जंगली हात्तीको आक्रमणमा परेर फेरि कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । गएराति जंगली हात्तीको आक्रमणमा परेर भीमदत्त नगरपालिका– १४ बनकट्टीकी ४५ वर्षीया धना विष्टको निधन भएको हो । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले निकुञ्जको जंगलनजिकै रहेको विष्टको घरमा हात्ती पुग्दा भाग्ने क्रममा धनामाथि आक्रमण गरेर घाइते बनाएको बताए ।
हात्तीको आक्रमणबाट घाइते धनाको उपचारका क्रममा महाकाली अस्पतालमा निधन भएको प्रवक्ता बोहराले बताए । ‘घरमा श्रीमान् नन्दलाल विष्ट र श्रीमती धना विष्ट दुवैजना सुतेका रहेछन्, त्यही वेला हात्तीको बथानले विष्टको कच्ची घर भत्काउन थाल्यो, उनीहरू भाग्ने क्रममा श्रीमान् भागेर बाँचे, श्रीमती धनामाथि आक्रमण गरेर घाइते बनायो ।’ मृतक विष्टको शव महाकाली अस्पतालमा राखिएको छ ।
गत कात्तिक पहिलो साता जंगली हात्तीको बथानले बेलौरी नगरपालिका बुटाबारीका स्थानीय वृद्ध श्रीप्रसाद आचार्यको निधन भएको थियो । महिनैपिच्छे कञ्चनपुरमा हात्तीले एक–एक मानिसको ज्यान लिन थालेपछि स्थानीय त्रसित भएका छन । पछिल्ला वर्षहरूमा जंगली हात्तीको बथानले जिल्लामा मानवीय, भौतिकदेखि अन्नबालीमा क्षति पुर्याउँदासमेत न्यूनीकरणका लागि दिगो प्रभावकारी कार्यक्रम योजना ल्याउन सकेका छैनन् । केवल योजनाका लागि, योजना, कार्यक्रमका लागि कार्यक्रमदेखि सरकार र विदेशीले पठाउने डलर मात्रै सिध्याउने काम गरेको नागरिकको दुःखेसो छ ।