धित परिसंवाद कार्यक्रम सञ्चालन हुनेछन् ।

सुझावित समाचार