कर्णाली याक्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार तेस्रो जित निकालेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिगको दशौं खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको लक्ष्य दिएको थियो। १९.२ ओभरमा अल आउट हुँदा कर्णाली याक्सले मात्र ९४ रन बनायो।
प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै सुदूरले अपराजित यात्रा कायम राखेको छ। सुदूरले पहिलो खेलमा काठमाडौंलाई २९ तथा दोस्रो खेलमा पोखरालाई १८ रनले पराजित गरेको थियो। कर्णाली भने दोस्रो जित निकाल्न असफल रह्यो। टोलीले तीनमध्ये दुई खेलमा हार ब्यहोरेको छ। पहिलो खेलमा चितवनसँग ४ विकेटले पराजित भएको कर्णालीले दोस्रो खेलमा लुम्बिनीलाई ९ विकेटले हराउँदै पहिलो दुई अंक जोडेको हो।
आफ्नो तेस्रो खेलमा कर्णालीको ब्याटिङ धर्मरायो। सुरुबाटै सुदूरका स्पिनर हाबी भएपछि कर्णालीले ठूलो साझेदारी गर्नै सकेन। कर्णालीले पावर प्लेमा चार विकेट गुमाउँदा मात्र ३३ रन बनाएको थियो।
पाँचौं नम्बर क्रिजमा पुगेका पवन सरार्फले सर्वाधिक २७ रन बनाए। २६ बलमा उनले ४ चौका प्रहार गरेका थिए। ओपनर मार्क वाटले १० बलमा दुई छक्कासहित १७ रन बनाए। उनलाई दीपेन्द्रसिंह ऐरीले एलबिडब्लु धरापमा पारेका थिए। कप्तान सोमपाल कामीले १४ तथा गुल्शन झाले १३ रनको योगदान गरे। सोमपाल र पवनले पाँचौं विकेटको लागि ३५ बलमा सर्वाधिक ३४ रन बनाएका थिए। अर्जुन घर्तीले २४ बलमा १३ रन मात्र बनाए।
कर्णालीका मुख्य विदेशी ब्याटरले नै दोहोरो अंकमा रन बनाउन सकेनन्। ओपनर प्रियाङ्क पाञ्चाल पाँच बल खेलेर डक भए। विलिमय बासिस्टोले ३ र नाजिवुल्लाह जाद्रन १ रनमात्रै जोडेर आउट भए। नन्दन यादवले एक रन बनाउँदा युवराज खत्री डक भए।
सुदूरका कप्तान दीपेन्द्रले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा २३ रन खर्चिएका थिए। कसिलो बलिङ गरेका दीपेन्द्रले पाञ्चाल, वाट, जाद्रन र गूल्शनको विकेट लिएका हुन्। हर्मित सिंह र अभिनाश बोहराले समान दुई विकेट लिँदा स्कट कुगुलेइन र हेमन्त धामीले समान एक विकेट लिए। कसिलो बलिङ गरेका स्कटले चार ओभरमा मात्र ८ रन दिए। नरेन साउद भने विकेटविहीन रहे।
यसअघि सुदूरको इनिङ्समा कप्तान तथा मार्की दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३९ रन बनाएका थिए। २८ बलमा एक चौका र दुई छक्का हिर्काएका दीपेन्द्रलाई मार्क वाटले नाजिवुल्लाह जाद्रनबाट क्याच गराएका थिए। हर्मित सिंहले १७ बलमा १९ रन बनाए। समान एक चौका र छक्का हिर्काएर दीपेन्द्रलाई राम्रो साथ दिइरहेका अमेरिकी अलराउन्डरलाई कप्तान सोमपाल कामीले बोल्ड गरे।
दीपेन्द्र र हर्मितले छैटौं विकेटको लागि २८ बलमा सर्वाधिक ४८ रनको ठूलो साझेदारी गरेका थिए। १२.१ ओभरमा ७३ रन बनाउँदा आरिफ शेख आउट भएपछि दुई खेलाडीबीच यो साझेदारी बनेको थियो।
आसिफ शेखले २५ बलमा तीन चौकासहित २७ रनको योगदान गरे। उनलाई नन्दन यादवले बोल्ड गरेका थिए। दीपेन्द्र र आरिफले पाँचौ विकेटको रुपमा २२ बलमा २७ रनको साझेदारी गरेका थिए।
८.३ ओभरमा मात्र ४६ रन जोड्दा ४ विकेट गुमाएपछि सुदूर दबाबमा आएको थियो। कप्तान सोमपालले जस ब्राउनलाई रोयल डक गरेपछि कर्णाली सुरुबाट हौसियो। सुदूरले ११ रन बनाएका अर्का ओपनर विनोद भण्डारीलाई दोस्रो विकेटको रुपमा गुमायो। यतिबेला सुदूरले जम्मा २३ रन खातामा जोडेको थियो। बिनोदलाई युवा स्पिनर विपिन शर्माले एलबिडब्लु धरापमा पारेका थिए।
२० बलमा दुई चौकासहित १८ रन बनाएका क्रिस लिनलाई युवराज खत्रीले विलियम बोसिस्टोबाट क्याच आउट गराएका हुन् । ७.३ ओभरमा तेस्रो विकेट गुमाउँदा सुदूरले मात्र ३९ रन जोडेको थियो । २ रन मात्रै जोडेका इशान पाण्डेलाई नन्दन यावद र बोसिस्टोले रनआउट गराए । जति बेला सुदूरले मात्र ४६ रन जोडेको थियो । सोमपालले पहिलो बलमै नरेन साउदलाई डक गराए ।
कर्णालीको लागि कप्तान सोमपालले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा एक मेडनसहित ३२ रन खर्चिएका थिए । नन्दन यादवले तीन ओभरमा मात्र ११ रन दिएर दुई विकेट लिए । विपिन शर्मा, मार्क वाट र युवराज खत्रीले समान एक विकेट लिएका थिए । समान एक ओभर बलिङ गरेका विलियम र पवन सरार्फ भने विकेटविहिन रहे ।
आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगर किंग्सले लगातार तेस्रो जित निकालेको छ।