सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणअन्तर्गत सोमबार त्रिवि क्रिकेट मैदानमा डे–नाइटमा रोमाञ्चक खेल फरक हुनेछ । साबिक उपविजेता सुदूरपश्चिम रोयल्स कर्णाली याक्सविरुद्ध दिउँसो चार बजे भिड्दै छ । पहिलो सिजनमा कर्णाली तेस्रो हुँदा पनि सुदूरपश्चिमविरुद्ध लिग चरणमा मात्र एकपटक भिड्यो । सुदूरपश्चिमले कर्णालीमाथि ६ विकेटको सानदार जित निकाल्यो । पहिलो संस्करणको तुलनामा दोस्रोमा कर्णाली अलि फरक टोली बनेको छ । यसपटक कर्णालीले स्वदेशी तथा विदेशी खेलाडीमा राम्रो लगानी गरेको छ ।
दुई खेलमा एक जित निकाले पनि कर्णालीले ब्याटिङ र बलिङमा प्रभाव जमाएको छ । कर्णालीलाई गत वर्ष व्यहोरेको हारको बदला लिनु छ । एनपिएलको १०औँ खेलमा यी दुवै आमने–सामने हुँदा खेल गुमाउन चाहँदैनन् । चाहे ब्याटिङ वा बलिङ इनिङ्समा किन नहोस्, दुवै टोली गल्तीरहित प्रतिस्पर्धा गर्न चाहन्छन् । सुदूरपश्चिम लगातार तीन जित निकाल्ने योजनामा रहँदा कर्णाली उसलाई रोक्ने तयारीका साथ मैदानमा हुनेछ ।
यसपटक सुदूरपश्चिम बलिङ र ब्याटिङ अलराउन्डरमा केन्द्रित छ । तर, सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई २९ रन तथा पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदा अमेरिकन स्पिनर हर्मित सिंह मुख्य खेलाडीका रूपमा प्रस्तुत भए । दुई खेलमा उनले ब्याटिङ र बलिङमा एकनासको प्रदर्शन गरिरहेका छन् । मध्यक्रममा ब्याटिङ गर्दै हर्मितले विपक्षीका बलरविरुद्ध चौका र छक्काको वर्षा गरिरहेका छन् । बलिङमा पनि उनी विपक्षीका प्रमुख ब्याट्सम्यानलाई पेभेलियन पठाएका छन् ।
कर्णालीले हर्मितलाई मुख्य तगारोका रूपमा लिएको छ । यी दुईवटै खेलमा सुदूरपश्चिमले फराकिलो अन्तरले जित निकाले पनि बलिङ पक्ष बलियो देखिएको छ । अर्कोतिर कर्णाली आत्मविश्वासका साथ सुदूरपश्चिमविरुद्ध प्रतिस्पर्धा गर्नेछ । विशेष गरी स्कटल्यान्डका मार्क वाटले अघिल्लो खेलमा चालू सिजनकै पहिलो शतकीय इनिङ्स खेल्दा कर्णालीको ब्याटिङमा आत्मविश्वास बढेको हो । कर्णालीले विशेष उनलाई बलरकै रूपमा अनुबन्ध गरेको थियो । तर, दोस्रो खेलमा उनले लुम्बिनी लायन्सविरुद्ध अविजित ११४ रनको पारी खेले ।
त्यसबाट सुदूरपश्चिमका बलरलाई रोज्न बाध्य बनाएका छन् । फर्ममा रहँदा वाटलाई रोक्न मुस्किल पर्छ । सुदूरपश्चिमका अभिनाश बोहरा, स्कट कुग्गेलेलिन, स्पिनर दीपेन्द्रसिंह ऐरी तथा हर्मितले वाटलाई आक्रामक बन्नबाट रोक्ने प्रयास गर्नेछन् ।