नेता व्यवस्थापनमा जुट्यो नेकपा

मंगलबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण

एकता प्रक्रियामा सामेल भएका सबै दलका केन्द्रीय सदस्य केन्द्रीय समितिमा रहने

नेपाली कम्युनिस्ट पार्टी नेताहरूको व्यवस्थापनको तयारीमा लागेको छ । संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले गृहकार्य गरेर नेताहरूको व्यवस्थापन टुंग्याउने तयारी छ । केन्द्रमा केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय र कार्यसंयोजन समिति रहनेछ । एकता प्रक्रियामा सामेल भएका सबै दलका केन्द्रीय सदस्य केन्द्रीय समितिमा रहनेछन् ।

विगतमा स्थायी समितिमा रहेकाहरू समेटेर राजनीतिक समिति, पदाधिकारी समेटेर सचिवालय र शीर्ष नेताहरू समेटेर कार्यसंयोजन समिति गठन गर्ने तयारी छ । एकता र समायोजनको काम जारी रहेकाले कमिटी गठन र जिम्मेवारी बाँडफाँडको काम स्थगन भएको नेताहरूले दाबी गरेका छन् । ‘संयोजक र सहसंयोजकले आवश्यक तयारी गर्दै हुनुहुन्छ । साविकका संरचनाभित्रै रहेर काम भइरहेका छन् । बैठकको अध्यक्षता कसले गर्ने भन्ने कुरा मात्रै हो । साविक दलका केन्द्रीय सदस्य हाल पनि सोही पदमा भइहाले । विगतमा जहाँ जिम्मेवारी छ, अहिले त्यही हो,’ नेता देव गुरुङले भने ।

संगठनात्मक संरचनाको संख्या र नेताहरूको व्यवस्थापन यथाशीघ्र हुने अर्का नेता प्रकाश ज्वालाले बताए । ‘केन्द्रीय समितिमातहत राजनीतिक समिति, सचिवालय र कार्यसंयोजन समिति रहन्छ । एकता र समायोजनको क्रम जारी रहेकाले हालसम्म कमिटीको संख्या यकिन छैन,’ उनले भने । निर्वाचन आयोगमा १३८ सदस्यको नाम मात्रै पठाइएको छ । थप नाम अद्यावधिक गर्ने तयारी रहेको नेताहरूले बताएका छन् । जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेताहरू समाहित भएपछि सांगठनिक काम अघि बढ्ने र आयोगमा थप नाम अद्यावधिक गर्ने तयारी छ ।

सहमतिमै सबै समिति निर्माण हुने नेताहरूले दाबी गरेका छन् । १९ कात्तिकमा माओवादी, एकीकृत समाजवादीलगायतका दल मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको थियो । नेकपामा भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र श्रमशक्ति पार्टी पनि समाहित भएका छन् ।

११ मंसिरमा श्रेष्ठ समूह नेकपामा समाहित हुने
नेकपामा जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेताहरू ११ मंसिरमा समाहित हुने भएका छन् । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ११ कात्तिकमा औपचारिक कार्यक्रम राखिएको छ । नेकपामा समायोजनअघि श्रेष्ठ समूहले १० मंसिरमा राजधानीमा भेला आयोजना गरेको छ । 

श्रेष्ठसहित केन्द्रीय समिति उपाध्यक्षहरू रणध्वज लिम्बू (कन्दङ्वा) र परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोग अध्यक्ष कृष्णबहादुर घजुलगातका नेता तथा कार्यकर्ता नेकपामा समाहित हुँदै छन् । उनीहरूको नाम अभिलेखबाट हटाइएको जसपा अध्यक्ष अशोक राईले जानकारी दिए । 

श्रेष्ठ समूहले बोलाएको भेलालाई राईले पहिचान आन्दोलन र जसपालाई नोक्सान पुर्‍याउने दुराशयले प्रेरित भएको दाबी गरेका छन् । ‘एकीकरणको नाममा मंसिर १० गते काठमाडौंमा भेला हुन गरिएको आह्वान पहिचान आन्दोलन र जनता समाजवादी पार्टीलाई नोक्सान पुर्‍याउने दूराशयबाट प्रेरित छ,’ राईले सोमबार जारी विज्ञप्तिमा भनेका छन् । राईले नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टीबिच आगामी निर्वाचनमा एकल चुनाव चिह्नमा चुनाव लड्ने सहमतिमा हस्ताक्षरसमेत गरेका छन् । एकल चुनाव चिह्नको रूपमा हाल नागरिक उन्मुक्ति पार्टीको कायम रहेको जाँतो (चकिया) चुनाव चिह्न प्रयोग गर्ने सहमति भएको छ ।

See More On

सुझावित समाचार