कर्णालीको जितमा प्रदेशले पायो एक लाख

सोमबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण

कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित निकालेसँगै एसियन पेन्ट्सले कर्णाली प्रदेश क्रिकेट एसोसिएसनलाई एक लाख रुपैयाँ प्रदान गरेको छ । कर्णालीले दोस्रो संस्करणको एनपिएलका लागि एसियन पेन्ट्ससँग सहप्रायोजकको सम्झौता गरेको छ । एसियन पेन्ट्सले कर्णालीको हरेक जितमा कर्णाली प्रदेश क्रिकेटको विकास निमित्त एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । 

एसियन पेन्ट्सले आफ्नो पूर्वघोषणाअनुसार आइतबार प्रदेश क्रिकेट संघका प्रतिनिधिलाई एक लाख रुपैयाँ उपलब्ध गराएको हो । कर्णालीका निर्देशक गृहेन्द्र घिमिरेको रोहबरमा एसियन पेन्ट्सका नेसनल सेल्स, एक्टिभेसन एन्ड मार्केटिङ म्यानेजर दीपक बरालले संघका सचिव श्रीधर केसीलाई रकमबराबरको चेक उपलब्ध गराए । 

कर्णालीले एनपिएलको आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सलाई नौ विकेटले पराजित गरेको थियो । स्कटिस खेलाडी मार्क वाटले शतकीय योगदान दिएपछि कर्णालीले प्रतियोगितामा पहिलो जित निकालेको हो । संघका सचिव केसीले प्राप्त एक लाख प्रदेशमा ग्रासरुट क्षेत्रमा प्रयोग गर्ने जानकारी गराए । ‘कर्णाली र एसियन पेन्ट्सबिच भएको सम्झौताले निकै खुसी मिलेको छ । यो रकम हामी ग्रासरुट क्रिकेट र कर्णालीको क्रिकेट विकासमा प्रयोग गर्नेछौँ,’ केसीले भने । 

कर्णालीका निर्देशक घिमिरेले एसियन पेन्ट्सलाई कर्णाली प्रदेशको क्रिकेट विकास र समग्र नेपाली क्रिकेटको विकासमा आफूहरू प्रतिबद्ध रहेको बताए । ‘यस्तै साना–साना सहयोगले नेपाली क्रिकेटको विकास हुन्छ । हाम्रो सानो सहयोगले प्रदेश क्रिकेटको ग्रासरुटमा राम्रो होस् भन्ने चाहना छ,’ उनले भने, ‘हामी कर्णाली याक्स मात्रै नभएर प्रदेश क्रिकेटको विकास पनि चाहन्छौँ । आगामी दिनमा अझै धेरै सहयोग गर्नेछौँ । यो सहयोगका लागि एसियन पेन्ट्सलाई धन्यवाद ।’

See More On

सुझावित समाचार