उदयपुरमा राष्ट्रिय परिचयपत्रको आधार मतदाता नामावली बनाउन पाँच हजार ४९० जनाले आवेदन दिएका छन् । जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दीपक दाहालका निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावली बनाउन आह्वान गरेपछि उक्त आवेदन परेको हो ।
उनका अनुसार अहिले अनलाइनबाट मतदाता नामावली बनाउन आएका आवेदनको अध्ययन गर्ने काम भइरहेको छ । उनले भने, ‘जिल्ला निर्वाचन कार्यालयमै आएर बायोमेट्रिक गराएर मतदाता नामावली बनाउनेको संख्याभन्दा बढी राष्ट्रिय परिचयपत्रबाट अनलाइन आवेदन परेको छ ।’
आगामाी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा भएपछि खुलेको मतदाता नामावलीका लागि उदयपुरमा तीन हजार २२७ जनाले आवेदन दिएका थिए । उनले भने, ‘कार्यालयमै आएर मतदाता नामावली बनाउनेको लभभग सबै विवरण मिलेको हुन्छ । तर, राष्ट्रिय परिचयपत्रबाट अनलाइनको फर्म भरेकाहरूकाे रुजु नगरीकन भन्न सकिँदैन । उहाँहरू कति मतदाता नामावली बनाउन योग्य हुनुहुन्छ भनेर ।’
राष्ट्रिय परिचयपत्रको आधारमा र निर्वाचन कार्यालय पुगेर नयाँ मतदाता नामावली बनाउनेको संख्या दाहालका अनुसार आठ हजार ७१७ रहेको छ । जुन संख्या थपिँदा उदयपुरको कुल मतदाताको संख्या दुई लाख ३९ हजार ६०४ पुग्नेछ । दाहाल भने, ‘हामीले भनेको कुल संख्यामा उमेर नपुगेका, विवरण प्रस्ट नभएकाहरूको नाम काटिन सक्छ । त्यसकारण निर्वाचन आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेपछि मात्र जिल्लाको कुल मतदाता नामावलीको संख्या आउनेछ ।’
दाहालका अनुसार अनलाइनबाट ७७ जनाले ठाउँ सारीका लागि र २०२ जनाले विवरण सच्याउन पनि आवेदन दिएका छन् । यता कार्यालयमै पुगेर ठाउँ सारी तथा विवरण सच्याउनका लागि पाँच सयले आवेदन दिएको निर्वाचन कार्यालय उदयपरले जनाएको छ ।